विकासका लागि हाम्रो साथ सधैँ रहनेछ : पूर्व प्रधानमन्त्रि हेलेन


सन्तोष राउत/सोलुखुम्बु। न्यूजिल्याण्डका पूर्व प्रधानमन्त्रि हेलेन क्लार्कले विश्वको सुन्दर क्षेत्र सोलुखुम्बुलाई सँधै सहयोग गरिरहने बताउनुभयो । पहिलो पटक सोलुखुम्बुको भ्रमणमा आउनुभएकी क्लार्कले विकसोन्मुख देसका रुपमा रहेको नेपाल धेरै सम्भावना बोकेको देस भएको भन्दै सर एडमण्ड हिलारीले गरेका कामलाई निरन्तरता दिँदै थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सोलुदूधकुण्ड नगरपालिकाले सदरमुकाम सल्लेरीमा गरेको स्वागत कार्यक्रममा बोल्दै प्रधानमन्त्रि हेलेनले सोलुखुम्बुको भ्रमणका क्रममा शिक्षा, स्वास्थ्य, मानव विकासका क्षेत्रमा गरिरहेको कामको अवलोकन गरेको र ती कामलाई अझै थप प्रभावकारी बनाउन सहयोग गर्ने बताउनुभयो । उहाँ न्यूजिल्याण्डमा तीन पटक प्रधानमन्त्रि हुनुभएको थियो ।

सोलुखुम्बुमा करिब ६० वर्षअघिदेखि न्यूजिल्याण्ड नागरिक स्व.हिलारीले स्थापना गरेको हिमालयन ट्रष्टमार्फत शिक्षक तालिम, विद्यालय भवन तथा फर्निचर निर्माण, शिक्षक व्यवस्थापन, छात्रावृत्ति वितरण, अस्पताल निर्माण, औषधी वितरण, खानेपानी व्यवस्थापन, कम्प्यूटर शिक्षालगायतका धेरै क्षेत्रमा सहयोग भइरहेको छ ।

त्यस अवसरमा सोलुदूधकुण्ड नगरपालिकाका मेयर नाम्गेलजाङ्बु शेर्पाले विश्व पर्यटनको केन्द्रका रुपमा रहेको सोलुखुम्बुमा पर्यटनको धेरै सम्भावना रहेको बताउँदै हिलारीले शुरु गरेको सम्बन्ध अझ प्रगाढ बनाउन आग्रह गर्नुभयो । नगरपालिकाको विकासमा सहयोग गर्न मेयर शेर्पाले आग्रह गर्नुभयो ।

सोही क्रममा हिलारीले स्थापना गरेको क्याम्पस सोलुखुम्बु बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख उद्धवकुमार शर्मा र संचालक समितिका संस्थापक सदस्य आङगेलु शेर्पाले प्रसंसा पत्र प्रदान गर्दै क्याम्पसले सञ्चालन गर्न लागेको मेची–काली अभियानका बारेमा जानकारी गराउनुभएको थियो ।

अनौपचारिक रुपमा भएको कार्यक्रममा नगरपालिकाका उपप्रमुख कल्पना राई, प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाई, सहायक प्रमुख जिल्ला अधिकारी लेखा अधिकृत विपिन लम्साल, कार्यपालिका सदस्यहरु, वडा अध्यक्षहरु, हिमालयन ट्रष्टका अध्यक्ष पासाङदावा शेर्पा, नव भूजेललगायतको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार