गोक्यो तालमा बेपत्ता बालकको शव भेटियो


सन्तोष राउत/सोलुखुम्बु। गत साउनमा सोलुखुम्बुको गोक्यो हिमतालमा बेपत्ता भएका दुई बालकको खोजी गर्न गएको विदेसी सहितको टोलीले एक जनाको शव फेला पारेको छ ।

तालमा बेपत्ता भएको करिब १० महिनापछि दुई बालकको शब खोजी गर्न गएको विदेशी विशेषज्ञ र सशस्त्र प्रहरीको गोताखोरको संयुक्त टोलीले बुधबारबाट खोजी थालेर दोस्रो दिन सुनिल बराइलीको शब फेला पारेको हो ।

अमेरिकाको क्यालिफोर्नियाबाट आएका जेर्मी कर्मिकन, केइथ कर्मिकन र केन ग्रेइसी, सशस्त्र प्रहरी बलका निरीक्षक पुरुषोत्तम भण्डारी र पथप्रदर्शक देण्डी शेर्पा सहतिको अत्याधुनिक उपकरण सहितको टोलीको लगातारको प्रयासपछि बिहीबार रोबर्टको सहयताले शब पत्ता लागेको टोलीका सदस्य पत्रकार विक्रम श्रेष्ठले जानकारी दिनुभयो ।

गोक्योमा दुई दिन अघि मात्र परेको सेताम्मे हिउँ, तालको अति चिसो पानी, हावाको स्याँठीका बावजुद कठिन परिस्थीतिमा खोजकर्ताहरुले अमेरिकाबाट ल्याएको प्रविधि जडान गरेर पहिलो दिन सफलता पाउन नसके पनि दोस्रो दिन सफल भएको उहाँले बताउनुभयो ।

तालको करिब ३५ फिट गहिराईमा पुगेर रोबर्टले बराइलीको शब पहिचान गर्यो र निरन्तरको प्रयासपछि टोली शब निकाल्न सफल भयो –पत्रकार श्रेष्ठले भन्नुभयो । लाखौँ रुपियाँ खर्च गरेर शब खोजीकै लागि आएको टोलीले एक जनाको शब भेटेपछि आफूहरु मिसनमा सफल भएको प्रतिक्रिया दिएको छ भने अर्को एक जनाको पनि शब भेट्ने विश्वास लिएको छ ।

गोक्यो हिमतालमा बेपत्ता बालकको शब पुनः खोजी गर्न लागेको बिषयमा इलाका प्रहरी कार्यालय नाम्चे र प्रहरी चौकी खुम्जुङलाई पहिले नै जानकारी गराएपनि अहिले घटनास्थलमा प्रहरी नआएको टोलीले जनाएको छ । यता शब फेला परेको जानकारी पाएपछि प्रहरी चौकी खुम्जुङबाट प्रहरी टोली गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

हिमतालमा डुबेका बालकको खोजीका लागि रोबर्ट, जेनेरेटर, ड्राइ सुटलगायत सामग्रीहरु हेलिकोप्टर मार्फत गोक्यो हिमताल पु¥याइएको थियो भने टोली रामेछापबाट तेन्जिङ हिलारी विमानस्थल लुक्ला हुँदै त्यसतर्फ प्रस्थान गरेको थियो । मङ्गलबार गोक्यो पुगेको टोलीले बुधबार विहानबाट खोजी थालेको हो ।

सोलुखुम्बुको खुम्बुपासाङल्हामू–४ स्थित खुम्जुङ माध्यमिक विद्यालयबाट शैक्षिक भ्रमणमा गएका बालबालिका मध्ये तीन जना पौडी खेल्ने क्रममा गोक्यो तालमा २०७५ साउन १९ गते बेपत्ता भएका थिए । वेपत्ता भएका पेम्बादोर्जी शेर्पा, सुनिल बराइली र पेम्बानुरु शेर्पा मध्ये पेम्बानुरु शेर्पाको शव सशस्त्र प्रहरीको गोताखेरले त्यस समयमानै फेला पारेको थियो । अब पेम्बादोर्जी शेर्पाको शब भेट्न बाँकी छ ।

समुन्द्री सतहबाट चार हजार ७५० मिटरको उचाईको अल्टीच्युटमा रहेको हिमतालमा सँधै माइनस २ डिग्री सेल्सियस भन्दा कम तापक्रम हुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार