महाकुलुङ गाउँपालिकामा एभरेष्ट बैङ्क

हिमशिखर समाचारदाता/सोलुखुम्बु । सोलुखुम्बुको दुर्गममा रहेको महाकुलुुङ गाउँपालिकामा एभरेष्ट बैङ्को शाखा स्थापना भएको छ । गाउँपालिकाको केन्द्र बुङमा बैङ्कले शाखा विस्तार गरी कारोबार शुरु गरेको गाउँपालिका अध्यक्ष सागर किरातीले जानकारी दिनुभयो ।

‘अब आर्थिक कारोबारका लागि दुई दिनको बाटो सदरमुकाम सल्लेरी धाउनुपर्ने बाध्यता सकिएको छ’–गाउँपालिका अध्यक्ष किरातीले खुशी हुँदै भन्नुभयो । बैङ्कले सबै प्रकारका वित्तीय कारोबार सुरु गर्ने भएपछि स्थानीयलाई बचत गर्ने बानीको विकास हुने उहाँको भनाइ छ । मुख्य गरी गाउँपालिकाले सञ्चालन गर्ने योजनाको रकम लिन सदरमुकाम धाउँदा धेरै रकम खर्च हुने गरेको सम्झदैँ अध्यक्ष किरातीले अब सहज भएको बताउनुभयो ।

यसअघिनै बैङ्क सञ्चालन गर्ने भनिए पनि विविध कारणले ढिलो भएको गाउँपालिकाले जनाएको छ । बैङ्क सञ्चालनमा आएपछि बैकिङ्ग वातावरण सहज हुने स्थानीयको विश्वास छ । बैङ्कले मुद्दती, चल्ती, बचत लगायतका खाता सञ्चालन गर्ने जनाएको छ । देशभित्र र बाहिर रकम पठाउन तथा झिक्नका लागि समेत रेमिट्यान्सको सुविधा बैङ्कले दिनेछ ।

गाउँमै बैङ्क सञ्चालनमा आएपछि स्थानीय पनि खुसी बनेका छन् । स्थानीय शोभित कुलुङले वित्तिय कारोबारका लागि सदरमुकाम सल्लेरीसम्म जानुपर्ने बाध्यता टरेको भन्दै खुसी व्यक्त गर्नुभयो । पछिल्लो समय वैदेशिक रोजगारमा जाने यूवाको संख्या बढिरहेका बेला विदेसबाट पठाएको रकम झिक्न सदरमुकाम जानुपर्दा खर्चिलो हुने गरेको बताउने कुलुङले अब भने गाउँमा विना खर्च रकम लिन सकिने बताउनुभयो ।

विशेषगरी स्थानीय वृद्धवृद्धाहरुले आफूसँग भएको रकम जोगाउनका लागि सहज भएको भन्दै रकम जम्मा गर्न थालेका छन् । एक वृद्ध दम्पत्तिले बैङ्क औपचारिक शुरु हुनु एक दिन अघिनै ५०÷५० हजार रकम जम्मा गर्न ल्याएको गाउँपालिका अध्यक्ष किरातीले जानकारी दिनुभयो । उहाँकाअनुसार घरमा नातीनातिनाहरुले रकम चोरेर हैरान भएको बताउने ती वृद्धले अब रकम सुरक्षित हुने बताएकाछन् । नचाहिने काममा बढी खर्च गर्नेका लागि पनि अब बचत गर्ने बानीको विकास हुने उहाँको विश्वास छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार