नयाँ वर्षको शुरुवातसँगै यस्तो खुशी आउँदैछ : मुख्य मन्त्री राई (भिडियो हेर्नुस्)

सोलुखुम्बुको मुक्लीमा भएको महायज्ञको उद्घाटन कार्यक्रममा संबोधन गर्दै मन्त्री राई ।

हिमशिखर समाचारदाता/(मुक्ली) सोलुखुम्बु । प्रदेस नं. १ का मुख्य मन्त्री शेरधन राईले यही चैत मसान्तभित्र प्रदेसको नामाकरण र राजधानी तोक्ने बताउनुभयो । ‘हामीले प्रदेससभा सञ्चालन नियमावली शंसोधन गर्न बनाएको संसदीय समितिले प्रतिवेदन पेश गरिसकेको छ, सोही अनुसार नयाँ वर्षको शुरुवातसँगै प्रदेसको नाम र राजधानीको टुङ्गो लाग्ने छ’ उहाँले भन्नुभयो ।

सोलुखुम्बुको थुलुङदुधकोशी गाउँपालिकाको मुक्लिमा ५० शैयाको सुविधा सम्पन्न अस्पताल निर्माणका लागि शुरु भएको महायज्ञको उद्घाटन तथा अस्पतालको शिलन्यास गर्न सोलुखुम्बु आउनुभएका मन्त्री राईले विधि विधानको अधीनमा रही सकेसम्म विवादरहित तरिकाले नाम राख्ने बताउनुभयो । पछिल्लो समय नाम र राजधानी नतोकेको भन्दै सरोकारवालाहरुले प्रश्न उठाउन थालेका छन् ।

मन्त्री राईले दुर्गममा बन्न लागेको अस्पताल समयमा निर्माण हुने विश्वास गर्दै यस महान कार्यमा प्रदेस सरकार सँगै रहने बताउनुभयो । विप्लबतर्फ संकेत गर्दै मन्त्री राईले हतियार र युद्धको माध्यामबाट नभई शान्तिपूर्ण तरिकाबाट मात्र विकास र समृद्धि सम्भव भएकाले त्यसै अनुसार सबै अघि बढ्नुपर्ने बताउनुभयो । संघीयताले हिमाल, पहाड र तराईलाई जोड्ने भन्दै अहिले सरकार जनताको घरआँगनमा भएकाले समृद्धिको सुन्दर यात्रामा सबै मिलेर जानुपर्ने उहाँको धारणा छ ।

सोलुखुम्बु, ओखलढुङ्गा र खोटाङलाई जोड्ने स्वर्ण चक्रपथको निर्माण भइरहेकाले यो पूरा भएपछि विकासले गति लिने भन्दै मन्त्री राईले विकास बजेट वितरण गर्दा पहाडी जिल्लालाई प्राथमिकतामा राखेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार