विस्फोटमा मृत्यु हुनेको संख्या २०७ पुग्यो

कोलम्बो। श्रीलंकाका विभिन्न स्थानमा भएका शृङ्खलाबद्ध बम विस्फोटमा परी मृत्यु हुनेको संख्या २०७ पुगेको छ । विस्फोटमा ५०० भन्दा बढी घाईते भएका छन् ।

बिहानको समयमा तीन वटा चर्च र तीन वटा होटलमा शृङ्खलाबद्ध विस्फोट भएका थिए । त्यसपछि पनि विभिन्न स्थानमा थप दुई वटा विष्फोट भएको स्थानीय अधिकारीले जनाएका छन् ।

पछिल्लो विष्फोटमा तीन जना प्रहरी अधिकारी समेत मारिएका छन् । कोलम्बोमा मात्रै ५० जनाको मृत्यु भएको छ । बट्टिकलोआमा २५, नेङबोमा ५० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा केही विदेशी पर्यटक पनि छन् । कोच्चिकाडे, बट्टिकलोआ र कटुवापिटिया जिल्लामा रहेका गिर्जाघरमा विस्फोट भएका हुन् ।

घाईतेहरुको स्थानीय अस्पतालहरुमा उपचार भइरहेको छ । मध्य कोलम्बोस्थित सांग्रिला, सिनमन ग्राण्ड र किङ्सबरी होटलमा पनि छुट्टाछुट्टै विस्फोट भएको बताइएको छ ।

विस्फोटको समयमा इसाई धर्मावलम्बीहरू इस्टर पर्वका अवसरमा आयोजित धार्मिक कार्यक्रममा सहभागी हुँदै थिए । घटनापछि देशैभर लागु हुने गरी आज साँझबाट भोलि विहानसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको छ । सामाजिक सञ्जालहरुमा पनि अस्थायी प्रतिबन्ध लगाइएको छ ।

अधिकांश विष्फोटमा आत्मघाती आक्रमणकारी संलग्न रहेको र ती सबै एउटै समुहका रहेको श्रीलंकाली रक्षामन्त्री रुवान विजेवर्दनलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

विष्फोटमा संलग्न भएको आशंकामा सात जनालाई पक्राउ गरिएको छ । विस्फोटको जिम्मा कसैले पनि लिएको छैन । सन् २००९ मा २६ वर्षे लामो गृहयुद्ध अन्त्यपछि श्रीलंकामा हिंसाका घटना छिटपुट मात्र हुने गरेका थिए । गत वर्ष भने बौद्ध र मुस्लिम समुदाबीच हिंसा चर्किँदा राष्ट्रिय संकटकाल घोषणा गरिएको थियो । श्रीलंकामा बहुसंख्यक सिंहाली समुदायको बसोबास छ । (एजेन्सी)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार