जीवन–मृत्युको दोसाँधमा माओवादी पूर्वलडाकु

उपचार नपाएर मृत्युको घडी कुरिरहेकी रोल्पाको त्रिवेणी गाउँपालिका–५, जुगारकी निर्मला बिकलाई उपचारका लागि बुटवल ल्याइएको छ । तीन वर्षदेखि अचेत अवस्थामा पुगेकी तत्कालीन माओवादी द्वन्द्वकी लडाकु ३२ वर्षीया निर्मलालाई मानवसेवा आश्रमले स्वास्थ्योपचारका लागि बुटवल ल्याइएको हो ।

आफूजस्तै कैयौं शोषित–पीडित जनताको पक्षमा शासन स्थापित गर्दै मुलुकमा विकास समृद्धि भित्र्याउने सुन्दर सपनाले रोल्पा, त्रिवेणी गाउँपालिकाकी निर्मला बिकलाई जनयुद्धमा होमिन प्रेरित गर्‍यो । तर, परिस्थितिले उनलाई झन् कहालीलाग्दो मोडमा पुर्‍याइदियो ।

माओवादी लडाकुकको पाँचौं डिभिजन ब्यारेक दहवनमा खटिएकै बेला सामान्य बिरामी परेकी उनी विगत ८ वर्षदेखि नराम्ररी थलिएकी छन् । आर्थिक अभावकैबीच परिवारले जसोतसो उपचारका लागि तीन/चार लाख त खर्चियो तर उनको रोग निको भएन ।

कहिले धामी-झाँक्री त कहिले जडीबुटीको सहारा लिएपनि उनी तंग्रिन सकिनन् । चार वर्षअघि दुवै खुट्टा जलेर झन् बिजोग हालत बनेकी उनको विगत तीन वर्षदेखि त झन् होससमेत गुमेको छ ।

बुढ्यौली उमेरकी सासूले जेनतेन स्याहार गर्दै आएकी निर्मलाको दैनिकी दिनभर घरबाहिर र रातभर गोठमा बित्ने गर्थ्यो । दिसा–पिसाबसमेत सम्हाल्न नसक्ने उनको अवस्था देखेर ८ वर्षीय छोरा जीवन भक्कानिनुबाहेक केही गर्न सक्दैनन् । उपचार गर्न नसकेपछि उनका श्रीमान्ले अहिले दोस्रो बिहे गरेका छन् ।

जीवन र मृत्युको दोसाँधमा रहेकी निर्मलालाई मानवसेवा आश्रम प्रदेश नम्बर–५ शाखाले उपचार र सेवाका लागि बिहीबार बुटवल ल्याएको छ । उनलाई सरसफाइ गरेर सामान्य स्वास्थ्य जाँच गरेको अनमी रीता मरासिनीको भनाइ  छ ।

आश्रमले विभिन्न ठाउँका यसैगरी बेसहारा जीवन बिताइरहेकालाई उद्धार गरी सहयोग गर्दै आएको छ । अहिले आश्रममा  अन्य ४४  जनाको पालनपोषण र रेखरेख भइरहेको छ ।इमेजखबरका लागि केशव भण्डारीले बुटवलबाट तयार पार्नुभएको समाचार ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार