सामूहिक हत्याकाण्डबारे प्रहरीको यस्तो निष्कर्ष…..

पाँचथर । पाँचथरको मिक्लाजुङ–३ आरुबोटे हत्या काण्डमा मानबहादुर माखिमको संलग्नता रहेको प्रहरीले निष्कर्ष निकालेको छ  । आरुबोटेमा ६ जेठ राति एकै परिवारका नौजनाको सामूहिक हत्या भएको थियो ।

घटनापछि माखिम पनि झुन्डिएको अवस्थामा फेला परेका थिए । हत्याकाण्डमा प्रहरीका चार टोलीले अनुसन्धान गरेका थिए । जसमा ३३ वर्षीय माखिमले हत्या गरेको निष्कर्ष निकालिएको छ । यससम्बन्धी प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतबहादुर कार्कीले प्रदेश सभालाई जानकारी दिएका छन् ।

सांसदहरूले आरुबोटे काण्डको यथार्थ विवरण सार्वजनिक गर्न माग गरेपछि आन्तरिक मामिला तथा कानुनमन्त्री कार्कीले बिहीबार प्रदेश सभामा अनुसन्धानको जानकारी दिएका हुन् । सामूहिक हत्या गर्ने माखिम बमबहादुर फियाकका कान्छा ज्वाइँ रहेको मन्त्री कार्कीले बताए ।

प्रहरी अनुसन्धानमा मानबहादुर नै हत्यारा भएको यथेष्ट प्रमाण पाइएको उनको भनाइ थियो । ७५ वर्षीय बमबहादुरसँगै उनकी पत्नी ७५ वर्षीया पुर्चीमाया, छोरी ३५ वर्षीया मनकुमारी र नातिनी १० वर्षीया आसिकाको हत्या गरिएको थियो ।

त्यस्तै, बमबहादुरका जेठा ज्वाइँ ३४ वर्षीय धनराज सेर्मा, उनकी पत्नी ३५ वर्र्षीया जस्मिता, छोरी १२ वर्षीया युहाना, १० वर्षीया मुना र ६ वर्षीया इच्छाको हत्या गरिएको थियो । उनीहरूको हत्या गरेपछि मानबहादुरले झन्डिएर आत्महत्या गरेको प्रहरी अनुसन्धानको निष्कर्ष छ  ।

घटनाको संघीय प्रहरी एकाइ कार्यालय धरानका एसएपी शरद खत्री, अपराध अनुसन्धान ब्युरोका एसपी उमाप्रसाद चतुर्वेदी, प्रदेश प्रहरी कार्यालयको विशेष अनुसन्धान ब्युरोका इन्स्पेक्टर लेखनाथ दाहाल, प्रदेश प्रहरी प्रवक्ता सिद्धार्थ न्यौपाने र जिल्ला प्रहरी कार्यालय पाँचथरका डिएसपी नरेन्द्र कुँवरको टोलीले अनुसन्धान गरेका थिए ।

मानबहादुर मनोरोगी

मानबहादुर मनोरोगी रहेको प्रहरीले जनाएको छ । उनी वैदेशिक रोजगारमा गएका थिए । तर, पैसा कमाउन नसकेपछि निराश भएर फर्किएका थिए । झैझगडा हुन थालेपछि उनकी पत्नी माइत गएर बस्न थालेकी थिइन् । उनीहरूबीच सम्बन्धविच्छेदको मुद्दा पनि चलेको थियो । जुन अदालतमा जारी रहेको छ । उनले मानसिक रोगको औषधि सेवन गर्दै आएका थिए ।

सीता प्रदेश सरकारले जिम्मामा

दुई साता अघि पाँचथर, मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेमा नौ जनाको हत्या हुँदा भागेर ज्यान जोगाएकी १२ वर्षीया सीता खजुमको शिक्षा तथा पालनपोषणका लागि एक नम्बर प्रदेश सरकारले जिम्मा लिएको छ ।

दमकको लाइफलाइन अस्पतालमा उपचाररत बालिकाको शिक्षा तथा पालनपोषण गर्नका लागि आज गाँउपालिकाका अध्यक्ष अमर माखिमको उपस्थितिमा बालिकालाई प्रदेश सरकारले जिम्मा लिएको हो । परिवारको स्वीकृतिमा बालिकालाई प्रदेश सरकारका प्रतिनिधिलाई जम्मा दिईएको गाँउपालिका अध्यक्ष माखिमले वताए ।

बालिका बुझन प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङवोका स्वकीय सचिव सुजन मंग्राती, इटहरीस्थित शहिद स्मृति आवासीय विद्यालयका प्रधानाध्यापक शिवचन्द्र राईसहितको टोली अस्पताल आएको थियो ।

प्रहरीको निगरानीमा उपचाररत बालिकालाई कानुनी प्रकृया पूरा गरेर गाँउपालिकाका अध्यक्ष माखिमलाई बुझाईएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरिक्षक खगेन्द्र एक्तेनले वताए ।

कक्षा ९ मा अध्ययनरत बालिकाको पठनपाठन सुचारु गर्न इटहरीस्थित शहिद स्मृति आवासीय विद्यालयमा भर्ना गरिने बताईएको छ । गत जेठ ६ गते भएको हत्याका घटनामा भागेर ज्यान जोगाएकी बालिकालाई घटनाको भोलिपल्ट उपचारका लागि दमक ल्याइएको थियो । दमक ल्याईए पछि बालिका खजुमको लाइफलाइन अस्पतालमा उपचाररत रहेकी थिईन् ।

कोष खडा गरिदै

पाँचथर घर भई काठमाण्डौमा बस्दैआएका महिला अगुवाहरुको सक्रियतामा बालिकाका लागि एक कोष स्थापना गर्न अभियान शुरु गरिएको छ । रु १० लाखको कोष रहने गरि सहयोग संकलन अभियान सञ्चालन गरिएको अभियानकी संयोजक कान्ता रिजालले वताइन् । इमेजखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार