‘जनतालाई संघीयता माछो-माछो भ्यागुतो भयो’

काठमाण्डौ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले देशको हालखबर सन्तोषजनक हुन नसकेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै अध्यक्ष केसीले केपी ओली नेतृत्वको सरकारले देश र जनताका लागि राम्रो काम गर्न नसकेकाले हालखबर सन्तोषजनक हुन नसकेको बताए ।

सरकारले गर्न सक्ने सामान्य काम पनि नगरेको केसीको अरोप छ । भ्रष्टाचार पूर्ण रुपमा नियन्त्रण गर्न नसके पनि न्युनिकरण गर्नुपर्नेमा त्यो पनि हुन नसकेको केसीले बताए । “ठूला भ्रष्टाचारीहरु कारबाहीमा परेनन् । सरकारले कारबाही गर्न सकेन । खै सरकारको नाता साइनो के छ कुन्नी ?” केसीले भने ।

सरकारले साना भ्रष्टाचारका काण्डमा मुछिएकालाई मात्रै कारबाही गरेर ठूलालाई उन्मुक्ति दिएको केसीको आरोप छ । देशलाई संघीयतामा लगेपछि केके न हुन्छ भन्नेहरु नै अहिले टाउको समातेर बस्नुपर्ने अवस्थामा पुगेको केसीको तर्क छ । संघीयता ल्याउनेहरुलाई नै अहिले कार्यान्वयन गराउन घाँडो भएको केसीले बताए ।

“संघीयता आएपछि त देश स्विजरल्याण्ड नै बन्छ भनेर संघीयतापक्षधरहरुले ठूला ठूला कुरा गरे । स्थानीय निकायमा चुनाव भएको २ वर्ष भइसक्यो । तर जनतालाई माछो माछो भ्यागुतो भयो ।”

नेपालको लागि संघीयता संजिबनी बुटी बन्नै नसक्ने केसीले जिकिर गरे । “नेपाल र नेपालीका लागि संघीयता बरदान हुन सक्दैन । नेपाल राष्ट्रका लागि संघीयता श्राप हो, यसले दुश्परिणामा ल्याउँछ । त्यसैले संघीयता खारेज गर्नुपर्छ ।” केसीले बताए ।संघीयता बोक्नेहरुलाई नै अहिले यो भालुको कञ्चट भएको केसीको जिकिर छ ।रिपोर्टर्सनेपाल डटकमबाट।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार