देशलाई पीडा भए पनि सरकारलाई ‘हाइसन्चो’ छ

संजिव कार्की 

दुई तिहाईका भयानक चतुर र ब्रम्हा जत्तिकै शक्ति र सामर्थ्य भएका प्रधानमन्त्री छन् देशमा । भयानक र ब्रम्हाजस्तै यस अर्थमा कि राजनीतिमा यिनले चाहेको गर्ने हो भने सबै किसिमका ब्यबधान छिचोलेर कानुनी, नीतिनियम र विधानको सबै परिबन्ध आफ्नो कर्यानुकुल परिवर्तन गर्न सक्छन । सिर्जनात्मक सुशासनको सट्टा अराजक सरकार, अटेरी सत्ताको अभ्यासमा सरकार जनताको भोगाइको तहगत अनुभूति छ । सरकार दौडेको छ आफ्नै रफतार, भलै त्यो रफ्तार देश र जनताको आशा बिपरित र सरकाले आफ्नो पार्टीको घोषणापत्रमा बाचा गरे भन्दा उल्टो नै होस् । सरकारलाई यो दौडमा काउन्टर दिने अर्को धावक छैन । रोक्ने र उछिन्ने अर्को खेलाडी छैन । तसर्थ सरकारलाई हाइ सन्चो छ ।

न बाटो छेकिदिने कोही छन् न अलमल्याई दिने कोही । फुक्काफाल सरकार छ ।  बिडम्बना यसको असफलताको भारी बोकाई माग्ने एक पात्र पनि छन् राजा ज्ञानेन्द्र । आज अभ्यस्त रहेको व्यबस्थाको असफलताको लागि गाली पाउने भाग्यमानी व्यक्ति हुन् पूर्वराजा ज्ञानेन्द्र । काउन्ट गर्न सकिने तर कहिल्यै कतै नदेखिने प्रमुख प्रतिपक्ष । अरु सम्भावना भएका प्रतिपक्षलाई फेसबुकमा दुई चारवटा सेल्फी राखेर लघुघेरामा रमाउँदै एकापसमा लाइक र कमेन्ट ठोकेर छुट्टै र बेग्लै देखिनुको स्वैरकाल्पनिक मिठासमा छन । राजनीतिमा भन्दा पत्रकारितामा जमेका रविन्द्र मिश्र नेताका छोराछोरी नेपालमा किन नपढ़ाएको भनेर नेताहरुलाई रयाखरख्याती पारेर प्रश्न गरेर जनताबाट वा ! वाही !! बटुलेर आज उही विषयमा आफु आलोचित छन् ।

यतिबेला नागरिक समाज मन्द छ । कतै पार्टी मार्फत सत्ता चास्नीको आश र लोभमा आ-आफ्नै पार्टी सत्ताको भजनमा क्रियाशील बन्नु उसको बौद्धिक धर्म हो भन्दा वर्तमान प्रति अन्याय हुँदैन । सबै बिकृति र विसंगतीको विरुद्द सँधै एक्लै लड्न र भोकै सुत्ने ठेक्का गोविन्द केसीको होइन (जनताको साथ हुदाँ सरकार झुकाएर जनपक्षीय निर्णय भएका छन् पनि) अख्तियार प्रेम संजेललाई लगाम लगाउन सत्य ओकल्ने जिब्रो थुत्न आफ्ना अस्तित्वका सबै जायजेथा खर्च गर्न मन्जूर छ । खगेन्द्र संग्रौला सँधैका र सबैका प्रतिपक्ष भएर सार्वजनिक भित्तोमा व्यस्त छन् । प्राध्यापक डाक्टर सुरेन्द्र केसी राजदूत नपाएको झोंकमा जे पनि बोल्छन भनेर उनले बोलेको यथार्थ तस्बिर डाम्ने प्रपन्चको शिकार बन्छन दिन प्रतिदिन । देश एकीकरणको टेन्डर मधेश स्वराज र आजाद दो अभियानका अभियन्ता सीके राउतले हत्याएका हुन जेलमुक्त हुने बित्तिकै । ग्रेटर नेपालका अभियन्ता फणिन्द्र नेपाल चैं देसद्रोही लाग्छ सरकारलाई । उनको गला अठ्याँइन्छ र पटक पटक घर खानतलासी गरिन्छ । जतिसक्दो निरुत्साहित गर्ने कोसिस हुन्छ र उनको विरुद्द लेख्ने बोल्ने रास्ट्रवादी र देशभक्त कहलाइन्छ ।

ज्ञानेन्द्रले मन्दिरको घन्टी बजाउँदा गणतन्त्रको डीपिसिमा भ्वांग पर्छ, चर्कन्छ । गणतन्त्र रुपी भवनबाट पानी चुहिन्छ । गंगामायाको न्यायको कुरा सामान्य पंक्षी हत्यामा रोइकराई गरेको अन्जान बालक भनेर अर्थ्याइन्छ । नन्दप्रसादको लास जल्यो भने बिचौलिया र दलालको चुलोमा धुँवा नदेखिन सक्छ । धुर्मुस–सुन्तलीको सामाजिक योगदान चितवनको कृषि प्रयोगशाला नासेर क्रिकेट स्टेडीयमको लागि रुपान्तरित भएको छ  । सत्यले सँधै रुनुपर्ने र बहुलाउनु पर्ने हो भनेर कुलमान जनतासंग प्रश्न सोध्दैछन । फेरि पनि लोडसेडिङ गरेर जनतालाई अंध्यारोमा राख्ने खेलबाट आजित छन् कुलमान घिसिंग । अध्यारोमा बानी परेकाहरुलाई उज्यालोसंग डर लाग्छ ।  मास्टर्स डिग्री लिएकाहरु कतिपय एमफिल र पीएचडीहरु पनि जापान र कोरियाको खोरिया फाँड्न अनलाइन फर्म भर्न नजानेर रातभर नसुती लाइन बसेका छन् । खाडी, जापान कोरियातिर युवा बेचेर सरकार स्वदेशमै वार्षिक हजारौंको रोजगारी सिर्जना भएको र आगामी दिनमा अरु बढाउने मिथ्यांक सगौरव प्रस्तुत गर्दछ ।

बैदेशिक रोजगारीलाई सरकारले आफ्नो उपलब्धिमा राख्ने स्थिति र विदेश जान पश्रय दिने नीति देशको लागि लाजमर्दो बिषय बन्न सकेन कहिल्यै । बस्तु निर्यात गरेर आत्मनिर्भर बन्नु पर्ने मान्छे र देशको बलिस्ठ पाखुरी र श्रम गर्ने माहुरी निर्यात गरेर हामी मखलेल छौ । बैदेशिक रोजगारीको लागि नयाँ नयाँ गन्तब्यको खोजी र यो पटक जापानले कामदार लैजाने प्राथमिकता सरकारको ठुलो स्वर बन्छ । प्रमुख प्रतिपक्षलाई सत्ताले भै्रसी बेचे पनि, पुरातात्विक मुर्ति र मन्दिर बेचे पनि, युवा युवती बेचे पनि, देश नै बेचे पनि आफ्नो भागमा कमिसन आइपुग्छ पुग्दैन, आए कति आइपुग्छ त्यो भन्दा पर चिन्ता नभएको कुरा ललिता निवासको ११३ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा ,अझ नेकपाका महासचिव विष्णु पौडेलको नाममा समेत हुँदा मौन साधनामा रहनुले उसको उदेश्य प्रस्ट छ । उ बोल्न सक्दैन कारण उ पनि त्यो जग्गा प्रकरणमा आफ्नो साझेदारी लुकाउने हैसियतमा छैन शायद । चोर चोरसँग इमान्दार हुन्छ भन्ने कुराको दम सत्ताधारी पार्टीको मुख्य नेता सरकारी जग्गा अपचलनमा मुँछिदा प्रतिपक्ष मुद्दा बनाएर बिरोधमा बोल्न नसक्नुले छर्लंग बनाउछ ।

सत्ताधारी कार्यकर्ता भेडा र विवेकहीन भै हाले पार्टी नेता र तिनका विरुद्द बोल्न विवेक बन्धक छ कसरी बोल्नु जो बोल्छन ती पार्टी अनुशासन नभएका अराजक चरित्र हुन । मौरी बन्नु भन्दा अरिंगाल बनेर बिपक्षीप्रति खनिनु कार्यकर्ताको धर्म भएको छ ।  प्रतिपक्षको मुखभरी पानी जम्नु रहस्यमय र खोतल्ने विषय बनाउँदा पत्रकारको भविष्यमा वैयक्तिक लाभ हानीको विषय नबनेको भए हुन्थ्यो । देशमा सबै पार्टीका बिद्यार्थी संघ संगठन जुझारु र गतिवान छन् यतिबेला तिनीहरुको जुझारुपन निजी स्कुल र कलेजका ब्यापारीसँग कसरी कुस्त असुल्ने र आफ्नो लागि प्राइभेट स्कुलहरुमा बढी भन्दा बढी कोटा सुरक्षित राख्ने कम्पिटिसनमा खर्चदै छन् ।  कतै भाउ नमिलेको ठाउँमा सांकेतिक बिरोध भन्दा बढी केहि नदेखिनु यो कुराको ज्वलन्त उदाहरण र प्रमाण हो । बिद्यार्थी संघसंगठन कर्मकाण्डी व्यक्तव्य जारी गरेर चर्को शुल्कको बिरोधमा सूचना पाटीको भित्तो रंगाउछन । माउ पार्टी सुस्त भए पनि नेपाल बिद्यार्थी संघ यति चुस्त र दुरुस्त छ कि उसले आफ्नो ४९ औं जन्मदिन एकै ठाउँमा मनाउन सम्भव देखेन र नेताको चुलो अनुसारको दैलोमा आगो फुकेर पाँच ठाउँमा विभक्त भएर मनाउँदै एेतिहासिक रेकर्ड बनायो ।

नेपाल कृषि प्रधान देश आत्मनिर्भर बन्न देशले गरेको लगानीको खर्बौं रकम केवल कृषि भ्रमण र गोष्ठी अनि प्रचारप्रसारमा खर्च हुन्छ । कागतका किसानले अनुदान पाउँछन, झोलाका किसानले बिभिन्न कृषि परियोजना सजिलै हात पार्छन । बास्तविक हलो कोदालो समाउने किसानले अनुदानको मुख देख्न त के नाम सुन्न पाए पनि पवित्र हुने स्थिति छ । परनिर्भरताको आकर्षणले आत्मनिर्भरता आत्महत्याको बाटोमा छ । तर शासकहरु विदेशबाट बाकसमा गरिब नेपालीको लास आउँदा पनि पैसाको आशमा युवा पलायनलाई रोक्ने नीति बनाउन सक्दैनन् । काठमाडौं पानी बिनाको काकाकुल बनेको दशकौ भइसक्यो । मेलम्चीको पानी दुई दशक भन्दा अघिको उपत्यकाबासीको सपना आज पनि बिपनामा परिणत हुन सकेन । बरु कतारमा नेपाली पानीको मेन्यु र भेराइटी पुर्याउन मन्त्री बिना मगर आतुर छिन् । कतारलाई स्याउ र क्यानाडालाई आँप बेच्नु अनौठो र दुरुह हैन । तर कुन र कहाँको उत्पादन लगेर बेच्ने खै उत्पादनसँग किसानलाई जोड्ने उद्धमी नीति र उद्योग ?

कृषि मेरो उद्योग र जमिन मेरो कारखाना भन्ने भाव बिना कसरी हुन्छ कृषि क्रान्ती ? गमलामा धान रोपेर र  गमलामा डमी हलो जोतेर कुन बाटोबाट आउँछ कृषिमा रुपान्तरण ?  किन हावाको महल खडा गरेर स्वप्नको डेरा दिन हतार गर्छ राज्यको कार्यकारी ? हिन्दुत्वलाई उपप्रधानमन्त्री पदसँग लिलाम गरेका कमल थापा घरमा माला जपेर हिन्दु राष्ट्र आउँदैन सडकमा ओर्लनुस भनेर जनतालाई पुनः मुर्ख बनाउन ओम शान्तिको जप गर्दैछन । आफु नजागेको कांग्रेस, गृह कलहलाई देशब्यापी बनाउन जागृति अभियान संचालन गरेर जनतासँग हात जोडन बाह्र बर्षे मेलामा गए झैँ खिया परेको दियो कलस र त्रिशुल खोज्दैछ । कांग्रेस सुकेको रुखमा सिंचन गरेर आफु परिवर्तन भएको संदेश दिन चाहन्छ नकी नयाँ बिज र बिरुवा रोपेर । कम्युनिस्टहरु पहिले जनताको झुपडीमा बस्थे, खान्थे त्यो पुरानो जडपन्थी सोच भएकोले अहिले रक्सी खान बिबादित होटेलमा चंद्रागीरि पुग्छन र कार्यकर्ताको टाउको आ–आफ्नो भागमा भाग लगाउन रस्साकसी गर्छन । जस्तो अस्ति भर्खरै प्रचण्ड र ओलीले चंद्रागीरिको भालेश्वर भाकेर ब्ल्यु लेभलको चियर्स गरे ।

नेपालले अन्तरिक्षमा एककिलोको स्याटेलाइट पठाउनु हजारौ यात्राको पहिलो पाइला हो । अन्तरिक्ष युगकै प्रवेश होइन तर प्रचार र हल्ला चैं अन्तरिक्षमा बस्ती बसाउन नेपालको ढुंगामाटो ,गीटि बालुवा, पानी नै सप्लाईको लागि मार्केट पाएको र माल निर्यात गर्ने तयारी झैँ गरिन्छ । टेन्डर नै आब्हान गर्न खोजे झैँ बोलिन्छ । राज्यका ठालुहरूबाट किन सँधै र बारम्बार चिफ कुरा गरेर जनतालाई वेबकुफ बनाइरहन पाउँदा आनन्द महशुस गरिरहन्छन ।  हैसियत त बढाउँदै लैजाने हो नभएको र नपाएको हैसियत देखाएर रमिता प्रदर्शनले कस्तो आत्मरतिमा रमाउने बानी बिकास गर्यौ हामीले । स्थिर र दरिलो सरकार बनाएपछि सजिलो हुन्छ भनेर दुई तिहाई मत दिएर सरकार बनायो त्यो पनि साँढे हुदो रहेछ । दरो प्रतिपक्ष नभएको सरकार सरकार जस्तो हुँदो रहेनछ । कठै हामी नेपालीको दुख, जे गरे पनि सुख छैन । सिंगल पार्टीलाई मेजोरोटी नदियो अस्थिर सरकार बनाएर सँधै सरकार बनाउने र भत्काउने खेलमा व्यस्त । बलियो सरकार बनायो कसैले हल्लाउन सक्ने हैन भनेर सरकार मैमत्त साँढे । यद्यपी,  यसैबिच भूकम्प पीडितहरुको  बस्ती निर्माण गरेर आफ्नो दायित्व पुरा गर्ने स्वेता खड्काहरु पनि जीवित नै छन् । यस्तै यस्तै सत्कर्मी छन् र देशको प्राण प्रतिष्ठा बचेकै हुन्छ । बचाएकै हुन्छन । नैतिकता र इमानको शिला खोजेर बाँच्न मन्जुर छन् महावीर पुनहरू । बाँकी छ अझै आशाको उज्यालो । imagekhabar.com बाट साभार गरिएको।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार