(बासाखास्ताप) सोलुखुम्बु । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले अहिलेका जनप्रतिनिधिलाई कुनै बहानामा काम नगर्ने छुट नभएको बताउनुभयो । उहाँले भन्नुभयो, अब कुनै विवाद, अलमल, बहस, मतमतान्तर मुलुकमा छैन, देस संघीय प्रणालीमा गइसकेको छ, जनप्रतिनिधिलाई असक्षम हुने, जनताको आँखामा छारो हाल्ने, बजेट हिनामिना गर्ने, जनतालाई ढाट्ने, लोभलालच गर्ने कुनै छुट छैन ।
सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकाको प्रहरी चौकीको भवन र गाउँपालिकाको सभा हल उद्घाटन गर्न आउनुभएका मन्त्री राईले मधेसलाई अलग गर्छु भन्ने सिके राउतहरु जस्ता समूह समेत मूलधारमा आइसकेकाले विप्लबको समूह पनि चाँडै आउने बताउनुभयो । अब जनताको शासन मार्फत मुलुक समृृद्धिको दिशामा अघि बढि सकेकाले कसैले बन्दुक बोक्नु पर्ने वा फरक तरिकाले अघि बढ्न जनतालाई आव्हान गर्नुपर्ने कुनै गुञ्जायस नभएको उहाँले स्पष्ट पार्नुभयो ।
मुख्यमन्त्री राईले जनताकै आँगनमा स्थायी सरकार भएकाले बजेटका लागि सिंहदरबार धाईरहनुपर्ने अवस्थाको अन्त्य भइसकेकाले देस विकास र समृृद्धिको बाटोमा तिव्र गतिमा अघि बढेको धारण राख्नुभयो । ‘सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, रोजगारी र गरिबीको अन्त्यका गर्दै जनतालाई समृघिको महशुस दिलाउनु पर्दछ, उहाँले भन्नुभयो ।
‘हाम्रो गौरव हाम्रो सान, केचना र सगरमाथाले बढाउँछ प्रदेसको मान’ भन्ने नाराका साथ हिमाल र तराईलाई जोड्नका लागि केचनादेखि सगरमाथासम्म फास्ट ट्रयाक सडकको अवधारणा अघि बढाएको मुख्यमन्त्रीले बताउनुभयो । तराई र हिमालका जिल्लालाई फरक प्राथमिकतामा राखेर योजना बनाउन लागेको उहाँको भनाइ छ ।
सोही अवसरमा प्रतिनिधिसभा सदस्य हेमकुमार राईले भौतिक पूर्वाधारका हिसाबले सोलुखुम्बु जिल्लाले फड्को मारेको दाबी गुर्नभयो । स्थानीय तहका जनप्रतिनिधिहरुले घरदैलोमै पुगेर जनमूखी काम गरेको आफूले पाएको राईको भनाइ छ ।
प्रदेश नं १ का सभामुख प्रदिपकुमार भण्डारीले जनताको आवश्यकताको आधारमा बजेटको व्यवस्था र कार्यान्वयनमा जनप्रतिनिधिको ध्यान जान आवश्यक रहेको बताउनुभयो । मुलुक नयाँ संरचनामा गएकाले हरेक कुरा शुन्यबाट अघि बढाउँदा ढिलो भएको उहाँल बताउनुभयो । प्रदेश सांसद बुद्धिकुमार राजभण्डारीले हिमाली र तराईका जिल्लालाई हेर्ने दृष्टिकोण फरक हुनपर्ने भन्दै खुम्बुलाई जोड्ने मुख्य मार्गका रुपमा माप्यदूधकोशी गाउँपालिकालाई राखिएको बताउनुभयो ।
माप्य दुधकोशी गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले खुम्बुपासाङल्हमू गाउँपालिका र माप्य दुधकोशी गाउँपालिकाको सहकार्यमा नौ करोड रुपियाँको लगानी र्ओलाङघाटस्थित दुधकोशी नदीमा मोटरेबल ट्रस ब्रिज बनाउने काम अघि बढाएकाले प्रदेस सरकारलाई पनि सहयोग गर्न आग्रह गर्नुभयो । अध्यक्ष राईले गाउँपालिकामा खालिङ समुदायको संस्कृति झल्कने सबै भन्दा ठूलो चिण्डो निर्माण गर्न लागेको, वाकु स्थित तामाखानी उत्खनन् र ठूला जलविद्युत आयोजना सञ्चालनको तयारी भइरहेकाले प्रदेश सरकारको ध्यानाकर्षण गर्नुभयो ।
गाउँपालिकाको सभाहल निर्माणका लागि गाउँपालिकाको दुई आर्थिक वर्षको बजेटबाट ३२ लाख रुपियाँ खर्च भएको र प्रहरी चौकी भवन निर्माणका लागि ६४ लाख रुपियाँ खर्च भएको गाउँपालिका उपाध्यक्ष जुनितामाया मगरले जानकारी दिनुभयो । सो अबसरमा जग्गादाता वडा नं ३ का नवराज राईलाई सम्मान–पत्र सहित सम्मान गरिएको छ ।