सन्तोष राउत/सोलुखुम्बु । नेपाल तथा विश्वका विभिन्न देशबाट सर्वोच्च शिखर सगरमाथालगायत विभिन्न हिमाल आरोहण गर्नका लागि आएका टोलीहरु सगरमाथाको आधारशिविरमा प्रवेश गर्न थालेपछि आधारशिविर खचखच भएको छ । यस बर्ष विभिन्न देसका विदेसी तथा स्वदेसी ५५६ जना आरोहीहरु सगरमाथालगायतका हिमाल आरोहण गर्नका लागि आधारशिविरमा भेला भएका हुन् ।
पर्यटन विभागबाट हालसम्म अनुमति लिएकामध्ये सगरमाथा आरोहणका लागि विदेसी ३५ समुहबाट ३६५ जना । स्वदेसी ६ समूहबाट १३ जना गरी ४१ समूहका ३७८ जना आरोही जनाले सरकारबाट अनुमति लिएर आधारशिविर प्रवेश गरेका छन् । अघिल्लो वर्ष ३४ समूहका ३२६ जना आरोही थिए ।
त्यस्तै, ल्होत्से हिमालको आरोहणका लागि यस वर्ष १० समूहका ९२ जना, नुप्त्से हिमालका लागि तीन समूहका ३७ जना र आमाडब्लमका लागि पाँच समूहका ४९ जना आरोही सहयोगीका सहित पर्यटन विभागबाट अनुमति लिएर आधार शिविरतर्फ लागेको विभागका सूचना अधिकारी सुरेन्द्र थापाले जानकारी दिनुभयो ।
सगरमाथा आरोहणमा आकर्षण बढेसँगै आधारशिविरमा घुँईचो भएको हो । लगातार दुईवर्षसम्म प्राकृतिक विपत्तिका कारण अवरुद्ध हुँदा आरोहण गर्न नपाएकाहरु अघिल्लो बर्षबाट आरोहणका लागि आधारशिविर आएका छन् । अधिकांश आरोहीहरु आधारशिबिरबाट क्याम्प एक, दुई, तीन हुँदै चारसम्म जान थालेका छन् भने केही आरोहीहरु पनि आधारशिबिरमै तयारीमा जुटिरहेका छन् ।
सगरमाथालगायत सोलुखुम्बुका हिमालहरु आरोहणका लागि सगरमाथा प्रदुषण नियन्त्रण समितिबाट प्रवेशाज्ञा लिएर मात्र जानु पर्दछ । सबै आरोहीहरुले एउटै आधारशिविर प्रयोग गर्नाले पनि आधारशिविरमा आरोही तथा उनीहरुका आरोहण सहयोगी सहित करिब एक हजार भन्दा बढी भएको एसपीसीसीले जनाएको छ । हाल आधारशिबिरमा आरोही तथा आरोहण दलका सहयोगी एक्सपिडिसनका गाईडहरु, सहयागीहरु रहेका छन् ।
सगरमाथाको आधारशिविरमा खाद्यान्न तथा दैनिक प्रयोगका सामग्रीहरु ओसारपसार गर्ने, बाहिर घुमफिर गर्ने तथा आरोहण दलका क्लाईमिङ गाइड तथा अन्य कर्मचारीका कारण यत्तिबेला सगरमाथा आधारशिविर आरोहीहरुको बजार जस्तै देखिन थालेको उहाँले बताउनुभयोे । आधार शिविरभरी पाल टाँगेर बसेका आरोही दलहरुले सगरमाथाको आधारशिविर भरिदैँ गएको छ ।
आधारशिविरमा ‘स्प्रिङ सिजन’ को बिशेष रौनक देखिएको बताइएको छ । बर्षको दुईपटक आरोहणका लागि खुल्ला गरिए पनि हिमाल आरोहीहरुले सगरमाथा आरोहणका लागि बसन्त ऋतुलाईनै बढी रोज्ने गरेको पाइएको छ ।