सन्तोष राउत/ (मुक्ली) सोलुखुम्बु । सोलुखुम्बुको थुलुङदुधकोशी गाउँपालिकाको मुक्लिमा ५० शैयाको सुविधा सम्पन्न अस्पताल निर्माणका लागि श्रीमद्भागवद महायज्ञ शुरु भएको छ । उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले महायज्ञको उद्घाटन तथा अस्पतालको शिलन्यास गर्दै आफ्नो पाँच वर्षको अवधिमा वृद्ध भत्ता पाँच हजार बनाउने प्रतिबद्धता दोहोर्याउनुभयो ।
प्रमुख अतिथिको रुपमा सोलुखुम्बु आउनुभएका मन्त्री पोखरेलले आफूले निर्वाचनताका बोलेको सबै कुरा क्रमशः पुरा गर्ने बताउनुभयो । उहाँले अघिल्ला सरकारले देसका सबै उद्योग कौडीको भाउँमा बिक्री गरेको भन्दै अब आवश्यकताका आधारमा सबै उद्योग पुनस्थापना गर्ने बताउनुभयो । अहिले लामो समयपछि स्थिर सरकार बनेकाले योजनाबद्ध विकास गर्ने तयारी भइरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभया–संघीय सरकारले ठूला योजना सञ्चालन गर्छ, साना योजना स्थानीय तहले नै गर्ने हो, विकासको चलाख गोठालोका रुपमा जनप्रतिनिधिले काम गर्नुपर्दछ ।
विगतमा जमिनको खण्डिकरण व्यापक रुपमा भएकाले अब यसलाई रोक्ने बताउँदै मन्त्री पोखरेलले किसानलाई मल बिउँलगायतमा अुनदानको व्यवस्था गर्ने बताउनुभयो । सोलुखुम्बु, ओखलढुङ्गा र खोटाङलाई जोड्ने स्वर्ण चक्रपथको निर्माण भइरहेकाले यसलाई चाँडो पूरा गराउन सांसदहरुले रेखदेख तथा दबाब दिनुपर्ने उहाँको भनाइ छ । सोलुलाई जोड्ने दुधकोशी कोरिडोरलाई पनि प्रामिकतामा राख्ने उहाँले आश्वासन दिनुभयो । दुर्गममा बन्न लागेको यो अस्पताललाई सरकारले सक्दो सहयोग गर्ने भन्दै तोकिएको समयमा सम्पन्न गर्न सुझाव दिनुभयो ।
त्यस अवसरमा प्रदेस नं. १ का मुख्य मन्त्री शेरधन राईले यही चैत मसान्तभित्र प्रदेसको नामाकरण र राजधानी तोक्ने बताउनुभयो । ‘हामीले प्रदेससभा सञ्चालन नियमावली शंसोधन गर्न बनाएको संसदीय समितिले प्रतिवेदन पेश गरिसकेको छ, सोही अनुसार नयाँ वर्षको शुरुवातसँगै प्रदेसको नाम र राजधानीको टुङ्गो लाग्ने छ’ उहाँले भन्नुभयो । पछिल्लो समय नाम र राजधानी नतोकेको भन्दै सरोकारवालाहरुले प्रश्न उठाउन थालेका छन् ।
मन्त्री राईले दुर्गममा बन्न लागेको अस्पताल समयमा निर्माण हुने विश्वास गर्र्दै हतियार र युद्धको माध्यामबाट नभई शान्तिपूर्ण तरिकाबाट मात्र विकास र समृद्धि सम्भव भएकाले त्यसै अनुसार सबै अघि बढ्नुपर्ने बताउनुभयो । संघीयताले हिमाल, पहाड र तराईलाई जोड्ने भन्दै अहिले सरकार जनताको घरआँगनमा भएकाले समृद्धिको सुन्दर यात्रामा सबै मिलेर जानुपर्ने उहाँको धारणा छ ।
कार्यक्रममा पण्डित दिनबन्धु पोखरेलले बेद र बुद्धको देसले एक दिन विश्वलाई नेतृत्व गर्ने बताउनुभयो । अस्पताल निर्माण जस्तो पवित्र कार्यमा संलग्न हुन पाउँदा खुशी लागेको भन्दै आफू वाचक मात्र नभएर आयोजककै रुपमा काम गरिरहेको बताउनुभयो । महायज्ञको उद्घाटनका क्रममा संघीय सांसद हेमकुमार राईले दुर्गममा उपचार अभावकै कारण बर्षेनी दर्जनौ नागरिकले ज्यान गुमाउनु पर्ने विवसताको अन्त्यका लागि भन्दै थुलुङ दुधकोशी गाउँपालिकाले गरेको अस्पताल निर्माणको काम प्रसंसनीय रहेको भन्दै आफ्नो सहयोग रहने बताउनुभयो ।
विशेषज्ञस्तरीय सेवा दिने उद्देश्यका साथ २० करोड रकम स्थानीयबाटै सङ्कलनको गर्ने लक्ष्य लिएर अस्पताल निर्माणको काम अगाडी बढाएको भन्दै गाउँपालिका अध्यक्ष असिम राईले लक्ष्यको नजिक पुगेकाले अस्पताल निर्माणमा कसैले शंका नगर्न अनुरोध गर्नुभयो । उहाँले भन्नुभयो, २८ भन्दा बढी देसमा यो कार्यका लागि सबै खटिरहनु भएको र जिल्ला तथा देसका विभिन्न स्थानमा सबै तन मनले लाग्नुभएको छ । करिब सात करोड बढी रकम जुटिसकेको उहाँको भनाइ छ ।
कार्यक्रममा काँग्रेस नेता तथा उद्योग वाणिज्य संघका केन्द्रिय सदस्य प्रकाशसिं कार्कीले अस्पताल हामी सबैको भएकाले यस कार्यमा व्यक्तिगत रुपमा सबै भन्दा बढी आर्थिक सहयोग गर्ने बचन दिनुभयो । निर्माण र सञ्चालनसम्म आफूले साथ दिइरहने उहाँको भनाइ छ । दल, जात, धर्म, विचार भन्दा माथि उठेर यस कार्यमा सहयोग गर्न आव्हान गर्दै उहाँले आफू भाषण भन्दा पनि काममा विश्वास गर्ने बताउनुभयो । कार्यक्रममा प्रदेस सांसदहरु बुद्धिकुमार राजभण्डारी र उत्तम बस्नेतले अस्पताल निर्माणमा सहयोग गर्ने बताउनुभयो ।
त्यस अवसरमा सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेलजाङ्बु शेर्पाले गाउँपालिकाले धेरै राम्रो योजना ल्याएकाले सक्दो सहयोग गर्ने भन्दै सबै गाउँपालिकामा सुविधा सम्पन्न एउटा अस्पताल निर्माण गर्न सरकारलाई आग्रह गर्नुभयो । शिक्षा र स्वास्थ्य सेवा जनतालाई दिनु राज्यको दायित्व भएकाले सबै स्थानीय तहमा यस्तै सुविधासम्पन्न अस्पताल निर्माण गर्न सरकारलाई आग्रह गर्नुभयो । नेपालको मुख्य विशेषता जातीय एकता र धार्मिक शहिष्णुता भएकाले सबै मिलेर काम गर्नुपर्ने उहाँको धारणा छ ।
त्यस्तै, कोषाध्यक्ष बलराम गुरुङले अस्पताल निर्माणका लागि कतिपयले आफ्नो गाँस काटेर रकम दिएकाले एक पैसा पनि हिनामिना नहुने भन्दै अन्तिममा नपुगेको रकम आफैले खर्च गरेर भएपनि अस्पताल निर्माण गर्ने ठोकुवा गर्नुभयो । कार्यक्रममा सबै गाउँपालिकाका प्रमुख, उपप्रमुखलगायत जनप्रतिनिधिहरुको उपस्थिती रहेको थियो । विहान ९ बने १००८ कलश यात्रासँगै शुरु भएको श्रीमद् भागवद महायज्ञमा जिल्लाका सबै क्षेत्रका सर्वसाधारणको उल्लेख्य उपस्थिती रहेको थियो ।