गोक्यो तालमा बेपत्ता बालक खोज्न विदेशी टोली


सोलुखुम्बु । गत साउनमा सोलुखुम्बुको गोक्यो हिमतालमा बेपत्ता भएका दुई बालकको खोजी गर्न विदेसी सहितको टोली त्यसतर्फ प्रस्थान गरेको छ । तालमा बेपत्ता भएको करिब १० महिनापछि दुई बालकको खोजी गर्न विदेशी विशेषज्ञ सहित सशस्त्र प्रहरीको गोताखोरको संयुक्त टोली गोक्यो ताल प्रस्थान गरेको हो ।

अमेरिकाको क्यालिफोर्नियाबाट आएका जेर्मी कर्मिकन, केइथ कर्मिकन र केन ग्रेइसी, सशस्त्र प्रहरी बलका निरीक्षक पुरुषोत्तम भण्डारी, पथप्रदर्शक देण्डी शेर्पा अत्याधुनिक उपकरण सहित गोक्यो प्रस्थान गरेको टोलीका सदस्य पत्रकार विक्रम श्रेष्ठले जानकारी दिनुभयो ।

हिमतालमा डुबेका बच्चाको खोजीका लागि शुक्रबार रोबर्ट, जेनेरेटर, ड्राइ सुटलगायत सामग्रीहरु हेलिकोप्टर मार्फत गोक्यो हिमताल पु¥याइएको छ भने टोली रामेछापबाट तेन्जिङ हिलारी बिमानस्थल लुक्ला हुँदै त्यसतर्फ प्रस्थान गरेको पत्रकार श्रेष्ठले बताउनुभयो । टोली मङ्गलबार मात्र गोक्यो ताल पुग्नेछ । फाक्दिङ, नाम्चे, दोले हुँदै गोक्यो ताल पुगेर खोजी शुरु गर्ने कार्यतालिका छ ।

खोजी कार्यमा थप बल पुगोस् भनेर विदेशी टोलीसँग सशस्त्र प्रहरी बलको टोली सम्मिलित गराएर समन्वयकारी भूमिका यूवा सञ्चार उद्यमी आङकाजी शेर्पाले गर्नुभएको हो । सोलुखुम्बुको खुम्बुपासाङल्हामू–४ स्थित खुम्जुङ माध्यमिक विद्यालयबाट शैक्षिक भ्रमणमा गएका बालबालिका मध्ये तीन जना पौडी खेल्ने क्रममा गोक्यो तालमा २०७५ साउन १९ गते बेपत्ता भएका थिए । वेपत्ता भएका पेम्बादोर्जी शेर्पा, सुनिल बराइली र पेम्बानुरु शेर्पा मध्ये पेम्बानुरु शेर्पाको शव सशस्त्र प्रहरीको गोताखेरले त्यस समयमानै फेला पारेको थियो ।

त्यसबेला गोताखोर, नेपाली सेना र नेपाल प्रहरीले लामो समय खोजी गर्दा समेत अन्य दुई जनाको शव नभेटिएपछि अत्याधुनिक ‘सबमरिन ड्रोन’ को प्रयोग गरिएको थियो । तर शब फेला पर्न सकेको थिएन ।

गोक्यो हिमताल समुन्द्री सतहबाट ४ हजार ७ सय ५० मिटरको उचाईमा छ । हाइ अल्टीच्युटमा रहेको हिमताल भएका कारण यहाँको तापक्रम सँधै माइनस २ डिग्री सेल्सियस भन्दा कम हुन्छ । तालको विस्तृत अध्ययन गुर्नभएका हिमालयन रिसर्चका अध्यक्ष डा. धनञ्जय रेग्मीले तालको गहिराइ केन्द्र भागमा ४८ मिटरसम्म रहेको बताउनुभयो ।

उहाँकाअनुसार तालको बाहिरी भागमा ढुङ्गा भएपनि अधिकांश भागमा बालुवा मिसिएको लेदोयुक्त हिलो छ । कम तापक्रम भएको हिमतालमा पस्दा हाइपर थर्मिया भएर शरिरका अङ्गहरु मुटु, मष्तिस्कलगायतले काम नगर्ने भएकाले खोजी कार्यमा जोखिम हुने डा. रेग्मीको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार