वडा अध्यक्षको आफ्नै पहलमा घरघरमा खानेपानी


सन्तोष राउत/सोलुखुम्बु । सरकारको मुख नताकी सोलुखुम्बुको एउटा वडामा वडा अध्यक्षको आफ्नै एकल प्रयासमा घरघरमा खानेपानी पुगेको छ । जिल्लाको सोलुदूधकुण्ड नगरपालिका–१ टाक्सिन्दुको फुलेलीका ९० घरमा वडा अध्यक्ष छोङ्बा लामाले सरकारी लगानी विनानै स्वच्छ खानेपानीको प्रभावकारी व्यवस्था गर्नुभएको छ ।

वडा कार्यालयको समन्वयमा सोलुुखुम्बुमा विगत लामो समयदेखि शिक्षा, स्थास्थ्य तथा ग्रामिण विकासका क्षेत्रमा काम गर्दै आएको मोनभिजो नेपाल फउण्डेसनको ४५ लाख रुपियाँको लागतमा खानेपानीको निर्माण भएको वडा अध्यक्ष छोङ्बा लामाले जानकारी दिनुभयो । उहाँकाअनुसार विद्यालय, सामाजिक संस्था र स्थानीयको घरमा गरी ९५ वटा धारा निर्माण गरिएको छ ।

वनिर्मित खानेपानीको धाराबाट पानी पिएर उद्घाटन गर्दै नगरप्रमुख नाम्गेलजाङ्बु शेर्पाले सरकारको मात्र मुख नताकी आफ्नै पहलमा गाउँको विकास गर्नु प्रशंसनीय काम भएको भन्दै नगरको विकासमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । प्रमुख शेर्पाले अन्य विकास निर्माण तथा जनताको हितका काममा अझै थप सहकार्य गर्न फाउण्डेसनलाई आग्रह गर्नुभयो । पानीको राम्रो व्यवस्था भएकाले आगामी वर्षको बजेटमा कृषिका योजनालाई प्राथमिकता दिने उहाँको भनाइ छ ।

स्वच्छ खानेपानीको व्यवस्था भएपछि स्थानीय खुशी भएका छन् । स्थानीय उपभोक्ता चतुरमान खालिङले भन्नुभयो, खानेपानीको निर्माणसँगै अव्यवस्थित पानीको प्रयोग गर्नुपर्ने अवस्थाको अन्त्य भएको छ, आफूले चुनेको जनप्रतिनिधिले गरेको गाउँको विकासबाट सन्तुष्ट छौँ । यसअघि फुलेलीबासीले खोलाबाट बोकेर खानेपानीको प्रयोग गर्दै आएका थिए ।

नवनिर्मित खानेपानीको दिगो व्यवस्थापनका लागि एक लाख रुपियाँको अक्षय कोषको स्थापना गरिएको छ । फाउण्डेसनका कोषाध्यक्ष लाक्पातेम्बा शेर्पा र प्याराग्लाइडिङका राष्ट्रिय खेलाडी तेम्बा लामाले अक्षय कोषका लागि रकम सहयोग गर्नुभएको वडा सदस्य उत्रमान राईले जानकारी दिनुभयोे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार