लोकसेवाले नौ हजार कर्मचारी माग्यो, कुन स्थानीय तहमा कति हेर्नुस्(विज्ञापन सहित)


काठमाडौँ । लोकसेवा आयोगले करिब नौ हजार कर्मचारीका लागि विज्ञापन गरेको छ । स्थानीय तहमा कर्मचारी अपुग भइरहेका बेला आयोगले करिब नौ हजार कर्मचारीको पदपूर्तिका लागि खुला विज्ञापन गगरेको हो ।

आयोगले बुधबार विज्ञापन गर्दै खुलातर्फ नौ हजार र बढुवातर्फ छ हजार कर्मचारीको पदपूर्तिका लागि विज्ञापन गरेको छ । सरकारले जनताका सबैभन्दा बढी सेवा प्रवाह हुने स्थानीय तह भएकाले पहिले स्थानीय तहमा कर्मचारी पदपूर्ति गर्न थालेको हो ।

सरकारले स्थानीय तहको पदपूर्ति गरेपछि क्रमशः सङ्घ र प्रदेशमा कर्मचारी भर्ना गर्ने तयारी गरेको जनाएको छ । कर्मचारी समायोजन भए पनि १६ हजार २६२ कर्मचारी स्थानीय तहमा अझै नपुगेको अवस्था छ । आयोगले ७५३ स्थानीय तहअनुसार विज्ञापन गरेको छ ।

प्रदेश लोकसेवा आयोग गठन नहुँदासम्म स्थानीय तहका कर्मचारीको पदपूर्ति लोकसेवा आयोगले गर्ने कानूनी व्यवस्थाअनुसार विज्ञापन गरेर पदपूर्ति गर्न थालिएको आयोगले बताउँदै आएको छ । स्थानीय तहको आवश्यकताअनुसार स्थानीय तहगत रुपमा विज्ञापन गरिएको छ । आयोगले चारदेखि छ तहसम्म खुला प्रतिस्पर्धा र नौ तहसम्म बढुवाका लागि विज्ञापन गरेको छ ।

यसअघि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रिक्त दरबन्दी स्थानीय तहबाट सङ्कलन गरेको थियो । तीनदेखि छ महीनासम्ममा कर्मचारीलाई छनोट गरेर स्थानीय तहमा पठाइने छ । विज्ञापनबाट कर्मचारीको छनोट गरिसकेपछि स्थानीय तहलाई नै नियुक्तिका लागि सिफारिस गर्ने र सिफारिस गरेका कर्मचारीलाई सिधै सम्बन्धित स्थानीय तहले नियुक्तिपत्र दिने व्यवस्था आयोगले गरेको छ ।

सरकारले स्थानीय तहको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणअनुसार ६७ हजार ७१९ कर्मचारीको दरबन्दी स्वीकृत गरेको छ । दरबन्दीअनुसार गत चैतमा स्थानीय तहमा ५१ हजार ४५७ कर्मचारी समायोजन भएका छन् । समायोजन भएकामध्ये निजामती कर्मचारीबाट ३१ हजार ७१०, साविक स्थानीय तहबाट १० हजार ५४०, तत्कालीन जिल्ला विकास समितिबाट एक हजार २४१ र अन्य सेवाबाट ३१६ कर्मचारी समायोजन गरिएका छन् ।

स्थानीय सरकार सञ्चालन ऐनको दफा ८७ को व्यवस्थाबमोजिम कार्यरत रहेका करिब सात हजार ६५० कर्मचारीसमेत समायोजन भएका हुन् । आयोगले नौ हजार कर्मचारीको पदपूर्ति गरे पनि अझै सात हजार कर्मचारी स्थानीय तहमा अपुग हुने देखिएको छन् । यसैगरी सङ्घमा दरबन्दी ४८ हजार ४०९ मध्ये ३९ हजार ९६० र प्रदेशमा २२ हजार २९७ मध्ये १३ हजार ८२१ कर्मचारी समायोजन गरेको हो । अझै सङ्घमा आठ हजार ४४९ र प्रदेशमा आठ हजार ४७६ कर्मचारी अपुग रहेको आयोगको तथ्यांक छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार