इन्धनको ट्यांकर भारतले रोक्यो, पेट्रोलियम पदार्थको हाहाकार

काठमाडौं। पूर्वी नाकाबाट पेट्रोलियम पदार्थ बोकेर नेपाल आउदै गरेको ७३ ट्यांकरलाई भारतले पश्चिम बङ्गालको पानीट्याङ्की भन्सारमा रोकेपछि नेपालको पूर्वमा पेट्रोलियम पदार्थको अभाव हुन थालेको छ ।

भन्सारमा इन्ट्री सिस्टम अनलाइनबाट शुरु गरिएको बताउँदै भारतीय भन्सारले चार दिनदेखि तेल लिएर नेपाली ट्यांकरलाई नाकामै रोकेर राखेको नेपाल आयल निगमले जनाएको छ।

निगमका अनुसार पेट्रोलियम पदार्थ बोकेका मेचीका ५३ र विराटनगरका २० गरी ७३ ट्याङ्कर पानीट्याङ्की नाकामा थन्किएको बताइएको छ । जसले  पुर्वका अधिकांश पेट्रोलपम्पहरु बन्द भएका छन् ।

चार दिनदेखि झापा, इलाम, पाँचथर र ताप्लेजुङसहितका ६० पेट्रोल तथा डिजलपम्प बन्द भएपछि पेट्रोलियम पदार्थको हाहाकार जनाइएको छ। यी चार जिल्लामा मात्र दैनिक एक लाख लिटर पेट्रोल र तीन लाख लिटर डिजेल खपत हुने गरेको छ ।

भारतले शुक्रबारदेखि नेपाल निर्यात गरिने वस्तुको अनलाइन माध्यमद्वारा तथ्याङ्क राख्न शुरु गरे पनि सिस्टममा समस्या आएको भन्दै नेपाली ट्यांकरलाई रोकिराखेको छ ।

कम्प्युटर सिस्टमले काम नगरेको भन्दै ट्याङ्कर लामो समयसम्म अड्काएर राखेको हुँदा ‘म्यानुअल सिस्टम’बाट तथ्याङ्क राखेर भए पनि नेपाली ट्यांकर छाडिदिन भारतीय भन्सारलाई आग्रह गरिएको निगमले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार