देशदेखि विदेशसम्मका कार्यकर्तालाई प्रशिक्षण दिने यस्तो छ काँग्रेसको तयारी

काठमाडौँ। नेपाली काँग्रेसले देश विदेशमा रहेका आफ्ना नेता कार्यकर्तालाई प्रशिक्षण दिँदैछ ।

केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको पाठ्यक्रमअनुसार ७ प्रदेशका १४ स्थानमा महाधिवेशन प्रतिनिधिका लागि दुई दिने प्रशिक्षण कार्यक्रम जारी छ ।

यस्तै काँग्रेसले क्रियाशील सदस्यका लागि पनि एक दिने आधारभूत प्रशिक्षण कार्यक्रम दिने प्रतिष्ठानका कार्यकारी निर्देशक पुरुषोत्तम दाहालले जानकारी दिए ।

काँग्रेसले केही समयअघि नयाँ पुस्तालाई राजनीतिमा आकर्षित गर्न १३ वर्ष उमेर पुगेका विद्यार्थीलाई समाजवादको प्रशिक्षण दिने निर्णय गरेको छ ।

काँग्रेसले १३ वर्ष उमेर पुगेका विद्यार्थीका लागि प्रतिष्ठानबाट विशेष कार्यक्रम लैजान लागेको छ । ‘फरक फरक उमेर समूहका लागि प्रजातन्त्रको कुरा पढाउने हाम्रो तयारी छ,’ नीति प्रतिष्ठानका कार्यकारी निर्देशक दाहालले भने, ‘यसमा विशेष कार्यक्रम बनाएरै लागू गर्छौँ ।’

दाहालका अनुसार १३ वर्षदेखि १८ वर्षका र १९ वर्षदेखि २८ वर्ष उमेर समूहका विद्यार्थीका लागि विशेष कार्यक्रम गरिने छ ।

‘नयाँ पुस्तामा राष्ट्रियता, लोकतन्त्र, समाजवाद, नेपाली काँग्रेसको इतिहास, लोकतान्त्रिक आन्दोलन, पार्टीको आन्दोलनका क्रममा जीवन उत्सर्ग गर्ने सहिदहरूको जीवनी, नेतृत्वको योगदान, नेपालको परिचय, इतिहास, संस्कृति, सम्पदा आदिको विषयमा जानकारी दिनेछ,’ उनले भने, ‘नेपाली काँग्रेसमा नयाँ पुस्तालाई आकर्षण गराउन १३ वर्षदेखि १८ वर्षका र १९ वर्षदेखि २८ वर्षसम्मका उमेर समूहका विद्यार्थीका लागि विशेष कार्यक्रम तर्जुमा गरी सञ्चालन गरिने छ ।’

जेठ ३ गते बसेको प्रतिष्ठानको बैठकले काँग्रेसबाट गाउँपालिका अध्यक्ष र उपाध्यक्षहरूको राष्ट्रिय भेला र प्रशिक्षण कार्यक्रम काठमाडौँमा आयोजना गर्ने, पार्टीका भ्रातृ एवं शुभेच्छुक सङ्घ संस्थाहरूलाई प्रशिक्षणको कार्यक्रम सञ्चालन गर्ने/ गराउने निर्णय गरेको थियो । यस्तै विदेशस्थित जनसम्पर्क समितिमा आबद्ध सदस्यहरूलाई प्रशिक्षण दिने, सङ्घ, प्रदेश, जिल्ला, क्षेत्र, पालिका र वडास्तरसम्म लोकतन्त्रका लागि ‘काँग्रेस मेला’को आयोजना गर्ने घोषणाको प्रतिष्ठानले तयारी अगाडि बढाएको छ ।

विदेशदेशमा रहेका कार्यकर्तालाई पनि प्रशिक्षण 
यस्तै विदेशस्थित नेपाली जनसम्पर्क समितिहरूको तीन दिने प्रशिक्षण भेला डेनमार्कको कोपनहेगनमा हुने भएको छ । जुन २१ तारिखदेखि २३ सम्म (असार ६ गतेदेखि ८ गते) विश्वभरबाट जनसम्पर्क समितिका प्रतिनिधिहरू कोपनहेगन आउने भएका हुन् ।

पार्टीको केद्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित कार्यक्रमको संयोजन नेपाली जनसम्पर्क समिति डेनमार्कले गरेको छ ।

कार्यक्रममा पार्टी उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला, प्रवक्ता विश्वप्रकाश शर्मा, अनुशासन समितिका संयोजक भीष्मराज आङदाम्बे, नेताहरू मिनेन्द्र रिजाल, गगन थापा र धनराज गुरुङलगायत केन्द्रीय नेताहरूको उपस्थिति रहने समितिले जनाएको छ ।

साथै प्रतिष्ठानमा कार्यकारी निर्देशक पुरूषोत्तम दाहाल पनि सहभागी हुने छ । कार्यक्रमलाई सफल बनाउन नेपाली जनसम्पर्क समिति, डेनमार्कका सभापतिको संयोजकत्वमा पूर्वसभापतिहरू नवीन पौडेल, नवराज आचार्य (नवीन), रामचन्द्र पाठक, त्रिलोचन सापकोटा, यमलाल सुवेदी वर्तमान महामन्त्री यादव बस्नेत र दीपेन्द्र चुँडाल सम्मिलित तयारी समिति गठन भएको छ ।

यस्तै अन्य २० उपसमितिहरू बनेका छन् । प्रशिक्षण कार्यक्रम कोपेनहेगनको भेस्टरपोर्टमा रहेको रिचमन्ड होटलको सभागृहमा हुने भएको छ । ३० भन्दा बढी मुलुकहरूबाट काँग्रेस कार्यकर्ताहरू कोपेनहेगन पुग्ने अपेक्षा गरिएको छ ।

मताधिकार सुनिश्चितताबारे पहल
नेपाली जनसम्पर्क समिति डेनमार्कका सभापति वीरेन्द्रसिंह कार्कीले विदेशमा रहेका नेपालीहरूले कूटनीतिक नियोगमार्फत मताधिकारको सुनिश्चिताका लागि दबाब सिर्जना गर्न भेलामा बृहत् छलफल हुने बताए ।
यता केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुखसमते रहका उसभापति निधिले पनि यस विषयमा काँग्रेस पूर्ण रूपमा अग्रसर भएको बताए ।

उपसभापति निधिले भने, ‘विदेशमा रहेका नेपालीहरूलाई विदेशबाटै मतदानको व्यवस्था गर्ने भनेर सर्वोच्च अदालतले आदेश जारी गरेको छ । त्यसका लागि नेपाली काँग्रेसले सुरुदेखि नै अग्रसरता लिएको छ । त्यसबारेमा छलफल र प्रशिक्षण हुन्छ । यसले एक खालको वातावरण बनाउँछ । त्यो भेलाबाट फर्किएपछि काँग्रेसले यो विषयमा कहाँ के–के गर्नु पर्ने हो, गर्छ ।’

के विषयमा गराइने छ प्रशिक्षण ?
प्रशिक्षणबारे प्रतिष्ठान प्रमुख निधिका अनुसार नेपालभित्र र नेपाल बाहिर नेपाली काँग्रेसका सदस्य तथा समर्थक, भ्रातृ सङ्गठनहरूलाई प्रशिक्षण दिन लागिएको हो ।

उनले प्रशिक्षणमा जानकारी दिँदै रातोपाटीसित भने, ‘प्रशिक्षण दिनुपर्ने भनेर पार्टी विधानले पनि व्यवस्था गरेको छ । साथै गत वर्ष हटौँडामा सम्पन्न जिल्ला सभापतिहरूको राष्ट्रिय भेलाले प्रशिक्षण गराउन भनेको थियो । विदेशस्थित जनसम्पर्क समितिका तर्फबाट प्रशिक्षणको माग भएको थियो । केही समयअगाडि सम्पन्न महासमिति बैठकमा जनसम्पर्क समितिलाई प्रशिक्षण दिनुपर्ने निर्णय पारित गरेको छ ।’
महासमिति बैठकको निर्देशनअनुसार आफूहरू प्रशिक्षणका लागि डेनमार्क जान लागेको उनले बताए ।

‘पार्टीका केन्द्रीय प्रतिनिधिलाई विदेशमै पठाएर जनसम्पर्क समितिलाई प्रशिक्षण कार्यक्रम सञ्चालन गर्नका लागि महासमितिको बैठकले निर्देशन पनि गरेको छ,’ निधिले भने, ‘देशभित्र ७ वटै प्रदेशका दुई ठाउँमा प्रशिक्षण गरिँदै छ । एक–दुई ठाउँमा सुरु पनि भइसकेको छ । विदेशस्थित जनसम्पर्क समितिका लागि प्रशिक्षण कार्यक्रमको समय तय भएको छ । डेनमार्कमा असार ६ गतेबाट कार्यक्रम सुरु हुनेछ ।’
उनले पार्टी विधान र राजनीतिक प्रतिवेदनसहितका विषयमा प्रशिक्षण दिइने जानकारी दिए ।

‘यहाँ (डेनमार्क) काँग्रेस महासमिति बैठकले पारित गरेको विधान र राजनीतिक प्रतिवेदनबारे प्रशिक्षण दिइने छ । अहिलेसम्म संविधानतः सङ्घीय संरचनाअनुसार पार्टी विधान निर्माण गर्ने काँग्रेस एक मात्र पार्टी हो । विधानमा रहेको समावेशिता तथा पार्टीको राजनीतिक सिद्धान्त, विचारबारे विदेशमा रहेको साथीहरूलाई प्रशिक्षण दिने छ,’ निधिको भनाइ थियो ।

डेनमार्कमा ‘विश्व सञ्जाल’ गठनम विवादको गाँठो फुक्ला ?

गत साउनमा विश्वका ३१ मुलकमा रहेको  काँग्रेस निकट नेपाली जनसम्पर्क समितिले अन्तर्राष्ट्रिय समन्वय समिति ‘विश्व सञ्जाल’ गठन गरेका थिए ।

तर उक्त ‘विश्व सञ्जाल’लाई पार्टीले अझै वैधानिकता दिएको छैन ।

पार्टीको साङ्गठनिक जिम्मेवारी सम्हालेका निधिले वैधानिकता नदिएपछि  विश्व सञ्जाल अर्थहीन अवस्थामा छ ।

‘विश्व सञ्जाल’का अध्यक्ष विष्णु सुवेदीले पार्टीले वैधानिकता नदिएकोमा गुनासो गर्दै आएका छन् । उसभापति निधिसँग यस विषयमा सोध्दा पार्टी र आफूहरूको मूल एजेन्डा नभएको प्रतिक्रिया दिए ।

उनले भने, ‘केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले पार्टीको नीति र प्रशिक्षणबारेमा छलफल गर्ने र प्रशिक्षण दिने हो । त्यसबाहेर सङ्गठनको संरचना बनाउने र सङ्गठन विस्तार गर्ने भन्ने विषय काँग्रेसको सङ्गठन विभाग अथवा काँग्रेसको जनसम्पर्क समितिको अन्तर्गत पर्छ । मेरो कार्य क्षेत्रभित्र पर्दैन ।’रातोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार