नीति तथा कार्यक्रमको यसरी बचाउ गरे दाहालले

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले आगामी आर्थिक वर्षका लागि सरकारले पेश गरेको नीति तथा कार्यक्रमको खुलेर समर्थन गरेका छन् ।
प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि टिप्पणी गर्दै उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’ नारा साकार पार्ने उद्देश्यबाट नीति तथा कार्यक्रम आएको जिकिर गरे । उनले नीति तथा कार्यक्रम कार्यान्वयनमा उत्तिकै ध्यान दिन जरुरी रहेको बताए ।
संघीयता कार्यान्वयनमा जटिलता, कर्मचारी समायोजनमा जटिलता, कार्यशैलीमा जटिलता देखिएको जिकिर गर्दै उनले सरकारले विगत एक वर्षमा यस्ता धेरै जटिलताको सामना गरेको आफूले नजिकबाट देखेको बताए । नीति तथा कार्यक्रममाथि छलफलका क्रममा प्रतिपक्षीले भनेको कुरालाई सकारात्मक रुपमा लिएर सत्ता पक्षले कार्यान्वयन पक्षमा इमानदारीपूर्वक जान जरुरी छ ।
संसदमा नीति तथा कार्यक्रममाथि छलफलका क्रममा सत्ता पक्षले बचाउ गर्ने र प्रतिपक्षले विरोध गर्ने परम्परागत राजनीतिक शैली रहेको उनको भनाइ थियो । सत्ता पक्षले राम्रै कुरा गरे पनि, राम्रै नीति ल्याए पनि विपक्षीले विरोध गर्नुपर्ने बाध्यताजस्तो, प्रतिपक्षीले राम्रै सुझाव दिए पनि सत्ता पक्षले त्यसलाई अस्वीकार गर्नैपर्ने बाध्यताजस्तो परम्परागत शैलीबाट माथि उठ्न जरुरी रहेको उनले औंल्याए ।
नेपालमा राणाशाहीविरुद्धको आन्दोलनको बेलादेखि नै राजनीतिक परिवर्तन हुँदै आएको जिकिर गर्दै ती आन्दोलनले नयाँ परिस्थिति सिर्जना गर्दै ल्याएको स्मरण गराए । २०६२/०६३ को जनआन्दोलनले ल्याएको परिवर्तन भने गुणात्मक रहेको उनको भनाइ थियो । ‘त्यसअघिका परिवर्तन मात्रात्मक थिए,’ उनले भने, ‘२०६२/०६३ को जनआन्दोलनलले गुणात्मक परिवर्तन ल्याएको छ ।’ अबका बहस अगाडि बढाउँदै लैजाँदा ऐतिहासिक परिवर्तनको सार तत्वलाई गहिरो गरी ध्यान दिन जरुरी रहेको उनले बताए ।
उनले संविधान निर्माण भएर संघीयताको अभ्यास सुरु भए पनि धेरै काम गर्न अझै बाँकी रहेको बताए । ती काम पुरा गर्न सत्ता पक्ष र प्रतिपक्षबीच सहकार्यको खाँचो रहेको उनको भनाइ थियो ।
‘नेपाल सरकारलाई एक वर्षमा उसले समृद्धि र सुखी नेपालीको आकांक्षा सम्बोधन गर्न गरेको प्रयासका निम्ति म धन्यवाद दिन चाहन्छु,’ उनले भने । विकासले गति नलिएसम्म मुलुकमा स्थायी शान्ति र स्थिरता नहुने उनले बताए ।
कृषिमा विकास नगरी देशको विकास हुन नसक्ने उनले प्रष्ट पारे । झण्डै ६५ प्रतिशत जनता अहिले पनि कृषिमै आधारित रहेको जिकिर गर्दै उनले कृषिमा सुधार, आनुनिकीकरण, यान्त्रिकीकरण गर्ने नीनि नबनाएसम्म समृद्ध नेपाल सुखी नेपालीको सपना साकार पार्न नसकिने बताए । वैज्ञानिक भूमिसुधार लगायत नीति तथा
कार्यक्रममा ल्याएका विषय यस दिशामा महत्वपूर्ण रहेको उनको भनाइ थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार