सोलुखुम्बु। सन् २०१९ को ‘स्प्रिङ’ सिजन सुरुभएसँगै सगरमाथा आधार शिविरबाट पदमार्ग निर्माण कार्य थालिएको छ । सगरमाथा आरोहणका लागि बाटो बनाउन आङकामी शेर्पाको नेतृत्वमा गएको आइसफल डाक्टरहरुको टोलीले आधारशिविरबाट काम गरिरहेको छ ।
सगरमाथा प्रदूषण नियन्त्रण समिति नाम्चेको आठ जनाको टोलीले बौद्ध धर्म अनुसार लामाबाट पुजा गरी आधार शिविरबाट बाटो बनाउन थालेको सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) नाम्चेका कार्यक्रम अधिकृत कपिन्द्र राईले जानकारी दिनुभयो । आधार शिविरमा पदमार्ग निर्माण कार्य निकै जोखिमपूर्ण हुने भएकाले बौद्ध धर्म अनुसार लामाबाट पूजापाठ गरी शुरु गर्ने चलन छ ।
प्रत्येक वर्ष ‘अक्टोबर’ र ‘स्प्रिङ’ दुवै सिजनमा यही परम्परा अनुसार काम शुरु गरिन्छ । बाटो बनाउने क्रममा कुनै विपत आइ नलागोस्, सकुशल फर्कन पाऊँ, भगावानले रक्षा गरुन् र हिमाल आरोहण गर्ने आरोहीमा कुनै पनि दुर्घटना नभई यात्रा सफल होस् भन्ने उद्देश्यले पूजा गरेर बाटो निर्माण थाल्ने गरिन्छ ।
‘स्प्रिङ’ सिजनको सगरमाथा आरोहणको समय सुरु हुन लाग्दा आङकामी शेर्पाको नेतृत्वमा गएको टोलीले क्याम्पबाट बाटो बनाउन थालेका हुन् । सगरमाथाको बाटो बनाउने काम एसपीसीसीले गर्ने गरेको छ । आइसफल डाक्टरहरुले आल्मुनियमका भ¥याङ जोडेर सगरमाथाको चुचुरोसम्म पुग्ने बाटो निर्माण गर्नेछन् ।
यस क्षेत्रमा बाटो बनाउने काम तालिम प्राप्त आइसफल डाक्टरहरुले मात्र गर्ने भएकाले अन्य श्रमिकको खासै काम नहुने बताइन्छ । हिमाल आरोहण गर्ने बाटो, हिउँ र बरफ खनेर डोरीको सहायताबाट निर्माण गर्नुपर्ने भएकाले ज्यान माया मारेर बनाउनुपर्ने आइसफल डाक्टरहरु बताउँछन् ।