मोबाइल प्रयोगमा प्रतिबन्ध

सोलुखुम्बु । सोलुखुम्बुको थुलुङदूधकोशी गाउँपालिकाले आफ्नो गाउँपालिकाको क्षेत्रभित्र रहेका विद्यालयमा शिक्षक तथा विद्यार्थीलाई मोबाइल फोन प्रयोगमा प्रतिबन्ध लगाउने भएको छ ।

गाउँपालिकामा बसेको शिक्षा समितिको बैठकले शैक्षिक गुणस्तर बढाउनका लागि विद्यालय हाताभित्र विद्यालय समयमा मोबाइल फोन प्रयोगमा बन्देज लगाउने निर्णय गरेको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिनुभयो ।

भर्खरै शुरु भएको नयाँ शैक्षिक सत्रबाटनै लागू हुने गरी भएको निर्णय कार्यान्वयनका लागि सबै विद्यालयमा पत्राचार गरिएको छ । शिक्षा समितिका अध्यक्ष समेत रहनुभएका गाउँपालिका अध्यक्ष राईकाअनुसार मोबाइल प्रयोगले पछिल्लो समय पठनपाठनमा प्रभाव पारेको गुनासो आएपछि यस्तो निर्णय गर्नु परेको हो । ५२ वटा विद्यलाय रहेको गाउँपालिकामा सम्पर्कका लागि अफिसियल फोनको व्यवस्था गर्ने गाउँपालिकाले जनाएको छ ।

त्यस्तै, यस शैक्षिक सत्रबाट सबै विद्यालयमा शिक्षक तथा विद्यार्थीलाई पोशाक अनिवार्य गरिएको छ । पोशाक एकैनासको नहँुदा धनी र गरिब विद्यार्थीमा असमानता देखिने भएकाले विद्यार्थीलाई पनि अनिवार्य गरिएको बताइएको छ । सरकारले केही वर्षयता शिक्षकलाई पोशाक भत्ता उपलब्ध गराउँदै आएको भए पनि कतिपय शिक्षकहरुले पोशाक लगाएका छैनन् ।

गाउँपालिकाले जिल्लामानै पहिलोपटक कक्षा आठको नतिजा वेबसाइटमा राखेको छ । प्रविधिको जमानामा संसारको कुनै कुनामा बसेर आफ्ना बालबालिकाको नतिजा सजिलै थाहा पाउन सकुन् भन्नका लागि प्रविधिको प्रयोगमा जोड दिएको अध्यक्ष राईले बताउनुभयो ।
शिक्षा समितिले ‘हाम्रो शहर, हाम्रो गाउँ, सम्पूर्ण बालबालिका विद्यलाय पु¥याउँ’ भन्ने सरकारको नारालाई पूरा गराउन भर्ना अभियानलाई प्रभावकारी रुपमा अघि बढाउने भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार