ओली र दाहालले ल्याएको प्रस्ताव नेता त्रयबाट अस्वीकार

काठमाडौं । सत्तारुढ दल नेकपाभित्र जिल्ला इन्चार्ज र सहइन्चार्ज तोक्ने विषय थप पेचिलो बन्दै गएको छ ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले इन्चार्ज र सहइन्चार्जबारे सचिवालय बैठकमा पेस गरेको प्रस्तावप्रति वरिष्ठ नेता माधवकुमार नेपालपक्षले आपत्ति जनाएको छ ।

बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा अध्यक्ष ओलीले आफूहरुले ल्याएको प्रस्ताव सच्याउने सम्भावना नरहने भन्दै त्यसैमा सहमति जनाउन अरु नेताहरुलाई आग्रह गरेका थिए ।

तर, नेताहरु माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतमले प्रस्ताव नसच्याएसम्म अघि बढ्न नसक्ने भन्दै इन्चार्ज र सहइन्चार्जहरुसँगै केन्द्रीय सदस्य र पोलिट्ब्यूरोको कार्यविभाजनसमेत एकसाथ टुंगो लगाउनुपर्ने अडान राखेका थिए ।

तर, ओलीपक्षले पार्टीमा दोहोरो जिम्मेवारी नदिने विषय स्वीकार्य हुन नसक्ने र राज्यको पदमा पुग्नकै लागि राजनीति गर्ने भन्दै एकल जिम्मेवारीले पार्टी मजबुद् बन्न नसक्ने तर्क गरेका थिए ।

त्यसपछि प्रधानमन्त्री ओलीले आफू युरोप भ्रमणबाट फर्किएपछिमात्र थप छलफल हुनसक्ने भन्दै बैठक स्थगित गरिएको थियो ।

यसअघि अध्यक्ष दाहालनिकट मानिएका गृहमन्त्री रामबहादुर थापा पछिल्लो समय दोहोरो जिम्मेवारीको पक्षमा देखिएका छन् । दोहोरो जिम्मेवारीसम्बन्धी छलफलमा अध्यक्ष दाहाल भने मौन बसेको बताइएको छ ।

ओलीपक्षीय नेता एवं रक्षामन्त्री ईश्वर पोखरेललगायतले त बेला–बेला घुमाउरो पारामा सामाजिक सन्जालबाटै एकल जिम्मेवारीको विरोध गर्दै आएका छन् ।इमइमेजखबर।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार