पर्यटकीय गाउँपालिका बनाउँछु : मुख्य मन्त्री राई


सन्तोष राउत/सोलुखुम्बु। प्रदेस नं. १ का मुख्य मन्त्री शेरधन राईले सोलुखुम्बुको पर्यटकीय केन्द्रका रुपमा रहेको खुम्बुपासाङल्हमु गाउँपालिकालाई पर्यटकीय गाउँपालिका घोषणा गरी पुरस्कृत गर्ने घोषणा गर्नुभएको छ । सगरमाथाको फेदीमा पहिलो पटक सडकको उद्घाटन गर्दै मन्त्री राईले खुम्बुपासाङल्हमु गाउँपालिकालाई पर्यटकीय गाउँपालिको रुपमा विकास गर्न आवश्यक बजेटको व्यवस्था गर्ने समेत प्रतिबद्धता जनाउनु भएको छ ।

विश्वकै ध्यान खिच्ने सगरमाथाको गाउँमा सबै पूर्वाधार विकासमा प्रदेस सरकार सारथी भएर अघि बढ्ने उहाँले बताउनुभयो । गाउँपालिकाको केन्द्रसम्म सडक पु¥याउन प्रदेश सरकारले बजेटको व्यवस्था मिलाउने मुख्यमन्त्री राईले बचन दिनुभयो । पर्यटकीय दृष्ट्रिकोणले महत्वपूर्ण रहेको खुम्बुमा पर्यटकको आवागमन बृद्धि गर्न पनि सडक आवश्यक पर्ने भएकाले प्रदेश सरकारले प्राथमिकतामा राखेर काँघ हाल्ने उहाँको भनाइ छ ।

सडकको पहुँच पुगेपछि आन्तरिक पर्यटक पनि हृवात्तै बढ्ने उहाँको विश्वास छ । मुख्यमन्त्री राईले मौसम प्रतिकुल बनेको बेला पर्यटकलाई सडक यात्राको सहज विकल्प हुने भएकाले सुविधा सम्पन्न सडक निर्माण आवश्यक रहेको बताउनुभयो । त्यस अवसरमा प्रतिनिधिसभा सदस्य हेमकुमार राईले सगरमाथा सडक सबैको साझा एजेण्डा बन्नुपर्ने भन्दै सडक सञ्चालनमा आएपछि पर्यटकको संख्यामा समेत उल्लेख्य बृद्धि आउने बताउनुभयो ।

उक्त सडक खन्नका लागि गाउँपालिकाले ३९ लाख रुपियाँ लगानी गरेको गाउँपालिका अध्यक्ष ङिमदोर्जी शेर्पाले जानकारी दिनभयो । उहाँले चीनतर्फको नाङपाला नाका खोलेर खुम्बुको विकासमा थप टेवा पु¥याउन प्रदेश सरकारले पहल गर्नुपर्ने बताउनुभयो । खरिखोलासम्म ग्रामिण सडकको पहँुच पुगेपछि दैनिक प्रयोगका सामग्री सस्तिने स्थानीय बताउँछन् ।

जिल्लाका आठ स्थानीय तहमध्ये हालसम्म सडक सञ्जालले नजोडिएको एक मात्र गाउँपालिका खुम्बुपासाङल्हमू गाउँपालिका माप्यदूधकोशी गाउँपालिकाको काँकु, बासा, जुभिङहुँदै सडकमा जोडिएपछि खुम्बुबासी र त्यसक्षेत्रमा आउने पर्यटकलाई पनि सहज हुने भएको छ । सरदमुकाम सल्लेरीदेखि करिब ७० किलोमिटर सडक निर्माण भएको हो ।

सडक खन्नका लागि माप्यदूधकोशी र खुम्बुपासाङल्हामू गाउँपालिकाको संयुक्त लगानी भएको हो । जसमा माप्यले ३९ लाख रुपियाँको लगानी गरेको माप्यदूधकोशी गाउँपालिका प्रमुख बुद्धिकिरण राईले जानकारी दिनुभयो । विकास निमार्णमा दुई गाउँपालिका मिलेर अघि बढ्ने सहमति भएको उनको भनाइ छ ।

पर्यटकीय हिसाबले विश्वमै चिनिएको खुम्बुक्षेत्रमा घुम्ने पर्यटकलाई थप आकर्षित गर्न गाउँपालिका केन्द्र लुुक्ला भन्दा माथि सडक नबनाउन पर्यटन व्यवसायीले सुझाव दिएका छन् । सडकमार्गलाई लुक्लाभन्दा माथि विस्तार गर्दा खुम्बुको पर्यटनलाई यथावत राख्न नसकिने पर्यटन व्यवसायी नवराज तामाङले बताउनुभयो ।

त्यहाँको मौसम र पर्यटकको स्वास्थ्यलाई ध्यान दिँदा लुक्लाभन्दा माथि सवारीसाधनमा पुग्नु उपयुक्त नहुने आरोहीको भनाइ छ । लुक्लादेखि सगरमाथा आधारशिविर पुग्न फाग्दिङ, नाम्चे, तेङ्बोचे, दिङबुचे, फेरुचे, लुबुचे, गोरप्सेपदेखि आधारशिविरसम्मको पदमार्ग तय गर्नुपर्दछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार