दुर्गममा कसरी उठ्यो १० करोड बढी रुपियाँ ? यस्तो छ अध्यक्षको खुलासा (हेर्नुस् भिडियो सहित)

सन्तोष राउत/(मुक्ली) सोलुखुम्बु । सोलुखुम्बुको दुर्गममा रहेको थुलुङदुधकोशी गाउँपालिकाको मुक्लिमा ५० शैयाको सुविधा सम्पन्न अस्पताल निर्माणका लागि आयोजना गरिएको महायज्ञमा पौने ११ करोड रुपियाँ आर्थिक सहयोग सङ्कलन भएको छ ।

दूधकोशी सामुदायिक अस्पताल निर्माणको लागि चैत्र २ देखि ९ सम्म पण्डित दिनबन्धु पोखरेलले वाचन गर्नु भएको महायज्ञबाट १० करोड ७७ लाख ४२ हजार ६५८ रुपियाँ सहयोग सङ्कलन भएको महायज्ञ मूल आयोजक समितका कोषाध्यक्ष बलराम गुरुङले पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभयो । कोषाध्यक्ष गुरुङकाअनुसार उक्त आयोजना सम्पन्न गर्नका लागि ९३ लाख २५ हजार रुपियाँ खर्च भएको छ । कातिपय खर्चको बिल आउन बाँकी भएकाले केही बढ्न सक्ने उहाँले बताउनुभयो ।

थुलुङ राई समुदायको बाहुल्यता रहेको गाउँपालिकामा गरिएको महायज्ञमा सहयोगी दाताहरुले नगद, चेक हस्तान्तरण गरेका छन् भने धेरैले प्रतिबद्धता जनाएका छन् । विशेषज्ञस्तरीय सेवा दिने उद्देश्यका साथ २० करोड रुपियाँ रकम स्थानीयबाटै सङ्कलन गरेर सबैको अपनत्व हुने किसिमको अस्पताल निर्माण गर्ने गरी लिएको लक्ष्यको ५० प्रतिशत बढी सफलता मिलेको गाउँपालिका अध्यक्ष असिम राईले बताउनुभयो ।

अस्पतालका लागि अझै सहयोग सङ्कलन अभियान निरन्तर रहने उहाँले जानकारी दिनुभयो । अभियान सफल पार्न धेरै व्यक्तिले चार महिनादेखि दिन र रात एकै बनाएर खाईनखाई खटेको सम्झदै अध्यक्ष राईले भन्नुभयो, दुई वर्षभित्र कुनै हालतमा अस्पताल सञ्चालन हुन्छ, यहाँ हुनेले भन्दा नहुनेले ठूलो सहयोग गरेकाले हामी सफल भएका छौँ । सबैको उत्साह, जाँगर र सकरात्मक सहयोगसँगै खबरदारीको आवश्यकता रहेको उहाँको भनाइ छ ।

महायज्ञ समापन कार्यक्रममा प्रतिनिधि सभा सदस्य हेमकुमार राईले महायज्ञले सामाजिक सद्भाव बढाएको बताउनुभयो । । प्रदेश नं १ का सांसद उत्तमकुमार बस्नेतले जिल्लाको सम्बृद्धि थुलुङ दुधकोशी गाउँपालिकाबाट शुरु भएको बताउनुभयो । जनप्रतिनिधिले बाटो बिराए जनतालाई खबरदारी गर्न उहाँको आग्रह छ ।

महायज्ञको समापन गर्दै पण्डित दिनबन्धु पोखरेलले स्थानीय तथा अन्य धेरै सहयोगीको उत्साहका कारण महायज्ञले धेरै उचाई प्राप्त गरेको भन्दै समाज परिवर्तनका लगि दर्शनको महत्व बढी हुने बताउनुभयो । अस्पताल निर्माण जस्तो पवित्र कार्य देसकै नमुना भएको उहाँको भनाइ छ ।
मूल आयोजक समितिका उपाध्याक्ष शङ्करबाबु कार्की र महासचिव विमल बस्नेतले गरिब र निमुखा जनताको उपचार अभावबाट हुने ज्यानको जोखिमबाट जोगाउनका लागि थालिएको यो अभियानमा पाएको सहयोगले उत्साहित बनाएको भन्दै निर्माण र सञ्चालनको चरणसम्म सबैको सहयोगको अपेक्षा गर्नुभयो ।

दुई वर्षभित्र सम्पन्न गर्ने गरी चैत्र २ गते मुक्लिमा उपप्रधानमन्त्री ईश्वर पोखरेल र प्रदेस नं. १ का मुख्य मन्त्री शेरधन राईले शिलान्यास गर्नु भएको अस्पताल निर्माणको लागि करिब २४ रोपनी जग्गा निःशुल्क प्राप्त भएको छ । समापन कार्यक्रममा जिल्ला समन्वय समितिका उपसंयोजक धर्मरा जबन, प्रमुख जिल्ला अधिकारी नरेन्द्र रानामगर, थुलुङदूधकोशी गाउँपालिका उपाध्यक्ष सविता राई, नेकपाका प्रदेस सदस्य शिबबहादुर बस्नेत, कज्र्याङ शेर्पालगायतले सपना देख्न सके पूरा गर्न कठिन नभएको उदाहरण गाउँपालिकाले देखाएको बताएका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार