हाईड्रोपावरको स्काभेटरमा आगजनी, शंकास्पद प्रेसरकुकर भेटियो

सन्तोष राउत/सोलुखुम्बु । पूर्ण रुपमा नेपाली नीजि लगानीबाट निर्माण भइरहेको ८६ मेगावाट क्षमताकोसोलुखोला दुधकोशी जलविद्युत आयोजनाको डोजरमा आगजनी भएको छ । गएराति सोलुदुधकुण्ड नगरपालिका–११ तिङलाको भदौरेमा निर्माणाधिन हाईड्रोपावरको काममा प्रयोग हुँदै आएको डोजर अज्ञात समूहले आगजानी गरेको हो ।

भदौरेको खोलाको छेउमा रहेको क्रसर नजिक राखिएको कोबेल्को कम्पनीको स्काभेटर आगो लाग्दा बाहिरी भाग जलेको छ भने भित्री भागमा क्षति नभएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक शालिग्राम शर्माले जानकारी दिनुभयो ।

आगो लगाइएको डोजर कन्स्क्ट्रक्सन कम्पनी सिइ कन्स्क्ट्रक्सनको रहेको आयोजनाले जनाएको छ । विगत केही वर्षयता निर्माणको काम थालेको आयोजनाको कन्स्क्ट्रक्सनको जिम्मा लिएको इटालियन कम्पनी सिएमसीले काम छाडेपछि सिइ कन्स्ट्रक्सनले जिम्मा लिएर काम धमाधम गरिरहेको छ ।

आगजनी गरिएको डोजर नजिकै शंकास्पद रुपमा राखिएको प्रेसरकुकुर भेटिएकाले बम भएको आशंका गरिएको छ । डोजर आगजनी भएको घटनास्थलमा र प्रेसरकुकुर भेटिएको स्थानमा नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले घेरामा राखेको आयोजना स्रोतले जनाएको छ ।

घटनामा संलग्नताको विषयमा अनुसधान भइरहेको भएपनि हालसम्म पुष्टि नभएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । कसैलाई पत्ता लाग्न नसकेको र कसैले जिम्मा पनि नलिएकाले केही बताउन नसकिने प्रहरीको भनाइ छ । सोलुखुम्बुका फरक फरक स्थानमा यसअघि पनि दुई वटा स्कभेटरमा आजगनी भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार