काठमाडौं । पौष्टिकताले भरपुर भएपनि खान त्यति नरुचाइएका कतिपय खानेकुराको उपयोग हिजोआज विस्तारै बढ्न थालेको छ ।
स्वास्थ्यलाई फाइदा पुग्ने देखेपछि सिस्नोजस्ता वस्तु खोजीखोजी खान थालिएपनि अझै कतिपय यस्ता पौष्टिक खानेकुरा हाम्रो भान्साबाट टाढै छन् ।
पौष्टिक गुणको चर्चा नहुँदासम्म धेरैको भान्सामा सिस्नो पाक्ने गरेको थिएन । तर, यसमा पाइने पौष्टिकताका आधारमा विस्तारै यसले गुनिलो खानाको मान्यता पाउँदै गएको छ ।
विशेषगरी उच्च रक्तचाप, मधुमेहजस्ता रोग लागेकाहरुले खोजीखोजी खान थालेपछि स्वस्थ मानिसलाई पनि यसको पौष्टिक गुणले आकर्षित गरेको छ ।
पोषणविद् डा. जया प्रधान आइरन, फाइबर, भिटामिन तथा मिनरल्स प्रशस्त पाइने भएकाले सिस्नोले दीर्घरोग नियन्त्रण गर्ने बताउँछिन् ।
सिस्नोलगायतका पोषिला वस्तुहरु पनि विस्तारै खानाका परिकारमा समावेश हुँदै गएका छन् ।
दैनिकरुपमा कमै पाक्ने गिठा, भ्याकुर, तरुलजस्ता कन्दमुलले पनि शरीरलाई निकै लाभ गर्छ ।
यस्ता कन्दमुलमा फाइबर, क्यालोरी, पोटासियम, कार्बोहाइड्रेटलगायतका पौष्टिक तत्वहरु पाइने हुँदा खानामा समावेश गर्नु स्वास्थ्यका लागि लाभदायक हुने पोषणविद्को भनाइ छ ।
फाइबर प्रशस्त हुनाले यस्ता वस्तुको सेवनले पाचनप्रणालीमा सहयोग पुग्नुका साथै यसमा भएका मिनरल्सले शरीरको सन्तुलन कायम गर्न मद्दत पुर्याउँछ । तर, यस्ता परिकार बनाउनुअघि यसको गुणस्तरीयताबारे भने हेक्का राख्नु जरुरी हुन्छ ।
स्वस्थ्यकर भएपनि कन्दमुलहरु विशेष चाडपर्वमा बढी खाने चलन छ । तर, शरीरको वृद्धि विकासका लागि आवश्यक पोषणतत्व यस्ता कन्दमुलमा पाइने हुँदा दैनिक खानामा समावेश गरे फाइदा हुने डा. प्रधान बताउँछिन् ।
यस्ता खानामा पाइने मिनरल तथा एन्टिअक्सिडेन्टले शरीरको रोग प्रतिरोधात्मक क्षमताको विकास गर्नुका साथै विभिन्न रोग नियन्त्रणमा मद्दत गर्छ ।इमेजखबरबाट