पीडितलाई राहत वितरण

सन्तोष राउत/सोलुखुम्बु । सोलुखुम्बुको खुम्बुक्षेत्रमा रहेको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेले निकुञ्ज क्षेत्रभित्र वन्यजन्तुबाट भएको क्षतिका कारण पीडित स्थानीय कृषकलाई राहत रकम वितरण गरेको छ । आर्थिक वर्ष २०७५÷७६ भित्र त्यस क्षेत्रका वन्यजन्तुबाट भएको घरपालुवा जनावरको क्षति बापतको राहत रकम वितरण गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले जानकारी दिनुभयो ।

यस अर्थिक वर्षमा वन्यजन्तु ब्वाँसो र चितुवाबाट आक्रमण भई स्थानीय पशुपालक कृषकका १०६ वटा घरपालुवा जनावर मरेका थिए । जसमध्ये याक २८ वटा, नाक ३४ वटा, चौरीगाई २६ वटा, जोक्पे १० वटा र गोरु आठ वटा मरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत भट्टराईले जानकारी दिनुभयो ।

वन्यजन्तुबाट पीडित ५४ घरपरिवारलाई कुल ३१ लाख ४५ हजार रुपियाँ राहत स्वरुप गरिएको हो । वन्यजन्तुबाट भएको क्षतिको राहत रकम पाउँदा स्थानीय बासिन्दहरु खुशी भएका छन् ।

खुम्बुपासाङल्हमू गाउँपालिका ५ फुर्केकी ७४ वर्षिया लाक्पा शेर्पेनीले भन्नुभयो, आफ्नो पशुचौपायलाई जङ्गली जनवारले मार्दा त सबै वन्यजन्तु मास्न पाए पनि आनन्द हुन्थ्यो भन्ने लाग्थ्यो तर आज निकुञ्जले त्यसको क्षतिपूर्ति पाउँदा खुशी लागेको छ । वन्यजन्तुका कारण पर्यटकले पनि आनन्द लिने गरेकाले संरक्षण गर्नुपर्ने उहाँले बताउनुभयो । राहत लिने सबै पीडितले वन्यजन्तु संरक्षण कार्यमा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

वन्यजन्तु सप्ताहका अवसरमा सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालयलद्वारा आयोजना गरिएको सप्ताहव्यापी कार्यक्रमका अवसरमा राहत वितरण गरिएको हो । स्थानीय जनप्रतिनिधि, शमसेर गुल्म नाम्चेका गुल्मपति दिपेन्द्र न्यौपाने, मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका सदस्यहरु, स्थानीयस्तरमा रहेका सरकारी कार्यालयका प्रतिनिधिहरु र स्थानीय समुदायको सहभागितमा राहत वितरण गरिएको निकुञ्जले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार