काङ्ग्रेस सोलुखुम्बुको खनिज तथा उर्जा विभागले जलविद्युत आयोजनामा देखायो चासो

सोलुखुम्बु । नेपाली कांग्रेस खनिज तथा उर्जा विभाग सोलुखुम्बुले सोलुखुम्बुमा बन्दै गरेका तथा बन्न लागेका जलविद्युत आयोजनामा चासो देखाएको छ ।

सदरमुकाम सल्लेरीमा पत्रकार सम्मेलन गर्दै नेपाली कांग्रेस खनिज तथा उर्जा विभाग सोलुखुम्बुका संयोजक भोजराज कार्कीले सोलुखुम्बु जिल्लाभित्र निर्माणको क्रममा रहेका र भविष्यमा निर्माण हुन लागेका जलविद्युत आयोजनाहरुले पार्ने र पारेका प्रभावका बारेमा आएका जनगुनासालाई ध्यानमा राखी सबै सरोकारवालाहरुका बीच छलफल आवश्यक रहेको बताउनुभयो ।

संयोजक कार्कीद्वारा जारी विज्ञप्तीमा नीजि सम्पत्ति प्रयोग बापतको मुअब्जा÷क्षतिपूर्ति र प्राकृतिक स्रोत साधनमाथि स्थानीयको अधिकार स्थापना, स्थानीयहरुको दीर्घकालिन रोजगारी, प्रभावितहरुले पाउनुपर्ने संस्थापक शेयर, पुर्नबास, पुनःस्थापना र पुर्ननिर्माण, आयोजनाभित्रको ट्रेड यूनियन अधिकार स्थापना, आधिकारिक सरोकार समाजको गठन गरी सामाजिक उत्तरदायित्वको रकम खर्च, निर्माणाधिन आयोजनाहरुबाट उत्पादित विद्युत प्रभावित स्थानीयलाई निःशुल्क विद्युतीकरण गर्ने सम्बन्धमा आगामी आषाढ दोस्रो हप्तासम्ममा सरोकारवालाहरु बीच छलफलको आयोजना गर्ने जनाइएको छ ।

सो अवसरमा थुलुङदुधकोशी गाउँपालिकामा बन्न लागेको २३० मेगावाट क्षमताको जलविद्युत आयोजना अन्य आयोजनाबाट विस्थापन भयो भन्ने सुनिएकाले त्यसको अवस्थाका बारेमा कम्पनीले यथार्थ सार्वजनिक गर्नुपर्ने संयोजक कार्कीले माग गर्नुभयो ।

त्यस्तै, निर्माणाधिन ८२ मेगावाटको तल्लो सोलुखोला जलविद्युत आयोजनाको प्रभावित क्षेत्रभित्र साविक नेले गाविसलाई तत्काल समावेश गर्न सम्बन्धित कम्पनीको ध्यानाकर्षण गराएको छ । हाल निर्माणाधिन आयोजनाका बारेमा स्थानीय प्रभावित र अतिप्रभावित क्षेत्रका जनताको गुनासोलाई तत्काल समाधानका लागि स्थानीय प्रशासनको ध्यानाकर्षण गराउँदै स्थानीय प्रभावितहरु र आयोजनासँग तत्काल छलफल गर्ने विभागले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार