जितेन्द्र भण्डारी/पाँचथर । पाँचथरको मिक्लाजुङ गाउँपालिका–३, आरुबोटे हत्याकाण्डका मृतकहरुको शव उठाउन थालिएको छ । मंगलबार काठमाडौंबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)को विशेष टोली आइपुगेपछि शव उठाउने कार्य सुरु भएको हो ।
अब पोस्टमार्टम
शवलाई पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाने तयारी गरिएको जनाइएको छ ।
अहिले मिक्लाजुङ–७, लुमाङ्दिनमा झुन्डिएको अवस्थामा भेटिएका ३१ वर्षीय मानबहादुर माखिमको शव ल्याएर मिक्लाजुङ गाउँपालिकाको केन्द्र रविमा राखिएको छ । आरुबोटे हत्याकाण्डका ९ ओटा शव पनि रविमा ल्याइँदैछ ।
ती शव पोस्टमार्टमका लागि धरान लैजाने तयारी भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक नरेन्द्र कुँवरले बताए ।
घटनास्थलमा पाँचथरका प्रमुख जिल्ला अधिकारी मुरारी वस्तीसहित अरु प्रहरीको टोली पनि पुगेको थियो ।
दुई परिवारका ९ जनाको हत्या
मिक्लाजुङ–३, आरुबोटेमा सोमबार राति ९ जनाको हत्या गरिएको थियो । मिक्लाजुङ ३, आरुबोटेको वडा कार्यालयछेउमा सो घटना भएको हो ।
स्थानीय धनराज सेर्माको पाँचजनाको परिवार र बमकुमार फियाकको परिवारका चारजनाको धारिलो हतियार प्रहार गरी हत्या भएको हो ।
धनराज र बमकुमार ज्वाइँ–ससुरा हुन् । उनीहरुको घर नजिकै रहेको छ ।
धनराजको परिवारका पाँचजनाको शव घरभित्रै र बमबहादुरको परिवारका चारजनाको शव घरभित्र तथा बाहिर विभत्स अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
हत्या गरिएकामा ४१ वर्षीय धनराज सेर्मा, ६ वर्षीया इक्सा सेर्मा, १३ वर्षीया योवना सेर्मा, ८ वर्षीया मुना सेर्मा र १२ वर्षीया आशिका खजुम लिम्बू छन् ।
यस्तै, फियाक परिवारका ७४ वर्षीय बमबहादुर फियाक, उनकी श्रीमती, ३६ वर्षीया जस्मिता फियाक र ३५ वर्षीया मनकुमारी फियाक छन् ।
भागेर बाँच्न सफल
१२ वर्षीया सीता खजुम भने भागेर बाँच्न सफल भएकी छन् । उनी घाइते छिन् । झापाको दमकस्थित लाइफलाइन अस्पतालमा उनको उपचार सुरु गरिएको जनाइएको छ ।
घाइते सीताले मुकुन्डो लगाएर आएको व्यक्तिले धारिलो हतियार प्रहार गरी सबैको हत्या गरेको बताएको प्रहरीले जनाएको छ ।
कान्छा ज्वाइँको संलग्नता आशंका
९ जनाको विभत्स हत्यामा मानबहादुर माखिमकै संलग्नता रहेको हुनसक्ने प्रारम्भिक निष्कर्ष प्रहरीले निकालेको छ । झुन्डिएको अवस्थामा मृत भेटिएका माखिम हत्या गरिएका बमकुमारका कान्छा ज्वाइँ र धनराजका साढुभाइ हुन् ।
माखिमको शव घटनास्थलबाट दुई घन्टाको पैदल दूरीमा रहेको मिक्लाजुङ–७, लिम्बा लुमाङ्दिनमा एक रुखमा झुन्डिएको अवस्थामा मंगलबार फेलापरेको थियो । उनको घर लुमाङ्दिनमा नै हो ।
माखिमको ससुरालीसँग राम्रो सम्बन्ध नभएको बताइएको छ । पछिल्लो समय श्रीमती मनकुमारी फियाकसित माखिमको सम्बन्ध राम्रो नभएपछि मनकुमारीले सम्बन्धविच्छेद गर्न चाहेकी थिइन् । उनी माइतीमा बस्दै आएकी थिइन् ।
रगत पोतिएको खुकुरी र कपडाहरु भेटिए
माखिमको शव फेलापरेको स्थाननजिकै मंगलबार रगत पोतिएको खुकुरी र रगतले लतपतिएको कपडाहरु भेटिएको छ । प्रहरीले थप अनुसन्धान जारी रहेको जनाएको छ ।
खाजामा सिसाको धुलो
यसअघि, यही जेठ ४ गते पनि आरुबोटेमा भएको एक तालिममा सहभागीहरुले खाएको खाजामा सिसाको धुलो मिसिएको भेटिएको थियो ।
सोमबार राति हत्या गरिएकी जस्मिता फियाकको घरमा भएको सो तालिममा सहभागीहरुमध्ये ८ जना बिरामी परेका थिए ।
खाजा बनाउन प्रयोग गरिएको नुनमा सिसा मिसाएको भेटिएको थियो । घटनाका विषयमा प्रहरीले अझै अनुसन्धान जारी रहेको जनाएको छ ।इमेजखबरबाट