आमाको विवाहमा छोराको भावुक सन्देश

नयाँ दिल्ली । भारतको केरलका एक युवकले आफ्नी आमाको विवाहमा दिएको भावुक सन्देश निकै भाइरल भएको छ ।

गोकुल श्रीधर नाम गरेका ती युवकले आफ्नी आमाको दोस्रो विवाहका अवसरमा शुभकामना सन्देश फेसबुकमा पोस्ट गरेका हुन् । मंगलबार उनले पोस्ट गरेको सन्देशमा तीन हजार तीन सयभन्दा बढीले प्रतिक्रिया जनाएका छन् भने उक्त पोस्टलाई ४ हजार दुईसय भन्दा बढीले शेयर गरेका छन् ।

मलयालम भाषामा लेखिएको सन्देशमा गोकुलले आफ्नी आमालाई भनेका छन्, ‘एक महिला, जसले आफ्नो सम्पूर्ण जीवन मेरोलागि समर्पण गर्नुभयो, उहाँले आफ्नै वैवाहिक जीवनमा धेरै कुरा सहनु भयो र देख्नु भयो । कयौं पटक म शारीरिक हिंसाको साक्षी भएको छु, मैले उहाँको टाउकोबाट रगत बगेको देखेको छु, मलाई याद छ, उहाँले प्रत्येक पटक म तेरैलागि बाँचिरहेकी छु भन्नु हुन्थ्यो, उहाँले आफ्नो पूरा जीवन मेरैलागि समर्पण गर्नुभयो । अब मेरो पालो ।’

उनले सन्देशमा अगाडि लेखेका छन्, ‘उहाँको धेरै सपना छन्, जसलाई मैले पूरा गर्नुछ । मसँग भन्नका लागि केही छैन, तर मलाई लाग्छ, यो मौका वा उहाँको विवाह मैले कसैसँग लुकाउन जरुरी छैन । आमा ! ह्याप्पी म्यारिड लाइफ ।’

गोकुलका अनुसार उक्त सन्देश पोस्ट गर्नुअघि उनी हिच्किचाइरहेका थिए । उनी भन्छन्, ‘समाजको एउटा वर्गले मेरो यो विचारलाई पचाउन सक्दैन, तर मलाई लाग्छ, कसैबाट लुकाइरहन जरुरी छैन ।’

उनले आफ्नो पिताका बारेमा भने उल्लेख गरेका छैनन् । (एजेन्सी)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार