काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय जागरण अभियानकाका लागि केन्द्रीय पदाधिकारीहरुको जिम्मेवारी बाँडफाँड गरेको छ ।
बैशाख २५ देखि हिमाल, पहाड, तराई मधेश राष्ट्रिय जागरण अभियान शुरु गर्न लागेको कांग्रेसले आज सानेपामा पत्रकार सम्मेलन गर्दै सात वटै प्रदेशमा केन्द्रीय पदाधिकारीहरुले कमाण्ड गर्ने जानकारी दिए ।
जस अनुसार सभापति शेरबहादुर देउवा प्रदेश ३ को काठमाडौंमा र वरिष्ठ नेता रामचन्द्र पौडेल प्रदेश २ को धनुषामा कमाण्ड गर्नेछन् ।
यस्तै प्रदेश १ को सुनसरीमा उपसभापति विजय गच्छदार, गण्डकीको पोखरामा महामन्त्री पूर्णबहादुर खड्का, प्रदेश ५ को रुपेन्देहीमा महामन्त्री डा. शंशाक कोइराला, कर्णालीको सुर्खेतमा कोषाध्यक्ष सीतादेवी यादव र सुदुरपश्चिमको कैलालीमा उपसभापति विमलेन्द्र निधिले कमाण्ड गर्ने पनि शर्माले जानकारी दिए ।
७७ वटै जिल्लामा एकैसाथ उद्घाटन हुने अभियान विदेशका ३३ स्थानमा समेत हुने जनाइएको छ । १२ भाषामा जागरण गीत समेत सार्वजनिक गरिएको छ ।
अभियानका क्रममा नेताहरुले स्थानीय जनताका गुनासा र सुझाव समेत सुन्नुपर्ने छ ।
तीन चरणमा हुने अभियानले पार्टीमा उर्जा आउने र जनता माझ पार्टी उभ्याउन सहयोग हुने विश्वास कांग्रेसको छ ।imagekhabar.com