काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले फालिसकेको राजतन्त्रका पक्षमा नाराबाजी नगर्न चेतावनी दिनुभएको छ । संसदको हिउँदे अधिवेशनको अन्तिम बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताले रगत बगाएर गणतन्त्र ल्याएको भन्दै राजतन्त्र भनेर धेरै नारा नलगाउन चेतावनी दिनुभयो ।
राजा र राजसंस्थाका पक्षमा कुनै निर्णय नहुने उहाँले स्पष्ट पार्नुभयो । प्रधानमन्त्री ओलीले फालिसकेको राजतन्त्र राख्ने कि नराख्ने भनेर जनमत संग्रह हुन नसक्ने बताउनुभयो । कांग्रेस महामन्त्री शशांक कोइरालाको पछिल्लो अभिव्यक्तिप्रति लक्षित गर्दै उहाँले आफूलाई लोकतन्त्रवादी भन्नेहरुले राजतन्त्रको पक्षमा जनमत संग्रहको माग गरेको आरोप लगाउनुभयो ।
प्रतिगमनका कुनै सम्भावना नरहेको र नेपाली जनता यो सुन्न पनि तयार नभएको प्रधानमन्त्री ओलीको भनाई थियो । ओलीले विप्लव समूहका गतिविधि नियन्त्रण गरेरै छाड्ने पनि बताउनुभयो । धेरै सम्झाउँदा पनि विप्लव समूहले लुट र हिंसात्मक गतिविधि नरोकेकाले कानुनअनुसार नियन्त्रण गरेरै छाड्ने उहाँले बताउनुभयो ।
ओलीले सरकारले एक वर्षमा असाधारण काम गरेको दाबी गर्नुभयो । उहाँले विरोधीहरुले दुई तिहाईको सरकारले केही काम गरेन भनेर प्रचार गरिरहेपनि सरकारको काम तथ्यहरुले देखाइसकेको दाबी गर्नुभयो । उहाँले झण्डै ८ सय किलोमिटर सडक कालोपत्रे भएको र धान उत्पादनमा ९ प्रतिशत बृद्धि हुनु पनि सरकारको उपलब्धी रहेको बताउनुभयो । प्रधानमन्त्री ओलीले सिके राउतसँग भएको सहमतिलाई सरकारको ऐतिहासिक सफलताका रुपमा अथ्र्याउनुभयो ।