सन्तोष राउत/सोलुखुम्बु। सोलुखुम्बुको खुम्बुक्षेत्रमा सगरमाथा राष्ट्रिय निकुञ्जले पर्यटकीय क्षेत्रको सरसफाई अभियान सम्पन्न गरेको छ । पहिलो दिन हवाई यात्राबाट खुम्बु प्रवेशस्थल लुक्ला क्षेत्रबाट सरसफाई शुरु गरी क्रमशः जोरसल्ले हुँदै शुक्रबार डोले, गोक्यो क्षेत्र सरसफाई सम्पन्न गरेको टोलीले सातौँ दिन दिङ्बोचे देखिमाथि बेसक्याम क्षेत्रसम्म सरसफाई गरेकोे छ ।
निकुञ्जको २४ औँ वन्यजन्तु सप्ताहका अवसरमा पर्यटकको प्रमुख गन्तव्यस्थलका रुपमा रहेको खुम्बुक्षेत्रलाई सफा राखी पर्यटकलाई आकर्षण गर्न सरसफाई गरिएको सगरमाथा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले जानकारी दिनुभयो । विश्वमा परिचित पर्यटकीय क्षेत्र सुन्दर बनाउन सरसफाई आवश्यक भएको उहाँको भनाइ छ ।
निकुञ्ज वरपरका वन क्षेत्र समेत सरसफाई गरी वन्यजन्तुको वासस्थानको प्राकृतिक अवस्था कायम राख्दै स्वदेसी तथा विदेसी पर्यटकलाई आकर्षित गर्न सकिने निकुञ्जले जनाएको छ । पर्यटकको चाप हुने भएकाले पर्यटक तथा उनीहरुका सहयोगीले प्रयोग गरेको समानका कारण त्यस क्षेत्रमा फोहोर हुने गरेको छ । अहिले दैनिक सयौँको संख्यामा पर्यटक तथा सगरमाथा आरोही खुम्बु आउने गरेको छन् ।
अभियानको अन्तिम अर्थात सातौँ दिन शनिबार खुम्बु क्षेत्रको अन्तिम बस्ती रहेको गोक्यो क्षेत्र सरसफाई गरेसँगै सप्ताहको समापन गरिएको छ । सगरमाथा क्षेत्र सरसफाई अभियानले खुम्बुक्षेत्र सफा भएको सन्देस दिन सकिने निकुञ्जले जनाएको छ ।
सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालयलद्वारा आयोजित सप्ताहव्यापी कार्यक्रममा स्थानीय जनप्रतिनिधि, नेपाली सेना तथा निकुञ्जका कर्मचारीहरुको सहभागिता रहेको बताइएको छ । कार्यक्रममा खुम्बुपासाङल्हमूु गाउँपालिकाका सम्बिन्धत वडाका वडा अध्यक्ष, शमसेर गुल्म नाम्चेका गुल्मपति दिपेन्द्र न्यौपाने, मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका सदस्यहरु, स्थानीयस्तरमा रहेका सरकारी कार्यालयका प्रतिनिधिहरु र स्थानीय समुदायको सहभागितमा रहेको छ ।