नदीमा जिप खस्दा गाउँपालिका उपाध्यक्षसहित १० जना बेपत्ता

काठमाडौं । हुम्लाको खार्पुनाथ गाउँपालिका–५, कैलाबालु भन्ने स्थानको सडकबाट कर्णाली नदीमा खसेर बेपत्ता भएको लु१ज ७१६६ नम्बरको जिप अहिलेसम्म फेलापर्न सकेको छैन ।

मंगलबार दिउँसो पौने १ बजेतिर दुर्घटना भएको उक्त जिपमा खार्पु गाउँपालिकाकी उपाध्यक्ष सिन्धुु शाही हमालसहित १० जना सवार छन् । जिपमा चार पुरुष, चार महिला र दुई बालबालिका सवार रहेको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले बताए ।

जिपमा चालक मणिजंग शाही, यात्रीहरु चन्द्र हमाल, नैनसिंह भण्डारी, वसन्ती शाही रहेको पुष्टि भएको छ । उद्धारका लागि हेलिकोप्टरबाट गएर नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली खटिएपनि जिपसहित सवार व्यक्तिहरु कसैलाई फेलापार्न नसकिएको बताइएको छ ।

रात परेपछि सुरक्षाकर्मीको टोलीले उद्धारकार्य रोकेको जनाइएको छ । हुम्लाकै सिमकोटबाट खार्पुनाथतर्फ जाँदै गरेको जिप नदीमा खसेको कर्णाली प्रदेश प्रहरी कार्यालयका एसएसपी मोहन आचार्यले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार