नेकपाभित्रको वैचारिक विवाद सार्वजनिकरुपमै छताछुल्ल

काठमाडौं । मुलुकका दुई ठूला कम्युनिस्ट पार्टी तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएर नेकपा गठन भएको एक वर्ष पूरा भएको छ ।

एकीकरणपछिको एक वर्ष सांगठनिक एकतामा केन्द्रित भएको नेकपाभित्र वैचारिक कार्यदिशाबारे पनि बहस हुन थालेको छ ।

सांगठनिक एकताको काम अन्तिम चरणमा पुगेपनि एकीकृत पार्टीभित्र वैचारिक मतभेद भने कायमै छ । मतभेद सार्वजनिकरुपमै प्रकटसमेत हुन थालेको छ ।

दुई पार्टी एकीकरण हुँदा तत्कालीन एमालेको ‘जनताको बहुदलीय जनवाद’ र माओवादीको ‘२१औं शताब्दीको जनवाद’ स्थगित गरी तत्कालका लागि ‘जनताको जनवाद’ वैचारिक कार्यदिशा बनाउने सहमति भएको थियो ।

वैचारिक कार्यदिशाबारे एकता महाधिवेशनले टुंगो लगाउने सहमति दुई पार्टीबीच भएको थियो । यद्यपि, पार्टी एकताकै प्रक्रियामा पनि जनताको जनवादबारे पार्टीभित्र असन्तुष्टि थियो ।

एकतापछिको यो एक वर्षमा वैचारिक कार्यदिशाको विषयले खासै महत्व नपाएपनि शीर्ष नेताहरु अहिले एकाएक बहसमा उत्रिएका छन् ।

बुधबार पार्टीको भ्रातृसंगठन युवा संघ नेपालको स्थापना दिवस समारोहमा पार्टीका शीर्ष नेताहरुबीच वैचारिक कार्यदिशाबारे बहसमात्र भएन, घोचपेच नै चलेपछि पार्टीभित्रको वैचारिक विवाद सार्वजनिकरुपमै छताछुल्ल भएको छ ।

उपप्रधानमन्त्रीसमेत रहेका नेकपा सचिवालय सदस्य ईश्वर पोखरेलले पार्टीभित्र अहिले प्रस्ट राजनीतिक र वैचारिक कार्यदिशा नभएको भन्दै तत्काल पार्टीले वैचारिक कार्यदिशा स्पस्ट पार्नुपर्ने धारणा राखे ।

तत्कालीन एमालेका महासचिवसमेत रहेका पोखरेल जनताको बहुदलीय जनवाद नै नेकपाको पनि मार्गदर्शन सिद्धान्त हुनुपर्ने अडान राख्दै आएका थिए ।

वैचारिक कार्यदिशाबारे आक्रामकरुपले प्रस्तुत् भएका पोखरेलले वैचारिक कार्यदिशा स्पस्ट नभए कम्युनिस्ट पार्टी तासको महलजस्तै ढल्ने चेतावनी दिए ।

सचिवालय सदस्य पोखरेलको अभिव्यक्तिले आक्रोशित भएका नेकपा अध्यक्ष पुष्पकमल दाहालले विचारको शुद्धताका नाममा समयको गति नबुझ्नेहरु समाप्त हुने चेतावनी दिए । उनले पुराना विचार दाहोर्‍याएर कम्युनिस्ट पार्टी बन्न नसक्ने जिकिर गरे ।

दुई पार्टीबीच एकता भएको एक वर्षपछि शीर्ष नेताहरु सार्वजनिकरुपमै वैचारिक बहसमा उत्रिएका हुन् । हुन त नेकपामा अहिलेसम्म एकताको आधार समेटिएको राजनीतिक दस्तावेज आउन सकेको छैन ।

राजनीतिक वृत्तमा नेकपाभित्रको वैचारिक बहस आगामी महाधिवेशनमा आफ्नो स्थान सुरक्षित गर्ने दाउकारुपमा अर्थ लगाइएको छ भने अर्कोतिर नेकपाको वैचारिक कार्यदिशा जनताको बहुदलीय जनवाद नै बनाउने पूर्वएमालेको रणनीतिकारुपमासमेत अर्थ लगाउन थालिएको छ ।

त्यसो त नेकपाभित्र वैचारिक विवादमात्र नभइ पार्टी सन्चालनको शैलीलाई लिएर पनि विवाद छ ।यो समसमाचा इमेजखबरबाट साभार गरिएको हो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार