ग्रामीण क्षेत्रमा शेयर बजारको जानकारी


हिमशिखर समाचारदाता/सोलुखुम्बु । पछिल्लो समय शहरदेखि गाउँसम्म सर्बसाधारणको चासो र रुचीका रुपमा रहेको शेयर बजार सम्बन्धी जानकारी ग्रामीण क्षेत्रमा कम भएको पाइएको छ । सोलुखुम्बुका कतिपयले शेयर लिएको भए पनि त्यसका बारेमा खासै थाहा नभएको बताएकाछन् ।

नेपाल धितोपत्र बोर्डको सहकार्यमा विश्व बैङ्क समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) ले ग्रामीण लगानीकर्ताहरुमा स्थानीय सेयर किन्दाको जोखिम र लाभबारे सचेतना जगाउन सोलुखुम्बुको सल्लेरीमा आयोजना गरेको लगानीकर्ता प्रशिक्षण तथा जनचेतना अभिवृद्धि र अध्ययन अनुसन्धानमा प्रोत्साहन तथा व्यवसायिकता विकास कार्यक्रमका क्रममा स्थानीयले यस्तो बताएका छन् ।
सेयरमा लगानी गर्दा फाइदा हुन्छ भन्ने हल्लाको भरमा मैले २० हजार रुपियाँ सोचविचार नगरी लगानी गरेको छु, त्यसबाट कहिले, कसरी, कति फाइदा हुन्छ भन्ने केही थाहा छैन –तिङ्लाकी राधादेवी बस्नेतले भन्नुभयो । यस कायक्रमबाट थोरै जानकारी पाएको उहाँले बताउनुभयो ।

अर्का सहभागी थुलुङदूधकोशी गाउँपालिकाको जुबुका भानुभक्त उपाध्यायले शेयर कारोबार गरिरहेको र यस कार्यक्रमले थप ज्ञान थपेको बताउनभयो । नेपाली शेयर बजार जोखिमपूण रहेको भन्दै सञ्चार माध्याममा आउने गलत हल्लाले पनि प्रभाव पार्ने गरेको उहाँको भनाइ छ । त्यस्तै, सोलुदुधकुण्ड नगरपालिकाका कार्यपालिका सदस्य गान्धीमाया तामाङले भन्नुभयो–शेयरको चर्चा धेरै हुने गरेपनि धेरै कुरा थाहा पाउन बाँकी रहेछ, यस्ता जानकारी आयोजना क्षेत्र तथा ग्रामिण क्षेत्रमा गर्न सके बुझेर लगानी गर्न सहज हुन्छ ।

आईएफसीको स्थानीय सेयर सम्बन्धि अध्ययनको निष्कर्षको प्रस्तुतीका साथै नेपाल धितोपत्र बोर्डद्वारा सेयर खरिद विक्री, कारोबार गर्ने तरिका, लगानीका लाभ र जोखिमसहितका धितोपत्र बजारबारेमा जानकारी दिन स्थानीय तहका अधिकारीहरू, नागरिक समाजका नेतृत्वकर्ता, महिला समूहका सदस्य तथा विभिन्न समुदायका सदस्यहरूलाई लक्षित गरी सचेतना कार्यक्रम गरिएको हो ।

नेपालका जलविद्युत् आयोजनाहरूले जारी गरेको सेयरहरुमा स्थानीयको माग बढ्दै गएता पनि जोखिमहरूबारे राम्रोसँग नबुझी, अरुकोे लहलहैमा, परिवार तथा साथीभाइको सुझावका आधारमा लगानीको निर्णय गर्ने गरेको आईएफसीको निष्कर्ष छ । लगानीकर्तामा रहेको ज्ञानको अभाव पूरा गर्न सम्भाव्य सेयरधनी, विशेषतः विपन्न एवं जोखिमयुक्त समुदायलाई लक्षित गरेर धितोपत्र बोर्डले पनि सचेतना गर्दै आएको जनाएको छ ।

अधिकांश लगानीकर्ताहरूले स्थानीय सेयर खरिदका लागि ऋण वा बचतको प्रयोग गर्ने गरेका छन् । उनीहरूमा लगानीको प्रतिफलको यथार्थपरक अपेक्षा हुनु जरुरी छ र यो सन्देश बढीभन्दा बढी लगानीकर्ताहरुमाझ पु¥याउन आईएफसीसँग सहकार्य गरेका छौं –धितोपत्र बोर्डका निर्देशक तेजप्रसाद देवकोटाले भन्नुभयो ।

आईएफसीको कन्सल्ट्यान्ट सोफिया खातुन तमोट भन्नुहुन्छ –स्थानीयको योग्यताको मापनको मापदण्डहरुमा कडाई गर्नुपर्ने, जोखिमपूर्ण लगानीकर्ताहरुको विशेषतः महिलाहरुको थप सुरक्षा, सेयरधनीहरूका लागि सूचना प्रणालीमा पारदर्शिता तथा जवाफदेहिता बढाउनुपर्ने तथा नीजि कम्पनीको हकमा सेयर वितरण प्रणालीको विकल्पहरुको पनि विचार गर्नु पर्ने निष्कर्ष आईएफसीको अध्ययनले पहिचान गरेका छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार