एम्बुलेन्सले ल्याएको हर्ष

सन्तोष राउत/सोलुखुम्बु । डोको र स्ट्रेचरलाई एम्बुलेन्सका रुपमा प्रयोग गर्दै आएका सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–२ का स्थानीय गाउँमा एम्बुलेन्स आएपछि हर्षित भएका छन् । कुशुदेबु पब्लिक हेल्थ मिसन नेपालले जुनवेसीको स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गरेपछि विरामी पर्दा हतारहतार डोको काटेर वा स्ट्रेचर खोजेर करिब तीनदेखि चार घण्टाको पैदल हिँडेर जिल्ला अस्पताल ल्याउनुपर्ने अवस्थाको अन्त्य भएको भन्दै स्थानीय खुशी भएका हुन् ।

जटिल विरामी परेको बेला लामो समय लाग्ने भएकाले विरामी अस्पताल पुर्याउन धेरै समस्या हुने गरेको सम्झदैँ वडा अध्यक्ष मिङ्मारदोर्जी शेर्पाले भन्नुभयो–अब स्वास्थ्य चौकीमा उपचार हुन नसकेका विरामीलाई जिल्ला अस्पताल तथा अन्य स्थानमा उपचारका लागि लैजान सजिलो हुन्छ । वडावासीको स्वास्थ्य सुधारमा आफू लागिरहेको बताउँदै अध्यक्ष शेर्पाले तत्काल उपचार नपाउँदा ज्यानै जान सक्ने खतरा अब कम हुने विश्वास व्यक्त गर्नुभयो ।

जुनवेसी स्वास्थ्य चौकीमा विगत १२ वर्षदेखि सहयोग गरिरहेको कुशुदेबु पब्लिक हेल्थ मिसन नेपालले कर छुट बाहेक करिब १० लाख रुपियाँको लागतमा एम्बुलेन्स हस्तान्तरण गरेको व्यवस्थापक तथा सल्लाहाकार आङछिरिङ शेर्पाले जानकारी दिनुभयोे । जसमा सरकारले कर छुट गरेको छ ।

उक्त स्वास्थ्य चौकीमा संस्थाले एक जना हेल्थ असिस्टेन्ट, कार्यालय सहयोगी र सबै औषधिको व्यवस्था गरिरहेको उहाँले बताउनुभयो । गाउँघरमा विरामी भएर अकालमा ज्यान गुमाउनु नपरोस् भनेर एम्बुलेन्सको व्यवस्था गरेको भन्दै शेर्पाले गाउँमा सडक सञ्जाल राम्रो भएकाले प्रभावकारी हुने बताउनुभयो ।

एम्बुलेन्सबाट सडक पुगेका सबै स्थानबाट विरामी ल्याउने र स्वास्थ्य चौकीमा उपचार हुन नसकेका विरामीलाई जिल्ला अस्पताल, ओखलढुङ्गाको मिसन अस्पताल र राजधानीसम्म लैजाने व्यवस्था गरिएको संस्थाको स्थानीय अध्यक्ष चुङ्बाछिरिङ लामाले बताउनुभयो । उहाँकाअनुसार चालकलाई चौबिसै घण्टा राखिने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार