तोकियो प्रदेश १ को राजधानी

प्रदेशसभाको दुई तिहाई बहुमतले प्रदेश १ को राजधानी विराटनगर तोक्ने प्रस्ताव पारित गरेको छ । जारी हिउँदे अधिवेशनको सोमबार बसेको अन्तिम बैठकबाट प्रदेशको राजधानी टुंगो लागेको हो । नेकपाका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले प्रस्तुत गरेको विराटनगर राजधानी तोक्ने प्रस्ताव दुई तिहाई बहुमतले पारित भएको छ । प्रदेशसभामा कायम रहेका ९३ सांसदहरुमध्ये विराटनगर राजधानीको पक्षमा ८६ मत र प्रस्तावको विपक्षमा शून्य प्राप्त भएको हो ।

प्रदेशसभाका सात सांसदले राजधानी तोक्ने प्रस्तावमा मतदान गरेनन् । बैठकमा नेपाली कांग्रेसका तर्फबाट प्रतापप्रकाश हाङ्गामले मतदान गरेनन् । उनले विराटनगर राजधानी तोक्ने प्रस्तावको विपक्षमा उभिंदै बैठकबाटै बाहिरिए ।

कांग्रेसका सांसदहरु ज्योती सुब्बा र अगमलाल चौधरी, संघीय समाजवादी फोरमका सांसदहरु रामचन्द्र लिम्बू र राधा थापा तथा नेकपाका सांसद गणेश काम्बाङ अनुपस्थित रहे । मत विभाजनमा सहभागी हुन नपाउने व्यवस्थाका कारण सभामुख प्रदीपकुमार भण्डारी मतदान गर्नबाट बञ्चित रहे ।

नेकपाको तर्फबाट प्रस्तुत प्रदेशको राजधानी सम्बन्धी प्रस्तावमा विराटनगरलाई स्थायी राजधानी तोक्दै बृहत विराट क्षेत्र अन्तर्गतका विराटनगर, इटहरी र सुन्दरहरैंचा आसपासका क्षेत्रमा व्यवस्थापिका र कार्यपालिका राखिने थप व्यहोरा उल्लेख छ ।

प्रमुख विपक्षी दल नेपाली कांग्रेसका तर्फबाट विराटनगर मात्रै उल्लेख गरेर राजधानी तोक्न माग गरिएको प्रस्ताव भने प्रदेशसभा बैठकमै फिर्ता लिइएको थियो । कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले प्रदेश १ को इतिहास लेख्ने अवसरमा सामेल हुनका लागि आफ्नो दलको तर्फबाट प्रस्तुत प्रस्ताव फिर्ता लिएको घोषणा गरे ।

कार्कीले विराटनगरबाटै देशले राजनीतिक नेतृत्व गरेका कारण आफ्नो दलले विराटनगरलाई राजधानी घोषणा गर्न एकसूत्रीय प्रस्ताव दर्ता गरेको बताए । उनले सबै दलबीच एउटै आवाज भएका कारण प्रस्ताव फिर्ता लिएको घोषणा गरे । कांग्रेसले कार्यपालिका र व्यवस्थापिका एकै ठाउँमा हुनुपर्ने र जनतालाई सुविधा दिने गरी प्रदेशका संरचना बन्नु पर्ने बिषयमा स्पष्ट रहेको पनि बताए ।

संविधानको धारा २८८ को उपधारा (२) तथा प्रदेशसभा नियमावली (पहिलो संशोधन) २०७५ को नियम ५८ (क) ३ अनुसार ‘राजधानी तोकियोस्’ भन्ने प्रस्ताव पेश गर्न अनुमति माग्ने प्रस्तावलाई प्रदेशसभाको बहुमतले पारित गरेको थियो ।

उक्त प्रस्ताव माथिको छलफलका क्रममा बोल्दै संघीय समाजवादी फोरम संसदीय दलका नेता जयराम यादवले आफू प्रतिपक्षबाट ल्याइएको प्रस्तावको समर्थक रहेपनि सवै दलबीचको बौद्धिक छलफलले एउटै प्रस्तावमा छलफल गरी पारित गर्ने वातावरण बनेको बताए । उनले कार्यपालिका र व्यवस्थापिका एकै ठाउँ हुनुपर्ने अडान भने कायमै रहेको जानकारी दिए ।

संशोधनको नियम निलम्बन

प्रदेशसभाका पाँचवटै दलहरुबीचको सहमतिपछि छोटो बाटोबाट राजधानी तोक्ने प्रक्रियाको खोजीमा लागेका दलहरुले प्रदेशसभा नियमावली (पहिलो संशोधन) २०७५ को नियम ५८ (क) को १० देखि १६ सम्मका बुँदाहरु निलम्बन गरेका छन् ।

नेकपाका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले नियम निलम्बन गरियोस् भनि प्रस्तुत गरेको प्रस्तावमा संघीय समाजवादी फोरमका नेता जयराम यादवले समर्थन जनाए हुन् ।

प्रस्तावमा उल्लेखित ‘विराटनगरलाई राजधानी तोकियोस्’ भन्ने प्रस्तावमा मत विभाजनका लागि पक्ष र विपक्षमा राखिएको क्रम संख्या सहितको नामावली मध्ये सांसदले पक्षमा रहने सांसदलाई सभामुखको दाहिने लबी र विपक्षमा हुने सांसदलाई देब्रे लबीमा हस्ताक्षर गर्न सभामुख प्रदीपकुमार भण्डारीले आग्रह गरे ।

झण्डै २० मिनेटसम्म चलेको मत विभाजनबाट प्राप्त परिणाम सुनाउँदै सभामुख भण्डारीले विराटनगरलाई राजधानी तोकियोस् भन्ने प्रस्तावले दुई तिहाई बहुमत प्राप्त गरेको घोषणा गरे ।

राजधानी माग गर्दै प्रदेशसभामा दर्ता भएका चारवटा प्रस्तावमध्ये धनकुटा राजधानी तोक्न माग गरिएका दुईवटा प्रस्ताव संसद बैठक सुरु हुनु अगावै प्रस्तावक सांसदहरुले फिर्ता लिएका थिए । धनकुटा माग गर्दै नेकपाका सांसद निरन राई र नेपाली कांग्रेसकी सांसद लीला सुब्बाले अलग अलग प्रस्ताव दर्ता गरेका थिए ।

हिउँदे अधिवेशन अन्त्य

प्रदेश १ को जारी हिउँदे अधिवेशन अन्त्य भएको छ । प्रदेश प्रमुख प्राडा गोविन्द तुम्बाहाङले संविधानको धारा १८३ को उपधारा २ बमोजिम चालु अधिवेशन अन्त्य गरेको सम्बन्धी प्रस्ताव सभामुख प्रदीपकुमार भण्डारीले पढेर सुनाएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार