बालुवाटार बिक्री प्रकरण: महासचिव पौडेललाई निलम्बन गर्न नेकपाभित्र माग, सरकार निरन्तर बचाउ गर्ने प्रयासमा

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीभित्र महासचिव विष्णु पौडेलललाई निलम्वन गर्न माग उठेको छ । काठमाडौँको बालुवाटार स्थित ललिला निवासको सरकारी जग्गा बिक्री प्रकरणमा मुछिएपछि पौडेलले नैतिकताका आधारमा पदबाट राजीनामा दिनुपर्ने नभए पार्टीले निलम्बन गर्नुपर्ने माग उक्त दलकै नेताहरुले गरेका हुन् ।

नेकपाका सांसद मेटमणि चौधरीले पार्टीको नैतिकता जोगाउन भएपनि महासचिव पौडेललाई निलम्बन गरेर छानबिन गरी दोषी पाइए कारबाही गर्नुपर्ने माग गर्नुभयो ।

महासचिव पौडेलले बालुवाटारको सरकारी जग्गा आफ्नो परिवारको सदस्यले किनेको यसअघि नै स्वीकार गरिसकेका छन् । तर व्यक्तिबाट उक्त जग्गा किनिएको उनको दाबी छ । सांसद तथा सत्ताधारी दलको महासचिव जस्तो सार्वजनिक पद धारण गरेको व्यक्तिले सरकारी जग्गा खरिद गरेको विषय राज्य विरुद्धको गम्भीर अपराध भएको कुरामा दुइमत रहन्न । त्यसैले पनि उक्त दलभित्रैबाट उहाँलाई निलम्बन गर्नुपर्ने माग उठेको हो ।

हुन त बालुवाटारको सरकारी जग्गा खरिद बिक्री प्रकरणमा सत्तारुढ दलका महासचिव पौडेल मुछिएको घटना चर्चामा रहेकै बेला प्रधानमन्त्री केपी शर्मा ओलीले जालझेल गरेर कब्जा गरिएका सरकारी सम्पत्ति धमाधम फिर्ता गरिरहेको दाबी गर्नुभएको छ । नयाँ वर्षकै पहिलो दिन देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राज्यको सम्पत्तिमाथिको दोहनलाई छुट नदिने दाबी गर्नुभएको थियो ।

अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको ‘भ्रष्टाचारीको मुख पनि हेर्दिन, जो भएपनि कारबाही गर्छु’ भन्ने अभिव्यक्ति चर्चामा छ । तर आफ्नै पार्टीका महासचिव प्रधानमन्त्री निवासको जग्गा खरिद बिक्रीमा संलग्न भएको घटनामा सरकारी छानबिन टोली गठन गर्नुबाहेकको कारबाही प्रक्रिया तत्काल थालिएको छैन ।

बरु महासचिव पौडेललाई जोगाउन सरकारका प्रवक्ता गैरजिम्मेबार अभिव्यक्ति दिँदै हिँडेका छन् । आफ्नै पार्टीभित्रबाट महासचिव पौडललाई निलम्बन गर्न उठेको मागलाई पार्टी अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओलीले सम्बोधन गरेको विषय थाहा पाउन मुलुक प्रतिक्षा गरिरहेको छ । Radio NRN

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार