पिउने पानीमा कोलिफर्मको जीवाणु

काठमाडौँ, चैत २५ गते । शुद्ध प्रशोधित भन्दै विभिन्न ब्राण्ड दिएर विक्री गरिएको पिउने पानीमा कोलिफर्मको जीवाणु भेटिएका छन् । कोलिफर्म दिसामा पाइने जीवाणु हो । खाद्य, प्रविधि तथा गुणनियन्त्रण विभागले शुद्ध पिउने पानीको ब्राण्ड दिएर विक्री वितरण गर्दै आएका प्रशोधित पानीको गुणस्तर परीक्षण गर्दा यस्तो पाइएको हो ।

विभागले चालु आर्थिक वर्षको पहिलो आठ महिनामा विभाग र मातहतका कार्यालयमा आएका उजुरीका आधारमा विभिन्न नौवटा उद्योगले विक्री गर्ने पानीको नमूना सङ्कलन गरी गुणस्तर परीक्षण गर्दा कोलिफर्मको जीवाणु पाइएको छ ।

कोलिफर्म भेटिएका पानी उद्योगविरूद्ध सम्बन्धित् जिल्लाकै अदालतमा मुद्दा दर्ता भइसकेको भन्दै विभागका निर्देशक एवम् प्रवक्ता पूर्णचन्द्र वस्तीले भन्नुभयो, “कोलिफर्मको मात्रा र त्यसले मानव स्वास्थ्यमा पार्ने असरका आधारमा कारबाही हुन्छ ।”

उहाँका अनुसार विभागले जार तथा बोटलमा पानी विक्री वितरण गर्ने उद्योगको मात्रै अनुगमन गरेर त्यसको नमूना संकलन गरी गुणस्तर परीक्षण गर्ने गरेको छ ।

पछिल्लो आठ महिनामा विभागले ३३ वटा पानी उद्योगको नमूना संकलन गरी परीक्षण गरेको थियो । जसमध्ये नौ वटा उद्योगले विक्री गर्ने पानीमा कोलिफर्म भेटिएको छ भने १८ वटा पानी उद्योगले दूषित गुणस्तरहीन पानी वितरण गरेको पाइएको छ । यस्तै, बाँकी छवटा उद्योग मापदण्ड विपरीत र ऐन नियम विपरीत सञ्चालन भएको पाइएको छ ।

खाद्य ऐन २०२३ अनुसार उक्त पानी उपभोग गर्दा जनधनको क्षतिका साथै जनस्वास्थ्यमा गम्भीर असर पर्ने देखिएमा बढीमा ५० हजार रूपियाँसम्म जरिवाना र पाँच वर्षसम्म कारागारको सजाय वा दुबै सजाय गर्न सक्ने व्यवस्था छ ।

चिकित्सकहरू भने कोलिफर्मको मात्रा बढी भएमा तत्काल स्वास्थ्यमा समस्या आउने बताउँछन् । शुक्रराज ट्रपिकल तथा सरूवा रोग नियन्त्रण अस्पताल टेकूका अनुसन्धान ईकाइका संयोजक डा. शेरबहादुर पुनले कोलिफर्म भनेको दिसामा पाइने जीवाणु भएकाले प्रयोग गर्ने जोकोहीको स्वास्थ्यमा असर गर्ने बताउनुभयो । कोलिफर्म १ दशमलव ६ सम्म हुनुलाई सामान्य मानिए पनि त्योभन्दा बढी कोलिफर्म स्वास्थ्यका लागि हानिकारक हुने डा. पुनको भनाई छ । उहाँले कोलिफर्मको मात्रा तोकिएभन्दा बढी भएमा तत्काल झाडापखाला हुनुका साथै दीर्घकालसम्म पाचन प्रणालीमा समस्या आइरहने बताउनुभयो ।

विभागका अनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्म बजार अनुगमनबाट एक हजार ३२० नमुना सङ्कलन गरी प्रयोगशाला परीक्षण लगायत आवश्यक अनुसन्धान भइरहेको छ । विभाग र त्यस मातहतका कार्यालयबाट पछिल्लो आठ महिनाको अवधिमा खाद्य ऐन २०२३ अनुसार १३६ वटा मुद्दा विभिन्न जिल्ला अदालतमा दायर भएका छन् । ऐनअनुसार न्यूनस्तर, मिसावट तथा दूषित खाद्यवस्तु उत्पादन तथा बिक्री वितरण गरेको कसुरका आधारमा मुद्दा दायर गरिएको विभागले जनाएको छ ।

विभागका अनुसार पछिल्लो चार महिनामा २१ वटा मुद्दा दर्ता भएकोमा सबैभन्दा बढी १५ वटा प्रशोधित पानी उद्योगविरूद्ध रहेका छन् । विभागका प्रवक्ता वस्तीले पछिल्लो पटक पानी उद्योगमा अनुगमन धेरै गरिएकाले मुद्दा बढी हुनु स्वाभाविक भएको बताउनुभयो ।

प्रवक्ता वस्तीले पानी अत्यावश्यक वस्तु भएको र यससँग सम्बन्धित गुनासो र समस्या पनि बढी आउने भएका कारण विभागले पछिल्लो पटक पानी उद्योगको अनुगमनलाई प्राथमिकता दिएर अनुगमन गरेको बताउनुभयो । पानीकै बारेमा धेरै गुनासा र उजुरी आउने हुनाले सहरी क्षेत्रमा बिशेषगरी काठमाडौँ लगायत देशका मुख्य सहरमा पानीको समस्या भएकाले पनि यसो भएको हुनसक्ने उहाँले बताउनुभयो ।
प्रवक्ता वस्तीकाअनुसार पछिल्लो पटक कोलिफर्मको जीवाणु विराटनगरका पानी उद्योगले विक्री गर्ने पानीमा पनि पाइएको छ ।

विभागले यस अवधिमा दाना उद्योग, रेस्टुरेन्ट, राजमार्गका होटलमा दुई हजार १८० पटक अनुगमन निरीक्षण गरेको प्रवक्ता वस्तीले जानकारी दिनुभयो । उहाँकाअनुसार विभागले १८४ उद्योगलाई नयाँ अनुज्ञापत्र जारी गरको छ । यस्तै सो अवधिमा ६३६ उद्योग अनुज्ञापत्र नवीकरण तथा ६६८ नयाँ उद्योग स्थापना गर्न सिफारिश प्रदान गरेको छ । source : http://gorkhapatraonline.com

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार