भिषण हावाहुरीले लियो दुईको ज्यान, १०० भन्दा बढी घाइते

 कैलाली र कञ्चनपुरमा बिहीबार साँझ आएको बिनासकारी हावाहुरीले दुई जनाको मृत्यु भएको छ भने एक सयबढी घाइते भएका छन् । घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । साँझ साढे सात बजेदेखि लगातारएक घण्टासम्म हावाहुरीसँगै जोडले पानी परेको थियो ।

हावाहुरीका कारण मृत्यु हुनेमा कैलालीको टीकापुर नगरपालिका २, राजीपुरमा ४७ वर्षीय लाहानु चौधरी र गोदावरी नगरपालिका ८ का बीरबहादुर चौधरी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

कैलाली जिल्ला दैवी प्रकोप राहत तथा उद्दार समितिका प्रमुख तथा प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराका अनुसार दुई जनाको मृत्यु हुनुका साथै एक सय बढी घाइते भएका छन् ।

त्यस्तै, कैलालीको घोडाघोडीमा हावाहुरीसँगै आएको चट्यांङ लागेर एक जना घाइते भएको कैलाली प्रहरी प्रमुख एसपी सुदिप गिरीले बताए । उनले घटना र क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको जानकारी दिए ।

प्रजिअ बोहराले भने –‘हावाहुरीबाट घाइते भएकाहरूको उद्दार गर्ने काम लगभग सकिएको छ । क्षतिको विवरण संकलन भइरहेको छ ।’

उनले सेती अञ्चल सहित जिल्लाका विभिन्न अस्पतालमा भर्ना भएका घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको बताए । ६६ जनाको सामान्य उपचार पछि घर पठाइएको र अन्यको विभिन्न अस्पतालमा उपचार भइरहेको बताए ।

प्रजिअ बोहराले अहिले अवरुद्ध सडकहरु खुलाउने काम भइरहेको बताए तर मुख्य राजमार्ग अवरुद्ध भएको छैन् । शाखा सडकहरुमा रुख ढल्दा अवरुद्ध भएकाले खुलाउने काम भइरहेको छ भने ।

उनले भने –‘बढी जनघनत्व भएका ठाउँमा क्षति बढी भएको र घरका जस्तापाता र छाना उडेका छन भने कसैका पर्खालहरु भत्किएका छन् । त्यो विवरण संकलन गर्ने काम भइरहेको छ ।’

उता, कचनपुरमा २३ जना घाइतेमध्ये आठ जनालाई धनगढीस्थित सेती अञ्चल अस्पतालमा ल्याइएको छ । कञ्चनपुर निमित्त प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले आठ घाइतेमध्ये एक ११ वर्षीया बालिका गम्भिर रहेकी छिन् ।

हावाहुरीका कारण रुख तथा विद्दुतका पोलहरु ढल्दा विद्युत सेवा पूर्णरूपमा अवरुद्ध भएको छ भने केरा, फलफूलकाका बोटमा ठूलो क्षति पुगेको छ ।

अबरुद्ध बिद्धुत सेवा कहिलेसम्म सुचारू गर्न सकिन्छ केही भन्न सकिने अवस्था नरहेको धनगढी बिद्धुत प्राधिकरणले जनाएको छ ।राजधानी दैनिकबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार