प्रधानमन्त्री ओली कठोर निर्णय लिदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विवादस्पद गुठीसम्बन्धि विधेयकबारे कडा निर्णय लिदैछन् । उनले साँझ या भोलिसम्म निर्णय लिने गरी परामर्श थालेका छन् । विधेयक तयार गर्ने सम्बन्धित मन्त्रालयका मन्त्री र अधिकारीहरुप्रति पनि प्रधानमन्त्री असन्तुष्टि भएका छन् ।

गम्भीर त्रुटीहरु भएको सूचना पाएपछि किन त्यस्तो भयो ? भनी ओलीले खोजी गर्न लगाएका छन् । प्रधानमन्त्रीले गुठी विधेयक आउनुका कारणहरुबारे समेत गहिरो जानकारी पाइसकेकाले गम्भीर भएको विश्वस्त स्रोतले बताएको छ ।

प्रधानमन्त्री ओलीले भूमाफियाविरुद्ध कडा कदम चालिरहेको बखत विवादास्पद गुठी विधेयकबारे गम्भीरता देखाएका हुन् । स्रोतका अनुसार उनी युरोपको भ्रमण सकेर स्वदेश फर्किएलगत्तै गुठी र भूमिबारे जानकारहरुसँग परामर्श गरेका थिए । विधेयकमा गम्भीर त्रुटीबारे जानकारी लिएपछि उनी सचेत भए।

मन्त्रीलाई बालुवाटारमा बोलावट

प्रधानमन्त्री निकट स्रोतका अनुसार सम्बन्धित अधिकारी र जानकारहरुसँग छुट्टाछुट्टै र सामूहिक भेटघाट पछि भूमि व्यवस्थामन्त्री पद्मा अर्याललाई बालुवाटार बोलाएर विधेयकमा किन त्रुटी भयो भनी सोधेका थिए । संवेदनशील र गम्भीर विषयमा अगाडि बढ्दा भएको त्रुटीबारे सोध्दा अर्याल रातोपीरो भएकी थिइन् ।

स्रोतका अनुसार अर्यालले गुठी संस्थानले जग्गा जोगाउन नसक्ने जिकिर गरेकी थिइन् । उनले विधेयकको बचाऊ गर्न खोजेकी थिइन् । आफ्नै सरकारले ल्याएको विधेयक फिर्ता गर्नुपर्ने अवस्था आएपछि हठी स्वभावका ओली गम्भीर भएका छन् । उनले मन्त्री अर्यालको कार्यशैलीप्रति असन्तुष्टि जनाएको स्रोतले बतायो ।

नेवार नेतासँग छलफल

प्रधानमन्त्री ओलीको ससुराली नेवार समुदायको भएकाले गुठीबारे उनी धेरथोर जानकार छन् । पत्नी राधिका शाक्य गुठी संस्कारसँग जोडिएकी छिन् । नेवार समुदाय नै आफूविरुद्ध आन्दोलनमा उत्रिएपछि ओलीले विधेयकबारे युरोपबाट फर्केलगत्तै बोले । उनले तत्काल विधेयकमा त्रुटी रहे नरहेको जानकारी निकटस्थ जानकारहरुसँग लिएका थिए । काठमाडौं उपत्यकाका गुठीबारे जानकार जनप्रतिनिधि, सांसद र गुठियारसँग छलफल गरेर आलीले चाँडै निर्णय लिने बुझिएको छ । त्रुटीपूर्ण कार्यमा संलग्नलाई समेत कारबाही गर्न पछि नपर्ने बताएकाले गुठी विधेयक ल्याउन भूमिका खेल्ने मन्त्री अर्यालको पद धरापमा परेको छ ।रिपोर्टर्सनेपाल डटकमबाट।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार