चुलियो मतभेदः महाधिवेशनको विवाद उत्कर्षमा

काठमाडौं । राष्ट्रिय जनता पार्टी राजपा नेपालमा महाधिवेशनको मितिलाई लिएर सुरु भएको विवाद उत्कर्षमा पुगेको छ ।

तराई केन्द्रित ६ वटा पार्टीबीच एकता भएर राजपा बनेको २ वर्ष पुग्दासमेत महाधिवेशन हुन नसकेपछि विवाद उत्कर्षमा पुगेको हो ।

सामूहिक नेतृत्वमा सञ्चालन भइरहेको राजपाको अध्यक्ष मण्डल नै विघटनको आवाज जारी वैठकमा जोडका साथ उठेको छ  ।

६ पार्टीबीच एकता भएको २ वर्ष पुग्दासमेत महाधिवेशन गर्न नसकेको तथा संयोजकको पालो पुर्‍याउन महाधिवेशनको मिति पर सारेको भन्दै शीर्ष नेताहरुको आलोचना भएपछि राजपाको अध्यक्ष मण्डल नै विघटनको तयारी भएको छ ।

पार्टी कार्यालय काठमाडौंमा केही दिनदेखि जारी राजपाको बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्य तथा पदाधिकारीले अध्यक्ष मण्डल र केन्द्रीय समिति खारेज गरी महाधिवेशन आयोजक समिति गठन गर्न सुझाव दिएका छन् ।

राजपाको अध्यक्ष मण्डलको संयोजक शरदसिंह भण्डारीले बैठकमा महाधिवेशनको मिति एक वर्ष पछि सार्न प्रस्ताव गरेपछि सदस्यहरु रुष्ट बनेका छन् ।

नियमित महाधिवेशनमा जाँदा पार्टी एकढिक्का नहुने र समय थोरै भएकाले हतार हुने भन्दै एकता महाधिवेशन गर्नु उपयुक्त हुने संयोजक भण्डारीको तर्क छ ।

आगामी २ महिनाभित्र महाधिवेशन गर्ने गरी अध्यक्ष मण्डलका नेता महन्थ ठाकुरको संयोजकत्वमा महाधिवेशन आयोजक समिति गठन गर्ने तयारीमा शीर्ष नेताबीच मत बाझिएको छ ।

महन्थ ठाकुर जुनसुकै विकल्प भए पनि मान्न तयार देखिन्छन । तर अध्यक्ष मण्डलका अर्का सदस्य राजेन्द्र महतो भने एकता अधिवेशनको पक्षमा देखिएका छन्

अध्यक्षमण्डलका अर्का सदस्य महेन्द्र राय यादव र अनिल झाले भने महाधिवेशनका विषयमा अघि सारिएका दुवै विकल्पमा असहमति जनाए ।

उनीहरुले समय लगाएर र प्रक्रिया पूरा गरेरै पूर्ण महाधिवेशन गर्नुपर्ने मत राखेका छन् ।

अध्यक्षमण्डलका सदस्य राजकिशोर यादवले पनि प्रक्रिया पुर्‍याएर नियमित महाधिवेशन गर्नुपर्ने मत राखेका छन् ।

सदस्यद्वय राजकिशोर यादव र अनिल झा विधानमा भएको चक्रीय प्रणालीअन्तर्गत आफूहरू पनि अध्यक्ष मण्डलको संयोजक बन्ने मौका पाएपछि मात्रै महाधिवेशन गर्नुपर्ने पक्षमा देखिएपछि महाधिवेशन नै अन्योलमा परेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार