भित्रियो टिस्यू कल्चर प्रविधिको आलुको विऊ

सन्तोष राउत/सोलुखुम्बु । सोलुखुम्बुमा रहेको वागवानी केन्द्र फाप्लुमा पहिलो पटक टिस्यू कल्चर प्रविधिबाट आलुको बिउ उत्पादन थालिएको छ । केन्द्रले विशेषज्ञ सहित पाँच सय विरुवा ल्याएर रोप्दै जिल्लाका स्थानीय तहमा कार्यरत कृषि प्राविधिक र अगुवा कृषकहरुलाई तालिम समेत दिएको छ ।

सोलुदुधकुण्ड नगरपालिका, नेचासल्यान, थुलुङ दुधकोशी र माप्यदुधकोशी गाउँपालिकाबाट सहभागी कृषकले नयाँ प्रविधिको ज्ञानले आलु खेतीमा हौसला थपिएको बताए । सोलुखुम्बुमा हालसम्म खायन आलुलाई र्न बिउका रुपमा प्रयोग गर्ने गरिन्छ ।

सोलुदुधकुण्ड नगरपालिका–७ गार्मामा आलु खेती गर्नुभएकी कृषक तारा राईले हालसम्म परम्परागत रुपमा मात्र आलु खेती गरेकाले उत्पादनमा आधा भन्दा कम भएको बताउनुभयो । राईले सैद्धान्तिक र प्रयोगात्मक ज्ञान सीप पाएपछि आलु उत्पादनका लागि बिउमा ध्यान दिनुपर्ने बताउनुभयो । यस प्रविधिबाट उत्पादित बिउबाट रोग किरा पनि कम लाग्ने र उत्पादन पनि बढ्ने भएकाले धेरै प्रभावकारी भएको उहाँको भनाइ छ ।

राष्ट्रिय आलु तरकारी तथा मसलाबाली विकास केन्द्र खुमलटारका बरिष्ठ आलु विज्ञ श्यामप्रसाद ढकालले उत्पादकत्व बृद्धिका लागि टिस्यू कल्चर प्रविधिबाट आलुको बिउ उत्पादन गर्नु उपयुक्त हुने बताउनुयभो । सोलुखुम्बु आलु उत्पादनका लागि प्रमुख जिल्ला भएकाले बिउ उत्पादन तथा भण्डारणमा ध्यान दिन सके अहिलेको उत्पादनमा तेब्बर बृद्धि हुने उहाँको भनाइ छ ।

सोलुखुम्बुका लागि सिफारिस गरिएको जनकदेव, खुमल सेतो र खुमल विकास जातको आलुको बिउ रोप्न सकिने उहाँ सुझाव छ । हाल करिब पाँच अर्बको आलु अर्को देसबाट आउने गरेको भन्दै सरकारले अनुदानको व्यवस्था गरी उन्नत जातको बिउ रोपेमा आयात घटाउन सकिने उहाँले बताउनुभयो ।

बर्षौदेखि निजी क्षेत्रबाट आलुको विउ उत्पादन गर्दै आउनु भएका नेपाल बिउबिजन उत्पादन केन्द्र गोदावरीका रामभरोस नेपालले टिस्यू प्रविधिबाट आलुको बिउ उत्पादन गर्दा कृषकलाई फाईदा पुग्ने बताउनुभयो । नेपाल बिउविजन उत्पादन केन्द्रबाट खरिद गरिएको पाँच सय विरुवा वागवानी केन्द्रको स्क्रिन हाउसमा रोपिएको छ ।

रोपिएको विरुवाबाट विउ आलु तयार गरेर कृषकलाई वितरण गरिने वागवानी केन्द्र फाप्लुका बरिष्ठ वागवानी विकास अधिकृत चन्द्रमान श्रेष्ठले जानकारी दिनुभयो । मुख्य रुपमा आलु खेती गरिने जिल्लामा प्रविधिको प्रयोग गरी बिउ उत्पादन गर्दा आलु धेरै फल्ने र रोगको पनि चिन्ता नहुने उहाँले बताउनुभयो । सोलुमा १० हजार हेक्टर भन्दा बढीमा आलु खेती गरिन्छ ।

खायन आलुलाई रोप्ने परम्परालाई कम गर्दै प्रविधिको प्रयोगबाट तयार पारिएको स्वस्थ बिउ रोप्दा उत्पादन बढाउन सकिने उहाँको भनाइ छ । सोलुमा हाल आलुको उत्पादकत्व प्रति हेक्टर १६ मेट्रिक टन रहेकोमा यसलाई दोब्बर बनाउने उहाँको योजना छ । बर्षेनि एक लाख ५५ हजार मेट्रिक टन भन्दा बढी आलु उत्पादन भइरहेको तथ्याङ्क छ । नेपालमा करिब दुई लाख हेक्टरमा लगाइने आलु खेतीबाट २८ लाख मेट्रिक टन आलु उत्पादन हँुदै आएको छ । आलु खपतको हिसाबले नेपाल ९० प्रतिशत आत्मनिर्भर भएको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार