काङ्ग्रेस सोलुखुम्बुले थाल्यो जागरण अभियान, एक पक्ष अनुपस्थित

सोलुखुम्बु । नेपाली कांग्रेसले बुधबार मुलुकभर एकसाथ ‘हिमाल, पहाड, तराई मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’ शुरु गरेसँगै सोलुखुम्बुमा पनि शुरु भएको छ । सोलुखुम्बुका लागि खटिनुभएकी प्रतिनिधि तथा नेपाली काँग्रसकी नेतृ कुमारीलक्ष्मी राईको प्रमुख अतिथ्यतामा शुरु भएको अभियान जिल्ला, क्षेत्र, गाउँ÷नगर, वडा र टोलसम्म विस्तारित हुने छ । जागरण अभियान २०७६ सालभर तीन चरणमा सम्पन्न हुनेछ ।


कार्यक्रलाई सम्बोधन गर्दै नेपाली काँग्रसकी नेतृ कुमारीलक्ष्मी राईले पार्टीलाई एक ढिक्का बनाएर अघि बढ्नुपर्ने बताउनुभयो । सोलुखुम्बुको विवाद मिलाउन पार्टीभित्रकै तेस्रो पक्षले मध्यस्थकर्ताको भूमिका निर्वाह गर्नुपर्ने भन्दै मिलेर अघि बढ्नुको विकल्प नभएको धारणा राख्नुभयो ।

सगरमाथाको फेदीबाट नेपाली काँग्रेसको राजनीतिमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहनुभएका पुराना काँग्रेस नेता आङछिरिङ शेर्पाको सदस्यता नविकरण गर्दै अभियानको शुभारम्भ गरिएको छ । कार्यक्रममा काँग्रेस नेता प्रकाश सिं कार्कीलगायतले पार्टी मिलाएर अघि बढ्न नेताहरुलाई सुझाव दिनुभयो । कार्यक्रममा आङगेलु पक्षका नेता कार्यकर्ताको उपस्थिती नरहेपछि कार्यकर्तामा अन्योल देखिएको थियो ।

तीन चरणमा हुने अभियानको प्रथम चरण यही वैशाख २५ गते प्रारम्भ भई आगामी जेठ २५ गते समापन हुने सभापति विनोदकुमार बस्नेतले बताउनुभयो । त्यस्तै, दोस्रो चरण भदौ २४ गते (वीपी जयन्ती) का दिन प्रारम्भ भई असोज ७ गते समापन हुने छ भने तेस्रो चरण पुस ७ गते प्रारम्भ भई पुस १६ गते (मेलमिलाप दिवस) मा समापन हुने उहाँको भनाइ छ ।

प्रथम चरण ७७ जिल्लामा, दोस्रो चरण ३३० प्रदेश निर्वाचन क्षेत्रमा र तेस्रो चरण ७५३ स्थानीय तहमा हुने कार्यक्रमको तालिका छ । अभियानले पार्टीको महासमिति बैठकबाट पारित नीति, कार्यक्रम र संशोधित विधानबारे पार्टीको स्थानीय तहसम्म सुसूचित गर्ने, पार्टीमा एकता तथा सुदृढीकरणका गतिविधि अघि बढाउने र कांग्रेसको नेतृत्वमा मुलुकले हासिल गरेका राजनैतिक उपलब्धि एवं समृद्धिको सम्प्रेषण गर्नेलगायत उद्देश्य राखेको छ ।

जागरण अभियान अन्तर्गत अभियानको उद्देश्य सम्प्रेषण गर्ने, सदस्यता वितरण गर्ने, प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने, पार्टीको अभिलेख सङ्कलन कार्यक्रमलाई तीव्रता दिने र सङ्घर्षकालका ऐतिहासिक घटनास्थलमा पुगेर ‘श्रद्धा र प्रेरणा’ कार्यक्रम गरिनेछन् ।

त्यस्तै पार्टीका पुराना अग्रजलाई सम्मान गर्ने, स्वास्थ्य स्थिति, घरायसीस्थिति बुझ्नाका साथै पार्टीका लागि आवश्यक सल्लाह र सुझाव ग्रहण गर्ने, शहीदका घरपरिवार भेट्ने, श्रद्धा प्रकट गर्ने तथा मुलुक र पार्टीका लागि सुझावसमेत लिइने बताइएको छ । सो अवसरमा पार्टीबाट उम्मेदवार भई स्थानीय तहमा विजयी भएकाहरुसँग पार्टीको चुनावी घोषणापत्र र नागरिकको अपेक्षा अनुरूपका काम के–कस्तो रुपमा भएका छन् भन्ने सम्बन्धमा समेत समीक्षा कार्यक्रम गरिने बताइएको छ ।

परिमार्जित विधानमा उल्लेख भएबमोजिम पार्टीका तर्फबाट विभिन्न तहमा विजयी या उम्मेदवार र पार्टीको सम्बन्धित तहको कार्यसमितिबीच मासिक नियमित बैठकको प्रारम्भका लागि प्रथम बैठक आयोजना गरिनेछ ।

अभियानअन्तर्गत कार्यक्रममा आसनग्रहणमा परम्परागत शैलीको अन्त्य, स्वागत र विसर्जनबाहेक तीन वक्ता मात्र रहने भनिए पनि सोलुखुम्बुमा भने धेरै वक्ताले बोलेका छन् । कार्यक्रमको मूल ब्यानर र प्रचार सामग्री देशव्यापी रुपमा सबै तहमा एउटै छ । यस अभियानमा ब्याज वितरण र धेरै तौलको मालाले स्वागत गर्ने परम्पराको अन्त्य भएको छ ।

अभियानका लागि मैथिली, मगर, नेवारी, तामाङ, गुरुङ, भोजपुरी, राई, लिम्बू, थारू, राजवंशी, देउडा भाका र नेपाली गरी १२ भाषामा पार्टीको जागरण गीतको व्यवस्था गरेको अवगत गरिएको छ । पार्टीको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले अभियानलाई थप प्रभावकारी बनाउन प्रशिक्षण कार्यक्रम गर्ने तयारी गरेको छ ।

त्यस्तै पार्टीको केन्द्रीय अनुशासन समितिले अभियानलाई अनुशासित र व्यवस्थित बनाउन ‘डेमोक्र्याटिक लयर्स एशोसियसन’को राष्ट्रव्यापी संरचनालाई पर्यवेक्षण अभिभारा सुम्पेको कांग्रेसले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार