संसदमा गगन थापाको गर्जन, विष्णु पौडेललाई दिए यस्तो जवाफ

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवं सांसद गगन थापाले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले दिएको चुनौतीको जवाफ फर्काएका छन् ।

सोमबारको संसद बैठकमा पौडेलले वृद्धभत्ताकाबारेमा प्रतिपक्षी दललाई हिम्मत भए विरोध गर्न चुनौती दिएका थिए ।

बजेटबारेको छलफलमा भाग लिन मंगलबार संसदको रोस्ट्रममा उभिएका थापाले पौडेलको चुनौतीलाई स्वीकार्ने हिम्मत भएको र सामाजिक सुरक्षा भनेको नगद हस्तान्तरणमात्र होइन भन्ने जिकिर गरे ।

‘हुन त एकजना बलवान् सांसद, जसले बालुवाटारको जगै हल्लाइदिने हिम्मत राख्नुहुन्छ । यहाँ उभिएर चुनौती दिनुभयो, वृद्धभत्ताकाबारेमा बोल्ने हिम्मत छ ?’–उनले भने–‘मेरो हिम्मत छ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको सरकारले बिदा लिँदैगर्दा ६५ वर्षको उमेरमा पाँच हजार वृद्धभत्ता पुर्‍याउँछु भनेर भन्दैगर्दा हचुवाको भरमा वृद्धभत्ता बढाउन पाइँदैन भनेर विरोध गरेकोमात्रै होइन । कानुन बनाउँदै गर्दा ७० वर्षभित्रलाई आधार वर्ष बनाउनुपर्छ भनेर उमेर झार्न पाइँदैन भनेर कानुन संशोधन गर्न लगाउने सांसद हुँ म ।’

नेता थापाले सामाजिक सुरक्षा भनेको नगद हस्तान्तरणमात्र नभएर गैरनगदको प्रबन्ध गरेर पनि सामाजिक सुरक्षा गर्नसकिने सुझाए ।

‘सामाजिक सुरक्षा भनेको नगद हस्तान्तरणमात्र होइन । गैरनगदको प्रबन्धबाट तीन हजारमात्र होइन, ३० हजारको सुविधा प्राप्त गर्ने अवस्था कसरी बनाउने भन्नेबारेमा छलफल गर्ने कुरा वाञ्छनीय छैन ?’–सरकारलाई उनको प्रश्न थियो ।

‘यत्रो बलियो कम्युनिस्ट सरकारले विद्धान् अर्थमन्त्री पाउँदैगर्दा देशले के पाउने भए त सभामुख महोदय ? बाआमाले हजार रुपैयाँ, निर्वाचन क्षेत्रको कार्यक्रममा थप दुई करोड । तपाइँको नाम यिनै दुई कामले राख्नमा सन्तोष मान्न खोज्नुभएको हो भने मेरो भन्नु केही पनि छैन’–अर्थमन्त्री डा. युवराज खतिवडातर्फ इंगित गर्दै भने ।

प्रतिपक्षी दलको सांसदकारुपमा खुसी भएपनि आमनागरिकको हैसियतमा आफू दुःखी भएको पनि थापाले जोडे ।

‘प्रत्यक्ष निर्वाचित सांसद हुँ म । विकासको माग मलाई पनि थाहा छ । प्रतिपक्षको सांसद भएर खुसी लागेको छ’–‘तर, नागरिक भएर सोच्छु, फेरि अझै तीन वर्ष यही सरकारले बजेट बनाउँछ । मेरो नागरिककारुपमा रहेको तीन वर्ष अझै खेर जाने भयो । यत्रो अनुकूलको अवसर खेर जाने भयो । नागरिक भएर दुःख लागेको छ’–उनले थपे ।

सभामुख कृष्णबहादुर महरामार्फत् अर्थमन्त्री खतिवडालाई प्रश्न गर्दै उनले भने–‘अर्थमन्त्रीज्यूलाई सोध्न चाहन्छु, सांसद भएर खुसी होऊँ कि नागरिक भएर दुःखी होऊँ ? म खुसी होऊँ कि दुःखी होऊँ अलमलमा परेको छु ।’इमेजखबरबाट।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार