के हो शेर्पाहरुको मानेरिम्डु (मणिरिल्डुप), कसरी मनाइन्छ (भिडियो सहति)

सन्तोष राउत/सोलुखुम्बु  हिमाली भेगका शेर्पा जातीले मनाउँदै आएको धार्मिक तथा सास्कृतिक पर्व मणिरिल्डुप पर्वमा विदेशी पर्यकटकको आकर्षण बढ्दै गएको छ । शेर्पा जातीहरुले मनाउने यो पर्व पछिल्लो समय मनोरञ्जन तथा अध्ययन अनुसन्धानका लागि समेत विदेशीको आकर्षण बनेको हो ।

सोलुखुम्बुको दुधकुण्ड नगरपालिकामा रहेको चिवाङ छ्याङछ्युप छोलिङ गोन्पामा मणिरिल्डुप हेर्न आउने विदेसीहरुको संख्यामा बृद्धि भएको गोन्पाका अध्यक्ष आङदोर्जी लामाले बताउनुभयो । विभिन्न देशहरुबाट नेपाली शेर्पा सस्कृतिको अध्ययनका लागि विदेशी पर्यटकहरु नेपाल आउने क्रम बढ्दै गएको पाइएको छ ।

बौद्ध धर्मावलम्बीहरुको ल्होसारबाट गणना हुने नवौँ महिनाको पहिलो दिनदेखि आठारौँ दिनसम्म सञ्चालन हुने बौद्ध ङिङ्मा सम्प्रदायको महत्वपूर्ण धार्मिक पर्व हो मणिरिल्डुप । जहाँ मणिको अर्थ मन्त्र र रिल्वुको अर्थ स–साना गेडी, डुपको अर्थ सम्पन्न वा प्राप्ती हो र महायोगी गुरु रिन्पोछेले बोद्ध धर्म स्थापना गरेको दिवसका रुपमा यो पूजा गरिने एकजना जानकार अम्जी छिरी शेर्पाले जानकारी दिनुभयो । यसमा गरिने संस्कारयुक्त ताान्त्रिक राक्षसी शैलीको नृत्यमा फावा चेरेन्सिग (अवलोकेतेश्वर) प्रकट हुने उहाँले बताउनुभयो ।

सर्वसाधारणका लागि मणिरिल्डुप पर्वमा गरिने पुजापाठ, अवतारी लामाद्वारा प्रदान गरिने वोङ ‘अभिषेक’, जिङ्सेक, थोडोलोप पूजा गरी अठारौँ दिनका दिन मण्डला बिसर्जन गरी बुद्ध शिक्षा सिकाइने भएकाले अध्ययन अवलोकनका लागि विदेसी समेत नेपाल आउने गरेको बताइन्छ । यसमा लामाहरुले हातमा झ्याम्टा लिएर रोचक तथा मनोरञ्जनात्मक छ्याम (नृत्य) गर्दछन् । यो हेर्न बौद्ध धर्म बाहेकका पनि जाने गरेका छन् ।

मणिरिल्डुप हेर्न विशेष गरी अमेरिका, फ्रान्स, बेल्जियम, जर्मनी र इटालीलगायतका देशहरुबाट पर्यटकहरु आउने गरेका छन् । कतिपय विदेशीहरु दुई तीन पटकसम्म लगातार मणिरिल्डुप हेर्न आउने गरेका छन् । बुद्ध शिक्षालाई नजिकबाट अध्ययन गर्न यसरी पटक पटक दोहो¥याएर आउने गरेको बताइन्छ ।

खुम्बुको शेर्पा बस्तीमा रहेका त्याङबोचे, थामुत्याङ, थुप्तेन छोलिङ, चिवाङलगायतका गोन्पामा मणिरिल्डुप आयोजना हुन्छ । अन्य पुजापाठ भन्दा बेग्लै र विशेष महत्वको हुने भएकाले पनि सबैले निकै रुचिका साथ मणिरिल्डुप पर्वलाई लिने गरेका छन् ।

सबैको मन लोभ्याउने यस्ता पर्वहरुको संरक्षणका लागि सरकारीस्तरबाट कुनै सहयोेग प्राप्त नभएको भन्दै गुम्बाका अध्यक्ष लामा भन्नुहुन्छ ‘यस्ता पर्वमा सरकारको पनि केही सहयोग पाएमा धार्मिक पर्यटकको संख्या बढाउन सकिने थियो ।’ तलको भिडियोमा विस्तृत जानकारी गोन्पाका अध्यक्ष आङदोर्जी लामाबाट …………

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार