काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसित उमेर भएको भए ५० वर्ष शासन चलाउने उत्साह रहेको बताएका छन् ।
बुधबार काठमाडौं महानगरपालिकाको स्मार्टसिटी प्रविधि प्रतिस्पर्धाको अन्तिम छनोट कार्यक्रममा बोल्दै उनले ‘समय भएको भए अझै ५० वर्ष शासन चलाउँथेंजस्तो लाग्ने गरेको’ बताए ।
‘तानाशाहजस्तो लामो समय शासनमा बसिरहन खोजेकोचाहिँ होइन’–उनले भने ।
प्रधानमन्त्री ओलीले युवाहरुसित समय रहेको भन्दै उनीहरुलाई उत्पादनशील बन्न सुझाव दिए ।
विश्वका अरु देशहरुलाई प्रकृतिले सीमित स्रोत दिएको तर नेपालमा अथाह स्रोत रहेको भन्दै उनले तर नोट नहुँदा देश पछिपरेको टिप्पणी गरे ।
‘जति पुँजी छ, त्यतिमात्रै नोट छाप्न पाइँदोरहेछ’ भन्दै उनले देशका स्रोतलाई पुँजीकृत गर्न नसकिएको गुनासो गरे । इमेजखबरबाट।