बाबुराम–उपेन्द्र एकता : सहमतिमा के छ ?

काठमाण्डौ । लामो समयको रस्साकस्सीपछि डा. बाबुराम भट्टराई र उपेन्द्र यादव एक ठाउँमा उभिन सफल भएका छन् । एकता गर्न सफल भएपछि नवगठित समाजवादी पार्टीका नेताहरुले अब नयाँ वैकल्पिक राजनीतिकको उदय भएको उद्घोष गरे । एकता घोषणा सभामा कसले के भने त ?

नवगठित समाजवादी पार्टी, नेपालमा पनि दुईजना अध्यक्ष भएका छन् । संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी मिलेर बनेको नयाँ पार्टीमा साविक नयाँ शक्तिका संयोजक र फोरम अध्यक्ष उपेन्द्र यादव दुवै अध्यक्ष हुने सहमति भएको हो । यसअनुसार संघीय परिषद्को अध्यक्ष भट्टराई हुनेछन् भने केन्द्रीय समितिको अध्यक्षमा यादव रहनेछन् ।

एकता घोषणापछि समारोहलाई सम्बोधन गर्दै अध्यक्ष उपेन्द्र राष्ट्रिय जनता पार्टी नेपाललाई एकतामा आउन आग्रह गर्नुभयो । अब सानो सानो पसल थाप्ने समय नभएको भन्दै यादवले एकतावद्ध हुन आग्रह गर्नुभएको हो । यादवले अहिलेका कम्युनिष्ट पार्टी कम्युनिष्ट पार्टी नभएर कमाउनिष्ट भएको आरोप पनि लगाउनुभयो ।

त्यसैगरी समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले समाजवादी पार्टी गठन पृथ्वीनारायण शाहपछिको राष्ट्रिय एकता भएको दाबी गर्नुभयो । एकल जातीय राष्ट्रवादविरुद्ध संघीय ढाँचाको राष्ट्रिय एकता कामय गरिएको भट्टराईको तर्क थियो । सत्तारुढ दल नेकपालाई भट्टराईले निभ्ने बेलाको बत्तीको संज्ञा दिनुभएको छ । भट्टराईले संविधान संशोधनको लागि सडक, सदनबाट आँधीबेरी ल्याउने चेतावनी पनि दिनुभयो ।

सहअध्यक्ष राजेन्द्र श्रेष्ठले आफ्नो पार्टीले नेपाल कम्युनिष्ट पार्टी र नेपाली काँग्रेसलाई सिंहदरबारबाट घोक्रेठ्याक्क लगाउने बताउनुभयो । श्रेष्ठले कम्युनिष्ट र काँग्रेसले भनेको भन्दा आफूहरूले फरक समाजवाद अंगाल्ने दाबी पनि गर्नुभयो । सबैजसो नेताहरुले सत्तारुढ दललाईसमेत गाली गरेको देख्दा अब यो पार्टी सरकारबाट बाहिरिने संकेत देखिएको छ ।

यद्यपी यस विषयमा निर्णय भने भइसकेको छैन । एकीकरणको घोषणा सभामा पूर्वसभामुख तथा नेपाली कांग्रेसका नेता दमननाथ ढुंगानाको उपस्थिति पनि थियो । उहाँले दुई पार्टीको एकतामा आफ्नो समर्थन रहेको बताउनुभएको थियो ।

समाजवार्दी पार्टीमा यादव र भट्टराईपछि तेस्रो वरीयतामा अशोक राई वरिष्ठ नेताको रुपमा रहनेछन् । त्यसैगरी सहअध्यक्ष राजेन्द्र श्रेष्ठ र उपाध्यक्षहरू नवराज सुवेदी, परशुराम खापुङ, युवराज कार्की, रकम चेम्जोङ, रेणुकुमारी यादव, लालवावु राउत, हिसिला यमी र हेमराज राई रहेका छन् । महासचिवहरूमा गंगानारायण श्रेष्ठ, रणध्वज कङ्दङ्वा, रामसहाय यादव छन् ।

उपमहासचिवहरूमा डम्बर खतिवडा, दानबहादुर विस्वकर्मा, प्रकाश अधिकारी छन् भने सचिवहरूमा मोहम्मद इस्तियाक राई, दुर्गा शोव, परशुराम बस्नेत, प्रशान्त सिंह रहेका छन् । कोषाध्यक्ष विजय यादव रहेका छन् ।

के छ सहमतिमा ?
सहमतिको पहिलो नम्बरमा संघीयता र समाजवादको सिद्धान्तमा स्थापित फोरम र प्रगतिशील लोकतान्त्रिक शक्तिको रुपमा स्थापित नयाँ शक्तिबीच पार्टी एकीकरण गरेर समाजवादी पार्टी नेपाल स्थापना गरिएको उल्लेख गरिएको छ ।

एकताको आधारपत्रमा नेपालको राष्ट्रिय स्वाधीनता, लोकतन्त्र र सामाजिक न्यायका लागि भएका सबै जनआन्दोलन, जनयुद्ध, मधेस जनविद्रोह तथा पहिचान र अधिकारका लागि भएका आन्दोलनमा जीवन उत्सर्ग गर्ने सहिदहरुप्रति श्रद्धाञ्जलिअर्पण गर्दै वेपत्ता, घाइते र सहिद परिवारलगायत सबैप्रति उच्च सम्मान प्रकट गरिएको थियो ।

समाजवादी पार्टीको राजनीतिक कार्यदिशा संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै प्राप्त उपलब्धिलाई रक्षा र विकास गर्नु रहने समझदारी पत्रमा उल्लेख गरिएको छ । यस्तै एकीकृत पार्टीले फोरमले अबलम्बन गर्दै आएको संघीय समाजवाद र नयाँ शक्तिले अबलम्बन गर्दै आएको समुन्नत समाजवादको आधारमा समुन्नत संघीय समाजवादको सिद्धान्त अघि सारिएको छ । एकीकृत पार्टीले सैद्धान्तिक वैचारिक मान्यताको आधारमा राजनीतिक क्षेत्रमा जनताको सार्वभौमिकता, नागरिक स्वतन्त्रता, बहुलतायुक्त खुला समाज, वालिग मताधिकार, आवधिक निर्वाचन, विधिको शासन, प्रतिस्पर्धात्मक बहुदलीय व्यवस्थालगायतका मूल्य र मान्यताहरु आत्मसात गर्ने भएको छ ।

सहमतिपत्रमा नेपालका सबै अल्पसंख्यक, सीमान्तकृत तथा राष्ट्रिय समुदायहरु मधेसी , आदीबासी जनजाती, शिल्पि, खस, मुस्लिम, थारुलगायतको सवालहरु सम्बोधन गरिनुपर्नेमा पनि जोड दिइएको छ ।

यस्तै विद्यमान पिछडिएको उत्पाद सम्बन्धको अन्त्य गरी आर्थिक विकास र समृद्धिको ठोस कार्ययोजना लागू गरिने पनि सहमतिपत्रमा उल्लेख गरिएको छ । यस्तै दुई पार्टी संघीय राज्य बनाउन प्रतिवद्ध रहेको र त्यसका लागि संविधानसभाद्वारा गठीत उच्चस्तरीय राज्य पुनर्संरचना सुझाव आयोगको प्रतिवेदनको आधारमा संविधान संशोधन गरी ११ प्रदेशहरुको रचना गर्नुपर्नेमा जोड दिइएको छ । एकीकरणको घोषणासँगै फोरम र नयाँ शक्तिदुबै विधिवत रुपमा विघटन भएको छ ।

नयाँ पार्टी समाजवादी पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता गरिने छ । प्रतिनिधिसभामा फोरमका १६ सांसद छन् भने नयाँ शक्तिका एक सांसद छन्। जनयुद्धबाट उदाएका नेता बाबुरामा भट्टराई पछिल्लो पटक वैकल्पिक राजनीति गर्ने भन्दै माओवादीबाट अलग्गीएर नयाँ पार्टी खोलेका थिए । यादव मधेस आन्दोलनबाट उदाएका नेता हुन् । यादव नेतृत्वको फोरम अहिले सरकारमा पनि सहभागी छ । फोरम र नयाँ शक्ति एकता वार्ता यादव सरकारमा गएपछि अड्किएको थियो ।

नयाँ शक्तिले तत्काल सरकार छाड्नुपर्ने प्रस्ताव गरेको थियो भने फोरमले पार्टी एकतापछि यसबारे निर्णय गर्ने जवाफ दिएको थियो । यादवले संविधान संशोधनसहितका माग पूरा गर्न सरकारमा गएको बताउँदै आएका छन् । अब पार्टी एकीकरण भएपछि सरकारलाई अल्टिमेटम दिने र माग पूरा नभए सरकार छाड्ने सहमति भएको बताइएको छ । reportersnepal.com

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार