३८ वर्षपछि बिजुली बाल्न पाउँदा हर्षित

सन्तोष राउत/सोलुखुम्बु । बत्तीमुनिको अँध्यारो भनेझैँ सोलुखुम्बुको सदरमुकाममा रहेको सोलुदूधकुण्ड नगरपालिका–७ को साल्मेमा स्थापनाको करिब ३८ वर्षपछि बिजुली विस्तार भएको छ । सदरमुकाममा सल्लेरीमा भरपर्दो विद्युत सेवा दइरहेको सल्लेरी च्याल्सा विद्युत कम्पनीले साल्मे बस्तीमा बिजुली बालेपछि स्थानीयमा खुशी छाएको हो ।

स्थानीय रामकाजी श्रेष्ठले खुसी हुँदै भन्नुभयो, वर्षौँसम्म टुकी बत्ती बालियो, पछि बल्ल पेल्ट्रिक सेटबाट मधुरो बत्ती बाल्दै दुःखले गुजारा गरियो, अहिले ठूलो क्षमताको बत्ती बाल्न पाउँदा धेरै खुशी लागेको छ । अब चाहेजति विद्युत प्रयोग गर्न पाएपछि दैनिकीमा सहज हुने उहाँले बताउनुभयो ।

नगरपालिकाका मेयर नाम्गेलजाङ्बु शेर्पाले विद्युतको उद्घाटन गर्दै आफ्नै कार्यकालभित्र ‘उज्यालो नगर’को अभियान पूरा गर्ने भन्दै वषौँदेखिको बत्ती बाल्ने सपना पूरा गर्न विद्युतीकरणका लागि नगरपालिकाले सहयोग गरेको बताउनुभयो । आगामी तीन बर्षसम्म नगरपालिकालाई अँध्यारो मुक्त बनाउने उहाँको प्रतिबद्धता छ । साल्मेवासीको समस्या समाधानका लागि नगरपालिकाको सँधै साथ रहने उहाँको भनाइ छ ।

सोलुदुधकुण्ड नगरपालिका, अपरसोलु होईड्रो ईलेक्ट्रिक कम्पनी र स्थानीयको समेत सहभागितामा सल्लेरी च्याल्सा विद्युत कम्पनीबाट उत्पादित विद्युत साल्मेका ५६ घरधुरीमा विस्तार गरिएको हो ।

विजुली बाल्न सहयोग गर्ने माथिल्लो सोलु हाइड्रो पावरका प्रमुख मार्कण्डे न्यौपानेले सामाजिक उत्तरदायित्व अन्तर्गतको कार्यमार्फत साल्मेलाई विद्युत सेवा उपलब्ध गराउने काममा सहयोग गरेको बताउनुभयो । नेपाल सरकारसँग भएको सम्झौता अनुसारको काम गर्न आफुहरु तयार रहेको उहाँले बताउनुभयो ।

लामो समयपछि विद्युत विस्तारमा नगरपालिकाले महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा नगरप्रमुखलाई धन्यवाद दिँदै विद्युत उपभोक्ता समितिका अध्यक्ष राजकुमार प्रधानले विद्युत विस्तारसँगै अन्य उद्योगधन्दा स्थापनाको बाटो खुलेको बताउनुभयो । बिजुली बाल्नका लागि स्थानीयले धेरै परिश्रम गरेको उहाँको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार