विकासमा नमुना बन्दै नगर, दस महिनामै बन्यो मोटरेबल पुल (भिडियो सहित)

 

मोटरेबल पुलको उद्घाटन गर्दै मेयर नाम्गेलजाङ्बु शेर्पा ।

सोलुखुम्बु । पछिल्लो समय विकास निर्माणका काममा सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाले नमुना बन्दै गएको छ । कतिपय स्थानमा निर्माणाधीन पक्की पुल वर्षौसम्म पनि अलपत्र भइरहेको अवस्थामा नगरपालिको वडा नं. ६ खोरियास्थित सोलुखोलामा काम थालेको १० महिनामै मोटरेबल पुल निर्माण सम्पन्न भएको छ ।

नगरपालिकाकोे नेतृत्वमा अपरसोलु हाईड्रो पावर र जिल्ला समन्वय समिति समेतको करिब पाँच करोड रुपियाँको संयुक्त लगानीमा ३० मिटर लामो मोटरेबल पुल सिई कन्स्ट्रक्सनले निर्माण गरेको हो । पुलको उद्घाटन गर्दै नगरप्रमुख नाम्गेलजाङ्बु शेर्पाले आफू निर्वाचित भएपछि नगरपालिकाभित्रका सबै विकास निर्माणका काम तोकिएको समयभित्र तथा त्यसअघिनै सकिएको दाबी गर्दै विकास निर्माणका काममा आफू चनाखो रहेको बताउनुभयो ।

बेलीडाँडा–साल्मे सडकको बैकल्पिक मार्गको रुपमा प्रयोग गर्ने खोरिया–बाघखोर सडक सञ्चालनको बाटो खुलेको मेयर शेर्पाको भनाइ छ । वर्षायामामा सिस्नेरी पहिरोले वर्षेनि हैरानी दिइरहेका बेला बाघखोर–खोरिया सडक वैकल्पिक रुपमा सञ्चालन गर्नका लागि पुल निर्माणले सहज भएको उहाँले बताउनुभयो । पुलको ७५ टन भारवहन क्षमता छ ।

नगरक्षेत्रभित्रका तामाखानी, वेनीलगायतका क्षेत्रमा निर्माणाधीन तीन वटा मोटरेबल पुल आगामी तिन हप्ताभित्र उद्घाटन गर्ने गरी काम भइरहेको उहाँको दाबी छ । हरेक वडामा सडक सञ्जाल जोडिएकाले दिगो यातायात सञ्चालनका लागि चार वटा मोटरेबल पुलको टेण्डर प्रक्रिया थाल्ने तयारीमा रहेको मेयर शेर्पाले जानकारी दिनुभयो ।

लगानीकर्ता अपर सालु हाईड्रो पावरका साइड ईन्चार्ज मार्कण्डेय न्यौपानेले सामाजिक उत्तरदायित्वको काम आगामी दिनमा समेत आवश्यकताको आधारमा समुदायसँग समन्वय गरेर गर्ने बताउनुभयो । पुल निर्माणबाट कृषि र तल्लो सोलुको पर्यटनको विकास र बिस्तारमा सहयोग पुग्ने पर्यटन व्यबसायी बच्चुनारायण श्रेष्ठको भनाइ छ । पुल निर्माणमा सहजीकरणको भूमिका निर्वाह गरेको नेपाने यूवा क्लब खोरियाका अध्यक्ष ङिमा शेर्पाले सदरमुकाम ओहोरदोहोरमा दैनिक तीन घण्टा खर्चनुपर्ने बाध्यता अब हट्ने बताउनुभयो ।

पुल बनेपछि आगामी आर्थिक बर्षमा सडकको स्तरउन्नती गरेर बाह्रै महिना सडक सञ्चालनमा गर्ने सोलुदूधकुण्ड नगरपालिका ६ का वडाध्यक्ष रामकुमार श्रेष्ठले प्रतिबता जनाउनुभयो । पुल समयमै सम्पन्न गर्नका लागि खारिया क्षेत्रका नागरिकको पनि अहम भूमिका रहेको निर्माणमा सम्बद्धहरुले बताएका छन् । खोरिया र भित्ताखर्कका नागरिकले विकासको ढोका खुलेको प्रतिक्रिया दिदैँ सदरमुकामका लागि आवश्यक तरकारी उत्पादन गरी आधुनिक कृषि व्यवसायमा पनि टेवा पुग्ने बताए ।

पुल नहुँदा २० मिनेटमा पुग्ने ठाउँमा बेलिडाँडा र तिङ्ला घुमेर करिब दुई घण्टाको फेरो मार्नुपर्ने बाध्यता थियो । स्थानीयले जनमूखी विकासमा नेतृत्व गरेको भन्दै सोलुदूधकुण्ड नगरपालिका, पुल निर्माणमा योगदान गरेको भन्दै अपरसोलु हाईड्रोपावर र समयमा निर्माण गर्ने निर्माण कम्पनी सिई कन्ट्रक्सनलाई सम्मान गरेका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार